जलजलामा हिमाल र बादलको लुकामारी « Khabarhub

जलजलामा हिमाल र बादलको लुकामारी


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

धवलागिरि गाउँपालिका–७ की शान्ति थापाले जलजलाको समथर फाँटमा बसेर आँखैअगाडि हिमालको लर्कन हेर्दा चित्रकारले कोरेको क्यानभासजस्तो अनुभूति भएको बताए । “छिनछिनमा हुने बादल र हिमालको लुकामारी जलजलाको फरक आकर्षण रहेछ,” उनले भने “दृश्यावलोकनसँगै गुर्जाघाट, छेन्तुङ, ढोरपाटनको जनजीवन, उत्तरगङ्गाको दर्शन तथा घोडा सवारीले यात्राको थकान नै बिर्सायो ।”

बर्खायाममा पशुगोठ, समथर फाँट, वनजङ्गल र पहाडी भूगोल तथा वसन्त ऋतुमा गुराँसे जङ्गल अवलोकन गर्न पाइने भएकाले जलजलाको आकर्षण थपिएको धवलागिरि गाउँपालिका–३ का नरेश विश्वकर्माले बताए ।

‘रेडपान्डा’को बासस्थान
जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । समुन्द्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपान्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपान्डा भेटिएको थियो । सो क्षेत्रमा छदेखि २५ वटासम्म रेडपान्डाको बसोबास भएको वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राइले बताए । ।

स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए ।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपान्डाको दिसा भेट्टाएका थिए । रेडपान्डाका कारण जलजला क्षेत्रमा साहासिक पदयात्रामा रमाउन चाहने पर्यटकहरुलाई आकर्षित गर्न सकिने धवलागिरि गाउँपालिका–३ का भोम पुनले बताए ।

सडक सुविधापछि पर्यटक बढे

माथिल्लो जलजलामा ६ वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लुलाङका फुलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताए। “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उनले भन्नुभयो “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”

बेनी देखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजलादेखि मुना हुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तव्य बनेको छ । तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेकी बागलुङकी सपना रोकाले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–७ का विविधजङ थापाले बताउनुभयो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यू पोइन्ट’का रुपमा विकास हुन थालेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।

पूर्वाधार निर्माण र प्रवर्द्धन अभियान सुरु

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा पर्यटक आगमन बढ्न थालेपछि धवलागिरी गाउँपालिकाले पूर्वाधार निर्माण र प्रर्वद्धनको काम थालेको छ ।

जलजलाको सम्भावनाको उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरि जिल्ला, प्रदेश, संघीय तहमा पहल गर्ने उद्देश्यले यसै हप्ता पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको धवलागिरी गाउँपालिकाले खानेपानीको ब्यवस्था मिलाएको र शौचालय निर्माण थालेको उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ । बस्ती देखि टाढा होटल र रेष्टुरेन्ट नभएको जलजलामा म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आए । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

ढोरपाटन सिकार आरक्ष, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर पर्यटकहरुका लागि आश्रयस्थल, पदमार्ग निर्माण, विद्युत् र सञ्चार सुविधा विस्तारका लागि पहल गर्न कार्यक्रममार्फत सातबुँदे जलजला घोषणापत्र जारी गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।

‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान सुरु गरिएको उनले जानकारी दिए । जलजला देउरालीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुनले बताए ।

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक
म्याग्दीको बेनी हुँदै बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास हुने सम्भावना देखिएको छ । हालै मार्ग खुलेको १२२ किलोमिटर दूरीको बेनी–ढोरपाटन–तकसेरा सडक बागलुङ–काँक्री खण्डभन्दा करिब ५० किलोमिटर छोटो रहेको छ ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप तथा मोटरसाइकलमार्फत करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट जिप वा मोटरसाइकलमा करिब दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ ।

दुवै तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक खोल्नुको मुख्य उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु रहेको बताए ।

“पुरानो पदमार्गलाई आधार मानेर खोलिएको यो सडक स्तरोन्नति गर्न सके पूर्वी र पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा र काठमाडौँ आउजाउ गर्न छोटो र सहज हुनेछ,” उनले भने, “यो सडक स्तरोन्नति भए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प तथा उच्च पहाडी राजमार्ग बन्न सक्ने सम्भावना छ ।”

हाल सडकको विभिन्न स्थानमा स्तरोन्नति र खोलामा मोटर चल्ने पुल निर्माण गर्न बाँकी रहेको छ । यद्यपि नयाँ मार्ग सञ्चालनमा आएपछि ढोरपाटन, जलजला र तकसेरा भ्रमण गर्ने पर्यटकलाई सहज भएको छ ।

प्रदेश सांसद जुग्जालीका अनुसार बेनी–ढोरपाटन–तकसेरा सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १० : ३५ बजे

‘मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक छैनन्’

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस

कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ : महामन्त्री घिमिरे

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव