आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे « Khabarhub

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे ।

यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो । प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिकरुपमा महत्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।

पात्लेखेतको वाखेत टोलको शिरमा समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा अवस्थित भंकासेको प्रचारप्रसार आवश्यक रहेको स्थानीय लोकबहादुर पुनको भनाइ छ । ‘पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा भ्वाङ खसेको भन्दा भन्दै अप्रभंश भएर भंकासे नाम रहन गएको जनविश्वास छ’, उनले भने ।

भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ छ । भ्वाङको नजिकै करिब १० रोपनी समथर खाली जमिन छ । भंकासेको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छे« हिमशृङ्खला देखिन्छ । म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयवासीहरुको भनाइ छ ।

भंकासेदेखि करिब २०० मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरुले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनिहरु ध्यान तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वी रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिए ।

भंकासे र सिद्धथानमा आश्रमहरु छन् । वाखेतदेखि ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिडेर भंकासे पुगिन्छ । रघुगङ्गा, मङ्गाल गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल टोड्केदेखि ४० मिनेटको पैदलयात्रापछि भंकासेमा पुगिन्छ ।

बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए । वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग, सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिँदै ऐतिहासिक तथ्यहरु जुटाउनका लागि धर्मगुरुमार्फत खोज अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : २७ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित