कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा शनिबार भएको लिग चरणको खेलमा एनआरएनएले दिएको १२६ रनको लक्ष्य गण्डकीले १४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। जितसँगै गण्डकीले प्रतियोगितामा दुई अङ्क जोडेको छ।
टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई १९.२ ओभरमा १२५ रनमा समेटेको थियो। एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए। उनले ३२ बलमा पाँच चौका प्रहार गरे।
त्यस्तै नवीन तामाङले २६ र आदित्य महताले २३ रनको योगदान दिए। कप्तान कमलसिंह ऐरी सात रनमा आउट हुँदा विकेटकिपर निर्भिक पाठक पाँच रनमा अविजित रहे।
१२६ रनको लक्ष्य पछ्याएको गण्डकीका लागि ईश्वर क्षेत्रीले सर्वाधिक ३२ रन बनाए। उनले २७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।
वंश क्षेत्रीले अविजित २९ रन बनाए। उनले २७ बलमा तीन चौका प्रहार गरे। त्यस्तै सिब्रिन श्रेष्ठले २४ र सन्दीप खत्री क्षेत्रीले १४ रन जोडे। रोहित चन्द एक रनमा अविजित रहे।
यसअघि प्रतियोगिताको पहिलो खेलमा गण्डकी मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा जित निकाल्दै गण्डकीले प्रतियोगितामा पुनरागमन गरेको छ।

















प्रतिक्रिया