काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेना सक्रिय भएको छ ।
शवको व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।
शव संकलन तथा खोजी कार्य ढिलो भएको गुनासोपछि सेनाले विशेष टोली परिचालन गरेर सम्भावित स्थानमा खोजी तथा शव संकलन गरिरहेको जनाएको छ।
बाढीले बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्याएका शवको खोजी तथा संकलनका लागि आज रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा सैनिक टोली खटाएर खोजी तथा शव संकलनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।
यसअघि बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो।
थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।
नदीमा तीव्र बहाव र कठिन भौगोलिक अवस्था रहे पनि सैनिक टोलीले सम्भावित स्थान पहिचान गर्दै निरन्तर खोजी तथा शव संकलनको काम गरिरहेको सेनाले जनाएको छ।
सेनाका टोलीले रसुवादेखि त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रसम्म सम्भावित स्थानमा निगरानी र खोजीलाई विस्तार गरेका छन्।
बाढीले बगाएर टाढासम्म पुर्याएका हुन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा समेत खोजीलाई केन्द्रित गरिएको छ।












प्रतिक्रिया