काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले चार दिनसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षति भएको बताए। उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। सडक, पुल तथा भवनमा भएको क्षतिको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य निकायप्रति आभार व्यक्त गरे।
नेकपा (एमाले)का सांसद सम्झना देवकोटाले अविरल वर्षाका कारण गण्डकी प्रदेशको मनाङमा भएको बाढीपहिरो तथा मुख्य राजमार्गमा पुगेको क्षति तत्काल मर्मत गरी सडक सञ्चालनमा ल्याउन माग गरे। स्थानीय बजार तथा बस्तीमा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा आवतजावत तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या र महँगी बढ्न नदिन आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।
जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन माग गरे। विपद्का कारण महामारीको जोखिमसमेत बढ्न सक्ने भएकाले त्यसतर्फ आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराए।
उनले रसुवाका बाढी प्रभावितलाई समयमै राहत उपलब्ध गराई पुनःस्थापनाको काम अघि बढाउन तथा बजारमा हुन सक्ने महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग आग्रह गरे।














प्रतिक्रिया