सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत « Khabarhub

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई इन्कार गरेका धरान उपमहानगरपालिकाका पूर्वमेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

देशका विभिन्न स्थान र पूर्वका हरेक जिल्लामा आफ्नो उम्मेदवार उठाएका हर्क निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबीसहित श्रम संस्कृति पार्टीलाई अगाडि बढाइरहेका छन् । धरान उपमहानगरपालिकाको मेयर छाडेर संघीय सांसद ताकेका उनले पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’लाई अगाडि सारेका छ्न ।

हप्ताको एक दिन अनिवार्य श्रमदान अभियान चलाएर उनले देशभर चर्चा कमाए छन् । ०७९ को स्थानीय तह निर्वाचनमा धरानबासीलाई खानेपानीको पहुँचमा पुर्‍याउने दाबीसहित उनी लौरो लिएर स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका थिए ।

उनी आफ्नो बाचामा केही हदसम्म सफल पनि भएका छन् । हर्कले भनेजस्तै धरानबासीले यथेष्ट स्वच्छ खानेपानी नपाए पनि केही राहत महसुस गरेको स्थानीय मनकाजी श्रेष्ठ बताउँछन् ।

बीचैमा मेयर पद छोडेर संसदीय निर्वाचनमा होमिएका उनलाई सुनसरी-१ बाट जित्न ठूलो कसरत गर्नुपर्ने आवश्यकता नरहेको सहयोगीहरू दाबी गर्छन् । ‘सुनसरीबाट उहाँलाई जित्न कुनै समस्या छैन । पूर्वका अन्य क्षेत्र र देशका विभिन्न जिल्लाबाट जित्ने तयारीमा लागेका छौँ,’ साम्पाङका एक सहयोगी भन्छन्, ‘उहाँलाई जित्न समस्या त छैन, उहाँले मात्रै जितेर भएन, हामीले अरू स्थानलाई पनि फोकस गरेका छौँ ।’

हर्कको लोकप्रियता हेर्दा पनि उनलाई त्यहाँबाट जित्न कठिन देखिँदैन । यहाँ मुख्य रूपमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गोमा तामाङ (सरिन) ले टक्कर दिने आँकलन गरिएको छ। उता वडाध्यक्ष छाडेर संसदीय चुनावमा होमिएका नेकपा सूर्यबहादुर भट्टराई ‘मनोज’ले पनि राम्रै भोट ल्याउन सक्ने अवस्था छ ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट जनता समाजवादी पार्टीका नेता अशोक राई निर्वाचित भएका थिए । उनलाई नेकपा एमालेले साथ दिएको थियो ।

कस्तो छ हर्कको विगत ?

२०७९ को निर्वाचनमा लौरो चुनाव चिह्न पाएका हर्कले २० हजार ८२१ मत पाएर धरानको मेयर जितेका थिए । तत्कालीन धरानका मेयरको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा उनी पराजित भएका थिए ।

त्यसबेला उनका प्रतिद्वन्दी तत्कालीन माओवादी कांग्रेस गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याइन् ।

कम्युनिस्ट विचारधारालाई अवलम्बन गर्ने हर्कले यसबीचमा कुनै पार्टी रोजेनन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा अहिले नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक भेटे पनि उनले पार्टीमा फर्कने कुरालाई स्वीकार नगरेको नेताहरूको दाबी छ।

गायक बन्ने सपना त्यागेर धरानबासीको जीवनस्तर उकास्न लागेको बताउँदै आएका उनी सामाजिक सञ्जालबाट उदाएका नेता हुन ।

यस्तो छ अङ्कगणित

०७९ को निर्वाचनमा यस क्षेत्रबाट जनता समाजवादी पार्टीका नेता अशोक राई विजयी भएका थिए । त्यसबेला राईले १७ हजार ५८ मत ल्याए । त्यस निर्वाचनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गोमालाई नै उम्मेदवार बनाएको थियो ।

गोमाले १६ हजार ६०६ मत प्राप्त गरेर दोस्रो स्थान हाँसिल गरेकी थिइन् । अशोक र गोमाको मतान्तर ४५३ मात्रै थियो । तत्कालीन वाम गठबन्धनका उम्मेदवर मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याए । राप्रपाका उम्मेदवार अशोक राई अविरलले पनि ७ हजार ८०४ मत ल्याएका थिए ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धन एकजुट भएको बेला एमालेका उम्मेदवार जयकुमार राईले अशोकलाई दोब्बर मतले हराएका थिए । उनले २२ हजार ४ सय ५ मत अन्तरले तत्कालीन संघीय समाजवादी फोरमका अशोकलाई हराएका हुन् । जयकुमारले ४४ हजार ५ सय २८ मत ल्याउदा अशोकले २२ हजार १ सय २३ मत पाए ।

तस्बिर : कपुरीन्यूज

मुख्य प्रतिस्पर्धा गोमा र हर्कको

फागुन २१ को निर्वाचनमा हर्कलाई सहज छैन । किनकि ०७९ को निर्वाचनमै ४ सय ४३ मतले पराजित भएकी गोमा उनको प्रतिस्पर्धी बनेकी छन् । गोमालाई सुनसरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै होइन, त्यहाँका कांग्रेस एमालेले पनि मतदान गर्ने अनुमान छ । ०७९ को निर्वाचनपछि सुनसरी-१ मा गोमाले लोकप्रियता बटुलेकी थिइन् । जनतासँग प्रत्यक्ष भिजेको उम्मेदवार भएकाले आफूलाई जित्न कुनै कठिन नभएको गोमाको दाबी छ ।

‘मलाई जित्न कुनै समस्या छैन । चिन्ता के छ भने जनताले मप्रति ठूलो भरोसा देखाउनुभएको छ । त्यो भरोसालाई टुट्न नदिने किसिमको काम गर्नेछु’, गोमा भन्छिन, ‘म त मेरो प्रतिस्पर्धी कोही नै छैन भन्छु । तर पनि यहाँ हर्कजी र मेरो प्रतिस्पर्धा हुन्छ भन्ने सामान्य आँकलन छ ।’

यता हर्क भने सुनसरी-१ मा आफ्नो कुनै पनि प्रतिस्पर्धी नभएको दाबी गर्छन् । उनी कम्फर्टेबल चुनाव जित्ने कुरामा कुनै दुईमत नभएको बताउँदै आएका छन् । हर्क भन्छन्, ‘मेरो प्रतिस्पर्धी म आफैँ हो। आफैँ चुनाव जितिन्छ, आफैँ प्रधानमन्त्री भइन्छ ।’

०७९ को निर्वाचनमा निर्वाचित अशोक राई अहिले यहाँबाट उठेका छैनन् । उनले नेकपाका उम्मेदवार सूर्यबहादुर भट्टराईलाई सहयोग गर्ने देखिन्छ । तर, नेकपाको मत पनि हर्कलाई जाने धेरैले आँकलन गरेका छन् । त्यस्तै, नेकपा एमालेका तर्फबाट टीका लिम्बू उम्मेदवार छन् । नेपाली कांग्रेसले सुजेन्द्र तामाङलाई टिकट दिएको छ ।

एमाले र कांग्रेसका यहाँ केही मतदाता देखिन्छन् । बराहक्षेत्र नगरपालिका वडा नम्बर १ का स्थानीय सुजन राईका अनुसार मतदाताहरू नै अहिले गोमा कि हर्क रोज्ने भन्नेमा अलमल छन् ।

‘अरुको भन्दा यहाँ चर्चा हर्क र गोमाजीको छ । तर कसले जित्नुहुन्छ भनेर अहिले भन्ने अवस्था छैन । स्थानीयसँग भिजेको नेता भएकाले हर्कजीलाई गोमाजी भारी पर्ने सक्नुहुन्छ,’ सुजनले खबरहबलाई भने, ‘यहाँ सबै जातिको बसोबास भए पनि बाहुल्यता आदिवासी जनजातिकै छ। क्षेत्रीबाहुन समुदायले गोमाजीलाई अलिक रुचाउनु भएको देखिन्छ ।’

यस क्षेत्रमा धरान उपमहानगरपालिकाका सम्पूर्ण वडा पर्ने भएकाले हर्कलाई वडाबासीहरूले मत दिने विश्वास छ । धरान उपमहानगरपालिकासँगै यस क्षेत्रमा रामधुनी नगरपालिकाको ६ र ७ वडा, बराहक्षेत्र गाउँपालिकाको १ र ५ वडा पर्छ ।

साम्पाङको दाबी आफूले विकास निर्माणका कामलाई फोकस गरेकै कारण धरान उपमहानगरपालिकाका ८० प्रतिशत वडाबासीले आफूलाई चुन्ने दाबी गर्छन् । भाइरल उम्मेदवार गोमाले हल्ला मात्रै गर्ने अवस्था रहेकाले आफूलाई जनताले चुनी छाड्ने दाबी हर्कको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ४२ बजे

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का