एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी सात जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।
प्रान्तीय संस्कृति तथा सूचना निर्देशक सामी उल हक बयानका अनुसार विद्यालय नजिकै रहेको विस्फोटक पदार्थ भण्डारण केन्द्रमा भएको विस्फोट विद्यालयसम्म फैलिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
उक्त केन्द्र खानी कम्पनीका विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग हुँदै आएको थियो । भण्डारण केन्द्रमा भएको लापरबाहीका कारण विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ ।
घाइतेमध्ये १५ जनासम्म अस्पतालमा उपचाररत रहेको र अन्य उपचारपछि घर फर्किएको बयानले जानकारी दिए ।
यसअघि कुनार प्रान्तीय प्रहरी मुख्यालयका प्रवक्ता फरीद देहकानले असदाबादको बाहिरी क्षेत्रमा पर्ने अन्दर सेरस्थित विद्यालयमा बिहान १० बजे विस्फोट भएको बताएका छन् ।
यसअघि गत अगस्टमा अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय परिसरमा भएको हातेबम आक्रमणमा नौदेखि १४ वर्ष उमेर समूहका ४० भन्दा बढी बालबालिका घाइते भएका थिए ।














प्रतिक्रिया