काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्री वालेन्द्र शाहसँग जवाफ मागेका छन् ।
उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत इनम सापकोटाकी पत्नीकले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीका बारेमा नेता शर्माले प्रधानमन्त्रीसँग जवाफ माग गरेका हुन् । उनले कांग्रेस सभापति गगन थापा लगायत व्यक्तिहरु विरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइ दिने भन्दै धम्की दिएको भन्ने उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो भन्दै प्रश्न समेत गरेका छन् ।
शर्माले मानवअधिकार आयोगमा परेको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ? भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्– ‘काँग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरु विरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइ दिने !’’ इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ?
वरिष्ठ उपसभापति शर्माले इनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र प्रस्तुत गरेर राख्न नहुने भन्दै यसका सबै तथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्।
उनले लेखेका छन्– ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो । इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ ।’
उनले षड्यन्त्रका पत्रहरु क्रमशः खुल्दै गरेको उल्लेख गर्दै वास्तविकता जे हो त्यस उपर निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी रहेको बताएका छन् ।
‘षड्यन्त्रका पत्रहरु क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ । वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी छ,’ उनले भनेका छन् ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगिएको र कांग्रेस सभापति गगन थापासहित राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।

















प्रतिक्रिया