काठमाडौँ-पत्रकार तथा अधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक गरिएको छ ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचनसँगै कार्यक्रममा नेपालको लोकतान्त्रिक अभ्यास, यसले हासिल गरेका उपलब्धि, विद्यमान चुनौती तथा नागरिकले आफ्नो दैनिक जीवनमा लोकतन्त्रको अनुभूति गर्न पाए–नपाएको विषयमा विमर्शसमेत गरिएको थियो ।
‘मानव आवाज’ अनलाइनका सम्पादकसमेत रहेका लेखक तिमल्सिनाको पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन् । पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ ।
पुस्तक विमोचन गर्दै वरिष्ठ पत्रकार दाहालले लोकतन्त्र केवल राजनीतिक व्यवस्था नभई जीवनपद्धति भएको उल्लेख गर्दै नेपाली समाजमा यसको अभ्यास र व्यवहार अझै प्रश्नको घेरामा रहेको बताए।
कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोड दिए । कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नगरी घरपरिवारदेखि समाजका हरेक तहमा लोकतान्त्रिक संस्कार स्थापित गर्नुपर्ने बताए। जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समय–समयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र उठेका प्रश्नको जवाफ दिन सक्ने सामर्थ्य भए मात्र नागरिकले लोकतन्त्रको वास्तविक अनुभूति गर्न सक्ने धारणा राखे।

















प्रतिक्रिया