काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ ले शुक्रबार आयोजना गरेको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लोकतन्त्रको स्थायित्व र मुलुकको विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए।
महामन्त्री पौडेलले पार्टीका वडा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको तथा जिल्ला र प्रदेश अधिवेशन पनि छिट्टै हुने जानकारी दिए। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएका उम्मेदवारलाई निराश नभई आगामी दिनमा निर्वाचित हुने गरी काम गर्न आग्रह गरे।
‘जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ। जनताका मुद्दामा कांग्रेस सधैँ अगाडि हुनुपर्छ,’ उनले भने।
कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै उनले पार्टी शासन गर्न नभई जनताको सेवा गर्न बनेको बताए।
बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसको विचारले निर्माण गरेको दाबी गर्दै उहाँले विगतमा आलोचना गर्ने र फरक धारमा रहेका राजनीतिक शक्तिले समेत अहिले यही व्यवस्थालाई स्वीकार गरेको बताए।
महामन्त्री पौडेलले स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे। सार्वजनिक जग्गाको संरक्षण, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि र न्यायका पक्षमा सक्रिय भूमिका निर्वाह गर्न उनले निर्देशन दिए।
कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना आगामी स्थानीय तह निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। जनतासँग प्रत्यक्ष जोडिएर निर्वाचनलक्षित संगठन परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरिएको थियो।
त्यसैगरी, कांग्रेस काठमाडौँ महानगर सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगर सभापति श्यामकृष्ण सापकोटा, टोखा नगर सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा क्षेत्र नं. ६ का १५ वटै वडाका सभापतिलाई पनि सम्मान गरिएको थियो।

















प्रतिक्रिया