झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू « Khabarhub

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू



बेइजिङ-
स्थान- त्रिभुवन विमानस्थल, काठमाडौं
समय- असार १४ गते आइतबार राति ८.३० बजे

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ गेट ‘बी’ बाट प्रवेशका लागि लाइनमा थिएँ । दुई जना महिला पुरुष दाजु बहिनी हुन् कि पति-पत्नी ? बिदाइका बेला भावविह्वल देखिएका उनीहरूलाई साइनो सोधेर दुखेको मन झनै दुखाउन जाँगर लागेन । गेट ‘बी’ तर्फबाट अघि बढ्दै गर्दा उनीहरूका आफन्त पर्तिर बारमा उभिएर अश्रुमिश्रित अनुहारसहित बिदाइका हात हल्लाइरहेका थिए । १५ दिनका लागि देश छोडेको म उनीहरूका पछिपछि एउटा सुटकेस घिसार्दै थिएँ ।

उनीहरू हात हल्लाउँदै अघि बढे, अनुहार त रोएकै थियो केबल आँसु मात्रै खसेका थिएनन् । आइतबार त्रिभुवन विमानस्थलको प्रस्थान कक्षस्थित पटाङ्गिनी भरिने गरी भिडभाड थियो । गाउँघरतिर बेला मौका लाग्ने मेलामा जम्मा भएका मानिसभन्दा धेरै थिए । जाबो १५ दिनलाई विदेश हिँड्दा त मेरै छोरीले रुवावासी गरिन् । कयौँ वर्षका लागि सुनौलो भविष्यको योजनासहित मातृभमि छाडेका उनीहरूको मनमा कति रेक्टरको भुइँचालो गइरहेको होला ? म कल्पना गर्न सक्दिनँ ।

खाडी, मलेसियादेखि जापान र अस्ट्रेलिया, अमेरिकासम्म पुग्न तम्तयार लर्को देख्दा युवासँगै देश पनि उतै बसाइँ सरिरहेको प्रतीत हुन्थ्यो । अँ… कुरो बटारेर अन्तै पो पुगेँछु । उनीहरूको पछाडि म त्रिभुवन विमानस्थल प्रस्थान कक्षतिर लुरुलुरु छिरिरहेको थिएँ, मजस्तै सयौँको भिडमा ठेलमठेल गर्दै । मेरो अगाडिका दुई जना कम्तीमा चार वटा लगेजसहित अघि बढ्दै थिए ।

भिडबारे भनिसकेँ, बिदाइ गर्न पुग्नेजस्तै देश छाड्नेको संख्यबारे कुरा गरेर साध्य छैन । म उनीहरूलाई पछाडिबाट हेरिरहेको थिएँ । उनीहरूको काँधमा थियो चन्द्रसूर्यअंकित नेपालको तीनकुने राष्ट्रिय झण्डा । झण्डा ओढ्दै मलिन अनुहारमा अघि बढेका दुईमध्ये युवा केहीबेर टक्क अडिए । सोचेजस्तो गरे अनि काँधमा सिउँरिएको राष्ट्रिय झण्डा झिके । टक्क उभिएको केही बेरमै उनले आफ्नो काँधको राष्ट्रिय झण्डा झिके । त्यसपछि उनको नातेदारको काँधको झण्डा पनि आफैँले झिके ।

सायद उनीहरूलाई सुरक्षाकर्मीले हटाउन लगाए भने फ्याँक्नु पर्ने डर थियो । देश छाड्दै गर्दा उनलाई मातृभूमिको मायाले पिरोलेको थियो । दुवै जनाको झण्डा काँधबाट झिकेपछि उनले मायालु भावमा दुवै हातले चुमे, जुनबेला उनी दुवै आँखा चिम्लेर राष्ट्रप्रति अनुग्रहित भएको सन्देश दिइरहेका थिए । आफ्नो अनि नातेदार दुवैको झण्डालाई चुमेर उनले जतनसाथ पट्याउँदै लगेजतिर राखे । यति मायाले झोलामा राखे, जससँग उनको गहिरो लगाव छचल्किरहेको थियो । कम्ता भावुक दृश्य थिएन त्यो, देश छाड्दै गरेका दुईजनाको त्यो दृश्यले मलाईसमेत भावुक बनाएछ ।

गेटतर्फ अघि बढ्दै गएँ, उनीहरूसँग गफिन खोज्दा म अल्मलिएँ । कारण प्रिन्ट गरेको मेरो टिकटमा प्रहरीले मिति नै देखेनन् । पछ्याउन खोजेँ अगाडि बढिसकेछन् । पछि एक मनले भन्यो, परदेश हिँडेका उनीहरूलाई प्रश्न सोधेर दु: ख दिनु ठिक लागेन ।द बाहिर देखिएको मेला भित्र पनि उस्तै थियो । बाहिर त बिदाइको आँसु झार्न, हात हल्लाउन आउने धेरै थिए । तर अध्यागमन काटेर भित्र जाँदा पनि त उस्तै मेला थियो नि घर छाडेर परदेशिनेहरूको । फोटो खिच्न खोजेँ, परदेश हिँडेकाको निन्याउरो अनुहार कैद गरेर मन खिन्न बनाइदिन मन लागेन । मध्यराति कोही जापान उड्न तयार थिए त कोही अस्ट्रेलिया ।

अर्कातिर खाडीको ४५ डिग्री गर्मीमा पसिना बगाएर देश सिँचित गर्न तम्यार दाजुभाइ पनि उड्न ठिक्क थिए । राति १० बजे विमानस्थलमा राखिएको चाइना साउदर्न एयरको जहाज हामीलाई कुरिरहेको थियो । अधिकांश तेस्रो देशमा जान तयार भएर गोन्झाओ ट्रान्जिटका लागि हिँडेका थिए । तर मजस्ता आधा दर्जन बेइजिङतिर जान तयार । तर उनीहरू कोही पनि चिनेका थिएनन् । म एक्लै ग्वान्झाओ हुँदै बेइजिङ जान तयार थिएँ ।

मेरो उडान थियो चाइना साउदर्न एयरलाइन्सबाट गोन्झाओ हुँदै बेइजिङसम्म । मेरो सिट थियो- ५८ ‘के’ । मेरो सिटसँगै थिइन् दार्चुलाकी जापान पढ्न हिँडेकी २१ वर्षीया सरू ठगुन्ना । उनी मैसँगको सिटमा थिइन् । अघि झण्डा चुम्दै लगेजमा राखेको दृश्यले मन भावुक बनाएकै थियो । दार्चुलाकि ती नानी त काँधमा राष्ट्रिय झण्डासहित मेरो सिटसँगै थिइन् । काँधमा राष्ट्रिय झण्डा बोकेकी उनी निर्दोष अनुहारसहित सुन्दर भविष्य खोज्न जापान हिँडेकी रहिछन् । गोन्झाओ अहिले व्यस्त ट्रान्जिट भएको छ नेपालीका लागिर कारण तुलनात्मक रूपमा सस्तो रूट । उनीजस्ता धेरै नेपाली युवायुवती देखेँ, भविष्य खोज्न हिँडेका । उनलाई सोधेँ- पढ्न हिँडेको कि काम गर्न ? उनी केबल हाँसिन्, फेरि सोधेँ- पढ्न नै होला, उनले भनिन्- हो दाजु ।

नेपालको सुदूरपश्चिमी दार्चुलाको भूगोगलबाट विश्वको सुदूरपूर्वी देशमा उनी पुग्दै थिइन् । उनको काँधको राष्ट्रिय झण्डाले मलाई तानिरह्यो, कस्तो विडम्बना यति धेरै देशको माया गर्नेहरूलाई राज्यले किन स्वदेशमै मिहिनेत गर्ने वातावरण बनाउन सक्दैन । उनी सुन्दर भविष्य खोज्न जापान उड्नु केही दिनअघि जापानमा ६७ नेपालीको ज्यान गएको समाचार सुनेको थिएँ, मन पोल्यो। अब सरूले बोकेको राष्ट्रिय झण्डा जापानको होस्टेलमा सजिनेछ । उनी गोन्झाओबाट टोक्योतिर उडिन् ।

अब उनले त्यहाँ जापानिज भाषा पढ्नेछिन् । जहाजमै उनलाई सोधेको थिएँ, ‘घरमा कतिको दु:ख गरेकी छ्यौ ? घरमा दु:ख नगरेको, मिहिनेत गर्न नजानेको मान्छेले परदेशमा दु:ख पाउँछ नि !’ जवाफमा सरूले आफूले गाउँमा गरेको दु:खको आधा मिहिनेत मात्रै गरे पनि सफल हुने सुनाइन् । ‘गाउँको दु:खको कुरा नगर्नुस्, अझ लेक र हिमाली क्षेत्रको पीडा तपाईंले बुझ्नु भएकै छैन । म जति पनि हन्डर ठक्कर खान सक्छु,’ घर छाडेको निराशाबीच उनले भनिन्, ‘परदेशमा गएपछि रातदिन मिहिनेत गर्नछौँ ।’

हुन त पुरानाले ३५ वर्षमा लुटेको नारा दिएर नयाँ सरकार आएको छ, केही गर्ला नि आशावादी बनेँ तर फागुन २१ को चुनावअघि विमानस्थलको त्यही भिड देखाएर पुराना दलविरूद्ध जनमत भड्काएको राष्ट्रिय स्वतन्त्र पार्टीले ‍देशमा अनगिन्ती रोजगारीका अवसर बनाउला आशा गरेँ, मेरै सिटसँगैकी दार्चुलाकी बहिनी र झण्डा चुम्ने ती अज्ञान भाइबहिनीका लागि विदेशमा सिकेको सीप नेपालमै लगाउने वातावरण पक्कै युवा प्रधानमन्त्री वालेन्द्र शाहले बनाउलान् आशावादी रहेँ।

उनकै सहयात्री रवि लामिछानेले भनेको युवायुवती फर्काउन विदेशका सहर सहरमा सूचना टाँस्ने कुरा त अझै अलपत्र छ। अर्कोतिर रविले २०७९ मा चुनाव जितेपछि सय युवालाई स्वदेश फर्काएर रोजगारी दिने घोषणा गरेका थिए, अब त दुईतिहाइ छ पक्कै गर्लान्, झन् आशावादी भएँ

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : २५ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार