चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट खुलाउन माग गरेका छन् ।
सौराहामा भएको द्विपक्षीय भेटघाटमा व्यवसायीले जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै भू–उपयोग नीति स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा भएको भेटमा वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत व्यवसायी सहभागी थिए ।
भेटका क्रममा अध्यक्ष अधिकारीले जग्गा कारोबारबाट सरकारलाई उल्लेख्य राजस्व प्राप्त हुने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताए ।
उनले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन, भू–उपयोग नीतिलाई स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थामा व्यवसायीलाई सहज हुने गरी पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे ।
जग्गा कारोबारमा देखिएका समस्याले व्यवसायी मात्र नभई सर्वसाधारणको जग्गा किनबेच तथा आवास निर्माणसमेत प्रभावित भएको व्यवसायीको भनाइ थियो । उनीहरूले नीतिगत स्पष्टता र सहज प्रक्रियाले घरजग्गा क्षेत्रको गतिविधि बढाउनुका साथै सरकारी राजस्वमा समेत सकारात्मक योगदान पुग्ने धारणा राखे ।
जवाफमा मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताइन् ।
उनले जग्गा कित्ताकाट खुलाउने विषयमा छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीले बताएका छन् ।
जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटेमा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन र आवास निर्माणका गतिविधि सहज बनाउन सहयोग पुग्ने अपेक्षा व्यवसायीले गरेका छन् ।














प्रतिक्रिया