आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे « Khabarhub

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे ।

यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो । प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिकरुपमा महत्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।

पात्लेखेतको वाखेत टोलको शिरमा समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा अवस्थित भंकासेको प्रचारप्रसार आवश्यक रहेको स्थानीय लोकबहादुर पुनको भनाइ छ । ‘पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा भ्वाङ खसेको भन्दा भन्दै अप्रभंश भएर भंकासे नाम रहन गएको जनविश्वास छ’, उनले भने ।

भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ छ । भ्वाङको नजिकै करिब १० रोपनी समथर खाली जमिन छ । भंकासेको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छे« हिमशृङ्खला देखिन्छ । म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयवासीहरुको भनाइ छ ।

भंकासेदेखि करिब २०० मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरुले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनिहरु ध्यान तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वी रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिए ।

भंकासे र सिद्धथानमा आश्रमहरु छन् । वाखेतदेखि ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिडेर भंकासे पुगिन्छ । रघुगङ्गा, मङ्गाल गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल टोड्केदेखि ४० मिनेटको पैदलयात्रापछि भंकासेमा पुगिन्छ ।

बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए । वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग, सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिँदै ऐतिहासिक तथ्यहरु जुटाउनका लागि धर्मगुरुमार्फत खोज अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : २७ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी