काठमाडौं– नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यो ।
गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो ।
प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्षका सन्दर्भमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्ममा अर्यालसँग गरिएको कुराकानीको सम्पादत अंश :
नेपालमा निकै ठूलो सङ्घर्ष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । तत्कालीन अवस्थामा गणतन्त्रको आवश्यकता किन महसुस गरिएको थियो ?
सर्वप्रथम म गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेको छ । गणतन्त्र इतिहासको आवश्यकता हो । लामो समयदेखि नेपाली समाज विभेद, अन्याय, अवसरबाट वञ्चित भएर बस्यो । राज्यको अवसर प्राप्त गर्न नेपाली जनतालाई कठिन भयो ।
समान अवसर प्राप्त गर्न, समाजको विभेद उत्पीडन अन्त्य गर्न, लोकतन्त्रमा मानिसको वैयक्तिक स्वतन्त्रतासँग जोडेर, समाजको सबै खालको विभेद अन्त्य गर्न, समावेशिता र लोकतन्त्रतालाई संस्थागत गर्ने उद्देश्यका साथ मुलुकमा गणतन्त्रको आवश्यकता महसुस भयो ।
त्यहीअनुसार तिनै असमानताको जगबाट आन्दोलन सुरु भएर गणतन्त्र स्थापना भएको छ । गणतन्त्र कुनै सत्ताको परिवर्तन होइन, जनताको अधिकार र विकासलाई स्थापित गर्ने एउटा शासन प्रणाली हो । त्यो आज प्राप्त भएको छ ।
निकै सङ्घर्ष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । जुन उद्देश्यले गणतन्त्र स्थापना गरियो, जनताले चाहेअनुसार भएको पाउनुभएको छ ?
गणतन्त्र स्थापना गर्न जनता लडेका थिए । त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै अन्तर छ । आज मुलुकको लोकतन्त्र स्थापना भएको छ । जनताले निर्धक्क तरिकाले आफ्ना कुराहरू राख्न पाएका छन् । आफ्ना अधिकारहरू संविधानमा लेखेका छन् ।
समानुपातिक सहभागिता र समावेशिताको सिद्धान्त संविधानमा प्रष्ट लेखिएको छ । त्यो कार्यान्वयनका चरणमा छ । जनताले पाएका छन् । विकास पनि भएको छ । नेपाल हरेक क्षेत्रमा अघि बढिरहेको छ ।
स्थानीय सरकारमार्फत गाउँगाउँमा विकास पुगेको छ । जति अपेक्षा गरिएको हो, त्यो अनुसार भएको छैन । हिजो के थियो र आज के छ हामीले तुलना गरेर हेर्ने हो भने पनि काफी अन्तर छ ।
गणतन्त्रपछि नेपाली जनतामा छुट्टै मीठो सपना थियो । साँच्चै गणतन्त्रको महसुस जनताले गर्न पाएका छन् त ?
जनताको अपेक्षाअनुसार सुशासन, रोजगारी र विकासले जुन गति लिनुपर्ने हो । त्यो अनुसार हुन सकेको छैन । हामीले सोचेअनुसार सुशासन हुन सकेको छैन । जनताको सुशासनको चाहना छ । त्यो दिशातर्फ अघि बढ्नुपर्ने छ । विकासको कुरा गर्दा त हिजोको विकास र आजको विकासमा हामी धेरै फड्को मारेको छौँ तर पनि जनताको अपेक्षा र चाहना यति मात्रै होइन । अझै अगाडि बढ्ने क्रम जारी छ ।
यतिमै चित्त बुझाउने पनि होइन । गणतन्त्रको गन्तव्य पनि यति मात्रै होइन, हाम्रो सपना सकिएको छैन । सपनाहरू धेरै बाँकी छन् । हामी नेपाली समाजलाई गन्तव्यमा पुर्याउने अभियानमा छौँ । समाजवादोन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधान निर्माताहरूको सङ्कल्प छ । नेपाली समाजलाई बिस्तारै रूपान्तरण गर्दै अघि बढ्ने हो ।
नेपालमा सूचना प्रविधिको विकाससँगै भौतिक पूर्वाधारदेखि हरेक क्षेत्रका विकास क्रमशः भइरहेको छ । तर नेपाली जनताले किन महसुस गर्न सकेनन् ?
सूचना प्रविधिको विकास आज विश्वमै उच्च गतिमै भइरहेको छ । नेपाली समाज भर्खरै विकास हुँदै गरेको समाज हो तर अत्याधुनिक सूचना प्रविधिको पहुँच सबैमा पुगेको छ । त्यसको कसरी प्रयोग गर्ने ? त्यसको सही प्रयोग गरेको हो ? वा दुरुपयोग गरी सूचना प्रवाह गरेको हो, आम नागरिकले छुट्टाउन सकिरहेको अवस्था छैन ।
नेपाली समाजमा सकारात्मक पाटो लुकाएर नकारात्मक कुरा मात्रै देखाउने काम भइरहेको छ । खाली भएन, भएन भन्ने मात्रै सन्देश प्रवाह भएको छ । यसले समाजलाई अराजक बनाउन, जबाफदेही बनाउने काम भएको छ । समाजमा अनास्था पैदा गर्ने काम भएको छ । सूचना प्रविधिको विकास जरुरी छ ।
अझ उन्नत खालको प्रविधि जरुरी छ । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, मानवीय र भौतिक क्षेत्रको विकासमा प्रयोग गर्नुपर्छ । तर सूचना प्रविधिको गलत र अनियन्त्रित प्रयोग गर्नाले राज्य, राजनीतिक दल, राजनीतिक नेतृत्व दलप्रति पनि नागरिकको विश्वासको सङ्कट पैदा गर्ने काम भयो ।
राज्यप्रति जनताको विश्वास नभएपछि राज्य बन्दैन । राज्यप्रति विश्वास जगाए मात्रै नेपाली समाजको विकास हुन्छ । राज्यप्रति अस्वाभाविक असन्तुष्टिको भाव पैदा गर्न खोजिएको छ । त्यसलाई चिर्दै सही तरिकाले प्रयोग गर्नुपर्ने देखिन्छ ।
गणतन्त्र स्थापनापछि मुलुक एउटा लयमा गइरहेको अवस्थामा सुशासन नारा लगाउँदै जेन-जी आन्दोलन भयो । त्यस क्रममा ठूलो जनधनको क्षति भयो । यस्ता घटनाले गणतान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्छ त ?
नेपाली समाज गत भदौ २३ र २४ गतेको घटनाले अहिले पनि शिथिल अवस्थामा छ । नागरिकमा मनोवैज्ञानिक असर परेको छ । एउटा सुरक्षा व्यवस्था र अर्कोतिर यो देशमा केही पनि हुँदैन भनेर युवा जमातमा चरम निराशा पैदा भएको छ ।
यसले गर्दा विदेश पलायनको दर अझै बढेको छ । निजी क्षेत्र, व्यवसायीहरू त्रसित छन् । लगानी गर्ने हो तर सुरक्षाको ग्यारेन्टी छैन । नेपाली समाज पनि विक्षिप्त अवस्थामा छ ।
जेन-जी आन्दोलनको सुशासन, विकास र रोजगारीको नारा राम्रो थियो । सबै नेपालीले चाहेको पनि त्यही हो । नारा राम्रो थियो तर त्यसको जगमा जुन खालको विध्वश भयो । त्यसले मुलुकको विकासमा धेरै पछाडि परेको छ । सामाजिक मनोविज्ञानलाई पनि धेरै असर परेको छ ।
यस्ता घटनाले गणतन्त्रलाई दख्खल पार्ने काम गरेको छ । देश बनाउने खरानी बनाएर होइन, सिर्जनाले हो । नेपालमा केही गरौँ भन्ने व्यावसायिक व्यक्तिलाई पनि लगानी गर्ने वातावरण दिन नसके त्यसले ठूलो नोक्सान पुर्याउँछ ।
नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो । यसलाई थप सुदृढ बनाउन राज्य, सरकार र राजनीतिक दलले के गर्नुपर्छ ?
राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा राष्ट्रलाई शिरमा राख्नुपर्छ । दलीय स्वार्थभन्दा राज्यको स्वार्थ ठूलो हो भनेर हेर्नुपर्छ । राज्यको ठाउँबाट हेर्दा, जनताको चाहना सुशासन र पारदर्शीको हो । त्यो चाहना परिपूर्ति गर्ने गरी अघि बढ्नुपर्छ । भ्रष्टाचार नियन्त्रण दीर्घकालीन हिसाबले नै सरकारका कदम हुनुपर्छ । युवाहरू भनेको यो देशको भविष्य हो ।
युवाहरूलाई आशा नजगाएसम्म देश बन्दैन । ‘बन्छ मेरो देश’ भन्ने आशा, विश्वास र भावना जगाउन जरुरी छ । देशभित्र सम्भावना देखाउनुपर्छ । देशभित्र गर्न सकिन्छ, देशभित्र बाँच्न सकिन्छ भनेर आशा जगाउनुपर्छ । रोजगारीका सम्भावना देशभित्र सरकारले देखाउनुपर्छ ।
वर्तमान सरकारको यही जगमा बनेको छ । शिक्षा र स्वास्थ्यमा समान हक राज्यको कायम गर्नुपर्छ । संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।
नेपालको संविधानमा मौलिक हकदेखि लिएर समृद्ध नेपाल र सुखी नेपालको सङ्कल्प साकार पार्ने समाजवादोन्मुख राज्यव्यवस्था र अर्थव्यवस्थाको सबै व्यवस्था त्यही छ । संविधानमा सबै विषयहरू छन् । संविधान संशोधन गर्दा राष्ट्रिय सहमति गरेर जानुपर्ने हुन्छ । बन्नुपर्ने कानुनहरू अझै बनेका छैनन् ।
संविधान संशोधनको विरोधी हामी होइनौँ तर के विषयमा संविधान संशोधन हो भन्ने त प्रष्ट हुनुप यो । गणतान्त्रिक व्यवस्थामा जनताले अनुभूत गर्ने गरी लोकतान्त्रिक सरकार र राजनीतिक उत्तरदायित्व हुन आवश्यक छ ।
अन्त्यमा, गणतन्त्र दिवसका अवसरमा थप केही भन्न चाहनुहुन्छ कि ?
गणतन्त्रले समावेशिता, समानुपातिक प्रतिनिधित्व, लोकतान्त्रिक स्वतन्त्रता, वाक स्वतन्त्रता प्रदान गरेको छ । विभेदका पर्खाल तोड्ने कुराको अभ्यास गणतन्त्रको उपहार हो । एउटा गृहिणी राज्य सञ्चालनको महत्त्वपूर्ण ठाउँमा पुगेका छन् । यो गणतन्त्रकै उपहार हो । जनताले गणतान्त्रिक व्यवस्थामा राम्रा कुरा प्राप्त गरेका छन् ।
देख्ने र भोग्ने गरी राम्रा कामहरू भएका छन् । गर्न बाँकी अझै धेरै छन् । अझै सृजनशील तरिकाले काम गर्न जरुरी छ । थप सुविधा जनालाई दिनुपर्छ । जनताको अपेक्षाअनुसार पूरा गर्ने सङ्कल्पका काम गर्ने आजको दिनको आवश्यकता हो । यस कार्यमा सरकार र सबै राजनीतिक दलहरू जबाफदेही, जिम्मेवार, उत्तरदायित्व निर्वाह गर्न सकौँ ।














प्रतिक्रिया