जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२ का इन्दल पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी २०६५ फागुन १२ गते साविक नेत्रगन्ज गाविस–२ का विरेन पासवानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उक्त दिन विरेन स्थानीय चिताइन मेला हेर्न भन्दै घरबाट बाहिरिएका थिए । राति करिब १० बजे उनी नेत्रगन्ज गाविस–२ स्थित एक खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।
घटनाको अनुसन्धानका क्रममा हत्यामा धनुषाको कपटोल स्थायी ठेगाना भएका तथा तत्कालीन नेत्रगन्ज–२ मा बस्दै आएका इन्दल पासवानसमेतको संलग्नता रहेको खुलेको प्रहरीको भनाइ छ । घटनापछि भने उनी फरार रहँदै आएका थिए ।
लामो समयदेखि फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरको समन्वयमा लालबन्दी नगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय हरिपुरमा राखेर अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि जिल्ला अदालत सर्लाहीको आदेशअनुसार उनलाई पुर्पक्षका लागि सर्लाही कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका पासवान यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । उक्त मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएपछि उनले सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँकासम्बन्धी मुद्दासमेत चलेको प्रहरीको भनाइ छ । १८ वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार रहेका पासवान पक्राउ परेसँगै प्रहरीले घटनासँग सम्बन्धित थप पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।














प्रतिक्रिया