तानसेन – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा थप प्रभावकारी हुने बताएका छन् ।
तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तर्पालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए ।
विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सहकार्य हुन नसके नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए।
स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन् ।
भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ ।














प्रतिक्रिया