ललितपुर- ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ ।
किस्ट अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको अवसरमा शनिबार आयोजित ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबरेसन’ कार्यक्रममा उपचारका नवीनतम पद्धति र प्रविधिबारे जानकारी दिँदै सेवा विस्तारको योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मेदान्ता ग्रुप अफ हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहानले किस्ट अस्पतालमार्फत मुटु तथा छातीसम्बन्धी शल्यचिकित्साका आधुनिक प्रविधि, उपचार पद्धति र पछिल्ला उपलब्धिबारे ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिने बताउनुभयो ।
स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधिको प्रयोगले उपचार पद्धतिमा महत्वपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै उनले एआई चिकित्सकको विकल्प नभई रोग पहिचान, उपचार योजना, शल्यक्रियाको तयारी तथा उपचार प्रक्रियालाई प्रभावकारी बनाउने महत्वपूर्ण औजार भएको बताए।
कार्यक्रममा मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए।
किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री बनाउन सहयोग पुगेको बताए। उनका अनुसार अस्पतालले पहिलो बाल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ ।
अस्पतालले आगामी दिनमा मेदान्ताको प्राविधिक तथा शैक्षिक सहयोगमा मुटु–फोक्सो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने तयारी गरेको छ ।
दुई अस्पतालबीचको चिकित्सकीय सहकार्यले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता कम हुनुका साथै बिरामीको समय र खर्च बचतमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया