काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट गर्ने र महिलामाथि दुर्व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि सञ्चालन गरेको ‘सुरक्षित यात्रा’ विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी हुने, पाकेटमारी र लुटपाट हुने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन्।
प्रहरीले काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया