एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही महिनामा ४.८ प्रतिशतले वृद्धि भएको छ ।
सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार अक्टोबरमा कार तथा व्यावसायिक सवारीसाधन गरी कुल ६४ हजार १४१ वटा उत्पादन भएका छन् । कार उत्पादन लगातार तेस्रो महिना बढ्दै ६.२ प्रतिशतले वृद्धि भएर ६१ हजार ७४६ युनिट पुगेको छ।
गत वर्ष अक्टोबरमा बेलायतको प्रमुख अटोमोबाइल उत्पादक कम्पनीमध्ये एकमा भएको ठूलो साइबर आक्रमणका कारण उत्पादन प्रभावित भएको थियो । त्यसैले यस वर्षको उत्पादन वृद्धिमा तुलनात्मक आधारको प्रभावसमेत परेको एसएमएमटीले जनाएको छ ।
उत्पादन वृद्धिमा निर्यातको महत्वपूर्ण योगदान रहेको छ । अक्टोबरमा कार निर्यात १४.२ प्रतिशतले बढेको छ । कुल उत्पादित कारमध्ये ८२.६ प्रतिशत निर्यात भएको छ । यो सन् २०२४ डिसेम्बरयताकै उच्च मासिक निर्यात अनुपात हो ।
युरोपेली सङ्घ (ईयू) बेलायतको सबैभन्दा ठूलो निर्यात बजारका रूपमा कायम छ । कुल कार निर्यातमध्ये ५३.७ प्रतिशत हिस्सा ईयूको रहे पनि उक्त बजारमा पठाइने सवारीसाधनको परिमाण भने ७.१ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।
एसएमएमटीका प्रमुख कार्यकारी माइक हाउजले उत्पादनमा देखिएको निरन्तर वृद्धिको स्वागत गर्दै बेलायतको सवारीसाधन उद्योग अझै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।
विश्व बजारमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला लगानी आकर्षित गर्न अनुकूल औद्योगिक वातावरण आवश्यक रहेको उनको भनाइ छ । उत्पादन लागत घटाउने, ईयूसँग स्वतन्त्र तथा खुला व्यापार कायम राख्ने र शून्य उत्सर्जन सवारीसाधनसम्बन्धी सरकारी नीतिमा सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
एसएमएमटीका अनुसार यस वर्षको पहिलो १० महिनामा बेलायतमा कुल छ लाख २८ हजार ६७८ वटा कार तथा व्यावसायिक सवारीसाधन उत्पादन भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशत कम हो ।
संस्थाको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२७ मा बेलायतको सवारीसाधन उत्पादन बढेर सात लाख ५२ हजार युनिट पुग्न सक्नेछ ।
यद्यपि, उद्योगको दिगो पुनरुत्थान र उत्पादन वृद्धिका लागि प्रतिस्पर्धी औद्योगिक वातावरण आवश्यक रहेको एसएमएमटीले जनाएको छ ।














प्रतिक्रिया