काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको छ। बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने महाशाखाले जनाएको छ। उसले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा हिम पहिरोपछि बनेको अस्थायी ताल फुटेकाले बाढी आएको हो । उता चीनले तिब्बततर्फ जारी उद्धार तथा खोजी कार्य अस्थायी रूपमा रोकेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेकाले उद्धार कार्य रोकिएको छ। नेपालमा पनि प्रहरीले भोटेकोशीको तटीय क्षेत्र छोड्न भनिसकेको छ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका-६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाले अहिले बाढी बढे पनि खतरनाक अवस्था नरहेको बताए ।
अहिले भोटेकोशी नदी आसपासमा बस्ने र उद्धारमा खटिएकाहरूलाई डाँडातर्फ पठाउने काम भइरहेको उनले बताए। अहिले नदी किनारका क्षेत्रमा उद्धार अभियान रोकिएको उनले जानकारी गराए । बाढी आइरहे पनि त्यसको वेग बुधबारको जस्तो व्यापक नभएको उनले बताए ।
बुधबार भएको विनाशबाट जोगिएका माथिल्लो क्षेत्रका बासिन्दालाई डाँडातर्फ पठाउने काम भइरहेको उनले जानकारी दिए। बाढी स्याफ्रुबेंसीबाट ओरालो लागेकाले सतर्कता अपनाउँदै माथिल्लो भेगतर्फ सरिएको उनको भनाइ छ ।
‘नदी किनार आसपासमा रहनुभएकाहरूलाई डाँडातर्फ सार्ने काम भइरहेको छ । नदी किनार आसपासका क्षेत्रमा उद्धारकार्य पनि रोकिएको छ’, उनले भने, ‘बाढी आइरहेको छ तर त्यसको वेग बुधबारको जति ठूलो छैन। भयानक नै हुने अवस्था छैन तर सतर्क हुनुपर्ने देखिन्छ।’
अहिले प्रहरीले समेत सूचना जारी गरिरहेको उनले बताए । ‘सूचना पाएर पनि हेलचेक्र्याइँ नगरी डाँडातर्फ गइदिनुहोला’, अध्यक्ष दावाले भने, ‘बुधबारको जस्तो ठूलो बाढी आउने चिन्ताले सतर्क रहनुपर्ने अवस्था छ। अहिले उद्धार अभियान रोकिएको छ।’
उनले उद्धारमा खटिएका सुरक्षाकर्मीसहित अरू व्यक्तिलाई पनि सुरक्षित स्थान जान आग्रह गरिएको जानकारी दिएका छन्।












प्रतिक्रिया