रविले सर्लाही टेकेपछि उत्साहित अमरेश सिंह « Khabarhub

रविले सर्लाही टेकेपछि उत्साहित अमरेश सिंह



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्लाही क्षेत्र नम्बर ४ पुगेर बुधबार आफ्ना उम्मेदवार डा. अमरेशकुमार सिंहका लागि मत मागे । रविले सर्लाही पुगेर अमरेशलाई जिताउन आग्रह गर्दै मधेशको छोराले जित्ने दाबी गरे ।

उनले काठमाडौंबाट आएर मधेसको बेटा हुँ भनेर ठाउँ लिन खोज्नेलाई ठाउँको ठाउँ रोक्नसमेत आग्रह गरे । ‘काठमाडौंबाट आएकाहरूले मधेसकै बेटा हुँ भनेर ठाउँ लिने जुन प्रयास भएको छ । ठाउँको ठाउँ रोक्ने जिम्मा मधेसी जनताको हो’, नेपाली कांग्रेसका सभापति गगन थापालक्षित अभिव्यक्ति दिँदै उनले भने, ‘यसपटक अघिपछिको निर्वाचनजस्तो होइन, यो विशेष छ । घन्टीमा मतदान गरेर इतिहास लेख्न सहयोग गर्नुहोला । अलिकति न्याय मलाई चाहिएको छ । धेरै न्याय देशलाई चाहिएको छ । सर्लाहीलाई अन्याय पर्दा म बोलेको हो ।’

कुनै बेला रवि लामिछानेको सहकारी प्रकरणबारे छानबिन हुनुपर्ने कडा अभिव्यक्ति दिने सिंह अहिले उनकै पार्टीबाट उम्मेदवार छन् । विगतमा कांग्रेसका नेता सिंह तत्काालीन सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणासँगको टसलका कारण २०७९ को निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र दिन पुगेका थिए । उनले सर्लाही ४ बाट कांग्रेसलाई नै हराए ।

प्रतिनिधि सभामा चर्को उठाउँदै आएका सिंहलाई यसपटक सर्लाही-४ पुरानो परिणाम निकाल्न सकस हुने विश्लेषण गरिएको छ । कारण- यहाँ कांग्रेस सभापति थापा उम्मेदवार छन् । कांग्रेसको संगठन तल्लो तहसम्म बलियो भएका कारण सर्लाही-४ बाट गगनलाई जित्न कठिन नरहेको कर्यवहाक सभापति सरोज कुमार बताउँछन् ।

काठमाडौं-४ मा युवा उम्मेदवारलाई छोडेर सर्लाही झरेका गगनलाई ढुक्क हुने अवस्था भने छैन । परिस्थितिलाई नियाल्दा गगनका लागि अमरेश भारी पर्ने उत्तिकै सम्भावना पनि छ । तर राष्ट्रि छविका कारण गगनले परिणाम आफ्नो पक्षमा पार्ने सम्भावना पनि उत्तिकै छ।

रवि पुग्दा अमरेश उत्साहित

अहिले रवि लामिछाने सर्लाही-४ मा गगनलाई रोक्ने कोसिसमा छन् । उनले केही दिनयता गगनलक्षित आक्रमक सम्बोधन गरिरहेका छन् । २०७९ को निर्वाचनमा रास्वपाले गगनलाई अप्रत्यक्ष रुपमा काठमाडौं-४ मा सघाएको थियो ।

तर रविको सहकारी काण्ड बाहिर बाहिरिएपछि गगन लगायत पक्षले उनीमाथि कडा प्रश्न उठाए । गगनले रविलाई सहकारी ठग भनेपछि रविले प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै यदि प्रमाणित गरे राजनीति छाड्ने बताए । प्रमाण फेला नपरेमा गगनले राजनीति छाड्नुपर्ने शर्त रविले राखेका थिए ।

सञ्चारकर्मीकै अगाडि रविले शर्त राखेपछि गगनलाई पनि यही प्रश्न दोहोर्‍याइयो । प्रत्युत्तरमा गगनले पनि रवि सहकारी ठगी नभएको प्रमाण फेला परे आफूले राजनीति छोड्न तयार भएको बताए । सहकारी प्रकरणमा विभिन्न अदालतबाट धरौटीमा रिहा भएका लामिछानेले न राजनीति छाडेका छन्, न त गगनले नै । अहिले दुवैजना आ-आफ्ना पार्टीको नेतृत्वमा छ्न् । उनीहरूको उद्देश्य यो निर्वाचनमा पार्टीलाई पहिलो बनाउने छ ।

यहि उद्देश्य बोकेर ८२ को निर्वाचनपछि आफू प्रधानमन्त्री हुने दौडमा गगन छन् । सभापति लामिछाने आफ्नो सहकारी प्रकरणका कारण काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् पार्टी वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिएका छन् ।

रविले सर्लाही-४ बाट गगनलाई रोक्ने प्रयत्न भने गरेको देखिन्छ । यसका लागि सर्लाहीलाई बुझेको भूगोलसँग निकट भएको र विगतमा त्यहाँबाट निर्वाचन जित्दै आएका अमरेशलाई गगनसँग भिडाएका छन् ।

मंगलबार मत माग्न सर्लाही-४ पुगेका रवि र अमरेशबीच करिब २ घण्टा लामो छुट्टाछुट्टै वार्ता भएको थियो । अमरेशको सचिवालय सदस्यका अनुसार सर्लाही-४ मा जित्ने विशेष योजनाका लागि दुई नेताहरूबीच लामो संवाद भएको हो । रवि र अमरेशबीच गगनलाई रोक्न बाहिरबाट आएको भन्दा मधेसको छोरोलाई जिताउन आग्रह गर्दै मतदातामाझ एजेन्डा अगाडि बढाउने निष्कर्ष निकालिएको छ ।

‘सभापतिज्यू र डा. सावले लगभग २ घण्टा लामो छुट्टाछुट्टै वार्ता गर्नुभयो । उहाँहरुले सर्लाही-४ बाट जित्न विभिन्न योजना अगाडि बढाउनुभएको छ । विगतबाटै डा. सावले यहाँ जित्दै आएकाले स्थानीयले चिनेका छन् । मधेशको छोरो भनेर यहाँका जनता परिचित छन्’, अमरेशको सचिवालयका सदस्य भन्छन्, ‘सभापतिज्यूले सर्लाही-४ मा गगनको स्टन्ट र प्रलोभनबारे अमरेशलाई प्रकाश पार्नुभएको छ । गाउँ गाउँमा एकएक गरेर भोट माग्नु भन्दै चुनाव जित्ने उपाय बुझाउनुभएको छ ।’

रविले माहोल तातिएको दाबी

रास्वपा उम्मेदवार अमरेश चाहिँ रवि आएपछि माहोल अझै तातिएको दाबी गर्छन् । रास्वपाप्रति देशव्यापी लहर चलेको बताउँदै रविको सम्बोधनले यहाँका मतदाता अझै उत्साहित भएको दाबी गरे ।

‘सर्लाहीमा विगतबाटै जित्छु भन्ने पक्कापक्की थियो । तर सभापतिज्यू आएपछि यहाँका जनता थप उत्साहित हुनुभएको छ। यहाँका भूगोलै नचिनेको मतदाता नै नचिनेको, स्थानीय समस्या नबुझेकोलाई जिताउने मतदाताले भन्नुभएको छैन’, अमरेश भन्छन्, ‘मलाई यहाँका जनताले मप्रति ठूलो भरोसा देखाउनुभएको छ । अटुट माया छ।’

अमरेश गगनलाई टुरिस्ट उम्मेदवार, भूगोल नबुझेको, नयाँ र राजनीतिक प्रतिशोधका लागि सर्लाहीमा आएको बताउँछन् । उनी मधेसबासीलाई गुमराह बनाउन गगनले रचेको षड्यन्त्र सफल नहुने दाबी गर्छन् ।

‘मधेसी जनताको सेन्टिमेन्ट लिन उनीहरूलाई गुमराह बनाउने काम गरिएको छ । यस्तो काम नगर्न म गगनजीलाई अनुरोध गर्छु । मधेसी जनता सचेत भएका छन् । उनीहरू कुनै लोभ र प्रलोभनमा फस्ने छैनन् । यहाँका जनताले यहीको छोरो चुन्नेछन्’, उनले अगाडि भने, ‘जुन प्रकारले म मधेसको समस्या समाधान गर्न आएको हुँ । पहिलाबाटै म मधेसमा लड्न खोजेको थिए भन्ने भ्रम छरिएको छ, यस्ता भ्रमको पछाडि यहाँका जनता लाग्दैनन् ।’

सबै कुरालाई विश्लेषण गर्दा बुधबार रवि सर्लाही पुगेपछि बिहीबारबाट आक्रमक रुपमा अमरेशले प्रचार गरेका छन्। उनी कांग्रेसका ठूला कार्यकर्ताको घरघरमा नपुगे पनि तल्लो तहका र असन्तुष्टसँग भेटवार्ता गरेर मत मागिरहेको सचिवालयको दाबी छ । अमरेश पनि कांग्रेस-एमाले जोसुकै मतदाता आफूलाई मतदान गर्न उत्साहित रहेको दाबी गर्छन् ।

के छन् चुनौती

गगनका लागि अमरेश दह्रो प्रतिस्पर्धी हुन् । स्वतन्त्र सांसद हुँदा सदनमा मधेसका मुद्दाहरू मुखाकृत गर्ने अमरेशलाई त्यहाँका मतदाताले नराम्रो ढङ्गले हेर्ने अवस्थामा नरहेको स्थलगत रिपोर्टिङमा पुगेका बताउँछन् । ‘मधेसका लागि अमरेश बलियो उम्मेदवार हुन् । तर राष्ट्रिय राजनीति हाँकेको र युवा पुस्ताको नेतृत्व गरेका कारण गगनप्रति यहाँका जनता नकारात्मक टिप्पणी पनि गर्दैनन् । मैले त दुवै आउनुपर्छ यहाँबाट भन्ने कुरा सुनेको छु ।’

विश्लेषक मुबाराम खनाल भन्छन्, ‘स्थानीय समस्यासँग जुधेको र भूगोल बुझेको उम्मेदवार भएकाले गगनलाई अमरेश पक्कै च्यालेन्ज चाहिँ हुनुहुन्छ । यहाँका जनता दुवैप्रति नकारात्मक भावनामा छैनन् । अन्तिममा एकजना उम्मेदवारले अवश्य जित्नुपर्छ ।’ मुमाराम अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा स्थलगत पुगेर विश्लेषण गरिरहेका छन् ।

सबै कुरालाई विश्लेषण गर्दा उत्साहित भए पनि अमरेशलाई निर्वाचन जित्न सहज छैन । केन्द्रीय राजनीतिमा प्रभाव भएको र बलियो नेतृत्व भएकाले गगनप्रति यहाँका मतदाता धेरै आशावादी देखिन्छन् । रवि सर्लाही पुगेर अमरेशको पक्षमा माहोल सुधारे पनि उनले जित्न सक्ने गरी अवस्था नसुध्रिएको स्थानीय हेमन्त ठाकुर बताउँछन् ।

सर्लाहीमा व्यवसाय गर्दै आएका ठाकुरका अनुसार यहाँका मतदाताहरू कतिपय अहिलेसम्म खुलेका छैनन् । सुकुम्बासी बस्ती लगायतका क्षेत्रका मतदाता अहिलेसम्म कसलाई मत दिने भन्ने अलमलमा छन् । कांग्रेसको नयाँ नेतृत्व भएको र विगतबाट सर्लाही-४ कांग्रेसको गढ भएकाले पनि गगनलाई निर्वाचन जित्न सहज भएको बताइन्छ ।

विश्लेषक खनाल स्थलगत रिपोर्टिङका क्रममा दुई पक्षमध्ये एक विजय हुँदा मतान्तर त्यति ठूलो नहुने बताउँछन् । यता नेपाली कांग्रेसले भने १० हजारभन्दा बढी मतान्तरमा सभापति गगन विजय हुने दाबी गर्दै आएको छ । कांग्रेस जिल्ला कार्यवाहक सभापति सरोज कुमार पछिल्लो रिपोर्टिङअनुसार १० हजारभन्दा बढी मतले थापा विजयी हुने अवस्था रहेको दाबी गर्छन् ।

विगत के छ ?

०७९ को निर्वाचनमा अमरेशले यहाँबाट २० हजार १७ मत ल्याउँदा कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार राईले १८ हजार २५३ मत ल्याएका थिए । नागेन्द्रलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गरेको थियो । त्यसबेला कांग्रेसको असन्तुष्ट पक्षले अमरेशलाई मतदान गरेको थियो ।

यसपटक सर्लाहीमा कांग्रेस एक ढिक्का रहेको कुमार बताउँछन् । यहाँ गगन र अमरेशबाहेक अरू उम्मेदवारको प्रतिस्पर्धा हुने अवस्था नरहेको देखिन्छ । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ यहाँ कांग्रेस नै पहिलो दल बनेको थियो ।

भारतसँग सिमाना जोडिएको सर्लाही-४ मा विगतका निर्वाचनमा दुई पक्षबीच झडप हुने कारण धेरै मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँका १५८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिको भनाइ छ । सातवटा पालिका रहेको यस क्षेत्रमा ५१ वटा वडाहरू छन् ।

कांग्रेस जिल्लाका कार्यवाहक सभापति सरोज कुमारका अनुसार यहाँ कांग्रेसले १९ वटा वडा जितेको छ । वडा जित्नेमा अरू पार्टीभन्दा कांग्रेस पहिलो हो । यहाँ माओवादी र नेकपा एमालेले ११-११ वटा वडा जितेका छन् । प्रदेशको ‘क’ मा कांग्रेस उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजय हुँदा ‘ख’ मा कांग्रेसकै सहयोगमा माओवादी केन्द्रका फकिरा महतो विजय भएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार यहाँ अहिले एक लाख २१ हजार २ सय ३१ मतदाता छन् । त्यसमा ८ हजार ७ सय ३१ जना मतदाता नयाँ थपिएका छन् । यी थपिएका मतदाताहरूको भोट निर्णायक हुने आँकलन गरिन्छ । नयाँ मतदातालाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई मतदान गर्ने सूचीमा राखेको देखिन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : २३ बजे

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

पोखरा – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा