केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै « Khabarhub

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा आफैं पुगेका छन्।

राजधानी बेइजिङबाट करिब २ हजार किलोमिटर टाढा रहेको शिचाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पुगेर उनले उद्धार तथा आपत्कालीन राहत कार्यको स्थलगत निरीक्षण गरेका हुन्। बिहीबार ग्यिरोङ काउन्टीस्थित बाढी प्रभावित क्षेत्रको अवलोकनमा उनी आफैं खटिएका हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङको निर्देशनपछि प्रधानमन्त्री ली बिहीबार ग्यिरोङ पुगेका हुन्। उनले बाढीपहिरोबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै उद्धारमा खटिएका कर्मचारी र विस्थापित नागरिकसँग भेट गरेका थिए।

लीले विपद्को अवस्थामा ‘मानिस र उनीहरूको जीवनलाई सबैभन्दा माथि राख्न’ निर्देशन दिँदै उद्धार तथा आपत्कालीन प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्। उनले प्रभावित क्षेत्रमा उद्धार, राहत, विस्थापितको व्यवस्थापन तथा जोखिम न्यूनीकरणका कामलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

बुधबार बिहान ग्यिरोङ सीमा बन्दरगाह क्षेत्रमा आएको भीषण बाढीपहिरोले सडक, विद्युत् र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको छ। चिनियाँ पक्षका अनुसार केरुङ क्षेत्रमा हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौं मानिस सम्पर्कविहीन छन्।

यसअघि नै चिनियाँ नेतृत्वले विपद्पछि उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखेको थियो। राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले बुधबारै उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका थिए।

त्यसपछि चिनियाँ उपप्रधानमन्त्री तथा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य झाङ गुओछिङ पनि बुधबार नै बेइजिङबाट ग्यिरोङ पुगेका थिए। उनले प्रभावित क्षेत्रको क्षतिको निरीक्षण गर्दै उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए।


नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता

यसैबीच, नेपालतर्फ भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोपछि करिब १०० जना चिनियाँ नागरिक अझै सम्पर्कविहीन रहेको चीनले जनाएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नेपालमा रहेका करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका थिए। नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँग समन्वय गर्दै उनीहरूको अवस्थाबारे थप प्रमाणीकरण गरिरहेको उनले बताएका थिए।

नेपालतर्फ रसुवाको टिमुरे तथा केरुङ नाका आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। भोटेकोशीको बाढीले सडक, पुल, भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै ठूलो मानवीय क्षति भएको छ।

सीमापारि चीनको ग्यिरोङ क्षेत्रमा पनि बाढीपहिरोले व्यापक क्षति पुर्‍याएको छ। दुवै देश जोड्ने पूर्वाधारमा क्षति पुगेपछि सीमा क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ।


विपद्को भोलिपल्टै चिनियाँ नेतृत्व घटनास्थलमा

बाढीपहिरोपछि चिनियाँ नेतृत्वले प्रभावित क्षेत्रमा उच्च तहका अधिकारीलाई तत्काल परिचालन गरेको छ। राष्ट्रपति सीको निर्देशनमा प्रधानमन्त्री ली छ्याङ आफैं घटनास्थल पुग्नु र उपप्रधानमन्त्रीसहित वरिष्ठ अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पठाइनुले चीनले विपद्पछिको उद्धार तथा आपत्कालीन प्रतिकार्यलाई दिएको प्राथमिकता देखाउँछ।

ग्यिरोङ पुगेर प्रधानमन्त्री लीले प्रभावित नागरिकको अवस्था बुझेका छन् भने उद्धारमा खटिएका कर्मचारीसँग प्रत्यक्ष भेट गरी कामको प्रगतिबारे जानकारी लिएका छन्।

उता नेपालमा पनि रसुवा, नुवाकोट र धादिङसहितका बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। सीमावर्ती क्षेत्रमा फेरि बाढीको जोखिम बढ्न सक्ने चेतावनी र कठिन भौगोलिक अवस्थाका कारण उद्धार टोलीले उच्च सतर्कताका साथ काम गरिरहेको छ।

नेपाल र चीन दुवैतर्फ एउटै विपद्को चपेटामा परेको सीमावर्ती क्षेत्र अहिले उद्धार, बेपत्ताको खोजी र विस्थापितको व्यवस्थापनको कठिन चरणमा छ।

एकातर्फ हराइरहेका नागरिकको खोजी भइरहेको छ भने अर्कोतर्फ क्षतिग्रस्त सडक, पुल र सञ्चार संरचनाका कारण प्रभावित क्षेत्रमा पुग्नसमेत चुनौती थपिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : २६ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक