काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ हेरिएको छ। यहाँको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उठ्ने गरेका थिए । उता संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङले लगातार जित्ने क्षेत्र नम्बर २ मा यस पटक पनि नयाँ दलप्रति उत्साह छैन।
यहाँका मतदाताहरू पुरानै दलमध्ये एकलाई रोज्ने तयारीमा छन् । तर कांग्रेसलाई अवसर दिने या एमालेलाई नै निरन्तर अघि बढाउनेमा द्विविधा छ।
क्षेत्र नम्बर १ मा पुराना दल माले, नेपाली कम्युनिस्ट पार्टी र कांग्रेसबीच प्रतिस्पर्धा हुने अवस्था देखिन्छ। अनुभवी र स्थानीयमाझ परिचित नेतालाई एमाले र नेकपाले अगाडि सार्दा कांग्रेसले युवा पुस्तालाई मौका दिएको छ। कांग्रेसले नेतृत्व परिवर्तनसँगै युवालाई अघि सारेर नयाँ दललाई पनि चुनौती दिएको छ ।
क्षेत्र नम्बर १ मा एमाले र ग्रेसबीच टक्कर हुने दृश्य छ । उता साना दलहरूले समेत पहिचान र जातीयताको नारा दिएर ठूला दुई दलको मत काट्नेछन्। तर पहिचानवादी र जातीय पार्टी एकीकृत नहुनाले कांग्रेस-एमालेकै उम्मेदवार विजयी हुने अवस्था छ।

भिडन्त
विगतमा एमालेको किल्ला रहेको यस क्षेत्रमा नेता खनाल नेकपा एकीकृत समाजवादीतिर लागेपछि एमालेका उम्मेदवार महेश बस्नेतले २०७० सालमा जिते
०७९ को निर्वाचनमा एमालेबाट विजयी बस्नेतको टिकट यस पटक अध्यक्ष केपी शर्मा ओलीले खोसेर काजीमान कागतेलाई दिएका छन् । बस्नेतभन्दा कमजोर भनिए पनि काजीमान स्थानीयसँग परिचित छन् ।
काङ्ग्रेसले युवा उम्मेदवार निष्कल राईलाई अगाडि सारेको छ। निष्कल शंकरदेव क्याम्पसमा प्राध्यापन गरेका उनलाई भापति गगन थापाले टिकट थमाइदिएर इलाम पठाए।
२०७८ मा प्राध्यापन पेशा छोडेर इलाम पसेका उनी विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन्। उनी इलाममा परिचित छन् ।
नेकपाबाट रणबहादुर राई उम्मेदवार छन् । राई ०७४ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयर बनेका थिए ।
०७९ मा पनि राईलाई तत्कालीन नेकपा एकीकृत समाजवादीले दोहोर्याएको थियो। उनले जितेर थप काम गरेका छन् ।
पर्यटकीयस्थल कन्याम लगायत क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रचार र प्रबर्द्धन ध्यान दिएका उनलाई सूर्योदयको सफल मेयर मानिन्छ ।
मेयर हुँदा विकास निर्माणको एजेन्डासहित पर्यटन प्रवद्धन र स्थानीय उत्पादनको बजारीकरणमा काम गरेका उनलाई सूर्योदयका मतदातासहित क्षेत्र नम्बर १ का अरू मतदाताले विकासवादी नेता मान्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल गदाल उम्मेदवार छन् । उज्यालो नेपाल पार्टीले हरिबहादुर गुरुङलाई अगाडि सार्दा श्रम संस्कृति पार्टीले विनोद नेम्बाङलाई उठाएको छ।
पहाडी जिल्ला इलाममा रास्वपा लगायत दलहरूले मत नकाटे पनि श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारले मत काट्ने सम्भावना छ।
हर्क साम्पाङको श्रम संस्कृतिबाट अघि सारिएका विनोदलाई पनि यहाँका मतदाताले राम्रैसँग चिनेका छन् । उज्यालोका हरिबहादुर गुरुङसँग पनि केही मतदाताको सम्पर्क छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल, नेपाल मजदुर किसानबाट तुल्सीकेशरी प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीबाट डम्बरसिंह लिम्बू मैदानमा छन् ।
नेकपा माओवादीबाट नारदमणि साम्पाङ, जनता समाजवादी पार्टीबाट लीलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रामप्रसाद लिम्बूले उम्मेदवारी दर्ता गराएका छ्न ।
०७९ को निर्वाचनमा तत्कालीन लोकतान्त्रिक गठबन्धनका बस्नेतले २५ हजार ७ सय ५३ र मत ल्याउँदा झलनाथ खनालले २३ हजार ८९ मत ल्याए ।
२०५६ बाहेक खनालले पटक-पटक निर्वाचन जित्दै आएका थिए । एमाले विभाजन भएपछि २०७९ मा खनाल आफ्नै चेला बस्नेतसँग पराजित भए ।
अहिले उठाएका रणबहादुर खनालनिकट नेता मानिन्छन् । तर २०६४ देखि यस क्षेत्रमा माओवादी कमजोर भएपछि यहाँ माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपाको मत अझै एकिन छैन ।

साना दलले काट्छन् मत
मुख्य प्रतिस्पर्धा तीन दलबीच देखिए पनि सानाहरूले केही भोट काट्न सक्ने आकलन यहाँका स्थानीय गर्छन् । आदिवासी जनजाति समुदायको बसोबास रहेको यस क्षेत्रमा श्रम संस्कृति र उज्यालो नेपालले मत काट्ने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष भीम चापागाईं बताउँछन्।
‘मुख्य प्रतिस्पर्धा यहाँ तीन दलबीच हुने अवस्था छ । तर हर्कको श्रम संस्कृति र कुलमानको उज्यालो नेपालका उम्मेदवारले केही मत काट्नुहुन्छ । यदि उज्यालो र श्रम संस्कृतिले एकअर्कालाई सहयोग गरेमा विजयी हुने अवस्था देखिन्छ’, चापागाईंले खबरहबलाई भने, ‘सूर्योदय नगरपालिकाको मेयर हुँदा राम्रो काम गरेकाले स्थानीयसँग राम्रो सम्बन्ध भएका नेकपा उम्मेदवारको पनि सम्भावना राम्रै छ। युवामा लोकप्रिय कांग्रेसको उम्मेदवारको पनि प्रभाव छ । स्वतन्त्र आँखाले हेर्दा अहिले नै यसै भन्न सकिने अवस्था छैन। झिनो मतान्तरले तीन उम्मेदवारहरूमध्ये एकजना विजयी हुनुहुन्छ।’
उम्मेदवारका दाबी
कांग्रेस नेता निष्कल राई युवाहरूको साथका कारण जितनजिक रहेको बताउँछन्। व्यवस्थापन विषयमा एमफील गर्न लागेका उनी शंकरदेव क्याम्पसमा अध्ययपन गराउँदा गराउँदै ग्रामीण अर्थतन्त्रको विकास र स्थानीय उत्पादनलाई बजारीकरणका लागि इलाम फर्केको दाबी गर्छन् ।
‘स्थानीय मुद्दामा लामो समयदेखि बहस र पैरवी गर्दै आएको छु। २०७८ देखि नै गाउँ फर्किएर स्थानीयसँग काम गरिरहेको छु’, निष्कल भन्छन, ‘यहाँ एमाले र नेकपाका उम्मेदवार दुवै आदरणीय व्यक्तित्व हुनुहुन्छ। नयाँ दल पनि मेरै साथीभाइ हुनाले उहाँहरूले पनि राम्रो काम गर्नुभएको छ। विगतमा कांग्रेसको संगठन राम्रो हुँदाहुँदै पनि इलामको दुवै क्षेत्र गुमाउनु परेको थियो। यसपटक दुवै क्षेत्रमा मतदाता उत्साहित देखेको छु। कांग्रेस एक ढिक्का छ । हाम्रो जित सुनिश्चित छ ।’
चिया किसानका समस्या पर्यटन क्षेत्रको समस्या, दूग्ध किसानका समस्या लगायतलाई नीतिगत रूपमा सम्बोधन गर्न मतदाताले आफूलाई चुन्ने निश्चलको तर्क छ।
पटकपटक एमालेले जिते पनि ठोस काम गर्न नसकेको भन्दै यसपटक इलाम १ ले एमालेको किल्ला भत्काउने निश्चलको दाबी छ। ‘धेरै युवा साथीले मलाई साथ दिनुभएको छ। अग्रजहरूको सम्मान पनि उत्तिकै छ’, उनी भन्छन्, ‘यस पटक एमालेको किल्ला भत्किन्छ। मतदाताको विश्वास भरोसा र साथले नै जित निश्चित छ।’
नेकपाका रणबहादुर राईको सम्भावना पनि उत्तिकै छ। माहोल राम्रो भएकैले नेकपाले उनलाई सूर्योदयको मेयरबाट राजीनामा गराएर टिकट दिएको हो। उनले देश विदेशका प्रभावशाली व्यक्तिहरूलाई कन्याम लगेर पर्यटन प्रवर्द्धन गराए । त्यहीकारण स्थानीय स्तरसँग राम्रो सम्बन्ध भएका नेताका रूपमा लिने गरिन्छ।
नेकपाको संगठन मजबुत नभए पनि उनले कांग्रेस र एमालेको भोट काटेर जित्ने आकलन यहाँ भइरहेको छ । कन्यामका व्यवसायी उमेश तामाङ भन्छन्, ‘कन्याम लगायत यहाँका पर्यटकीय क्षेत्रलाई मोरलका रुपमा विकास गरेकाले रणबहादुर दाइ कांग्रेस-एमालेका लागि चुनौती बन्नुभएको छ ।’
शिक्षा, स्वास्थ्य र पर्यटनमा राम्रो काम गरेकै कारण भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा अरू पालिका ध्वस्त हुँदा सूर्योदयलाई युवाहरुले जोगाएको उनी दाबी गर्छन्।
‘दिगो विकासका लक्ष्यबारे लामो समयदेखि काम गर्दै आएको थिएँ। मलाई युवाहरूले साथ दिनुभएको छ। मान्छे उमेरले मात्रै युवा हुँदैन, विचार भावना र उसको कार्यशैलीले पनि हुन्छ। कयौँ पालिका भवन जल्दा सूर्योदय जोगियो । यहाँका स्थानीय र युवाहरूले राम्रो काम भएको ठानेरै जोगाए। मैले स्थानीय तहमा हुँदा जनगुनासो सम्बोधन गर्न घरदैलोसम्मै काम गरेको छु’, उनी भन्छन्, ‘सुशासनका क्षेत्रमा सूर्योदय ७५३ पालिकामध्ये दोस्रो भएको छ । जेन-जीको आन्दोलनलाई समर्थन गर्दै सुशासन हुनुपर्ने पक्षमा म उभिएको छु। मतदाताले पार्टी संगठन मात्रै हेर्दैनन्, व्यक्तिको काम र उसको शैलीको पनि मूल्यांकन गर्छन्।’
उनी घरदैलोमा जाँदा मतदाता उत्साहित रहेको दाबी गर्छन्। ‘तालमेलका लागि मैले कसैसँग छलफल चलाएको छैन । धेरै साथीहरूले तालमेल प्रस्ताव गर्नुभएको छ’, उनी भन्छन, ‘जनता मलाई साथ दिन उत्साहित छन्, यो नै सबैभन्दा ठूलो सफलता हो। राजनीति चेतना राम्रो भएकाले विकास र समृद्धिमा भोट आउनेछ । झूटो आश्वासन र जेन-जीको भावनाविपरीत यहाँका मतदाता जाँदैनन्।’
यता एमालेका काजीमानलाई पनि इमान्दार र तल्लो तहसम्म पुगेको नेता मानिन्छ । काजीमान २०७४ मा प्रदेशसभा सांसद भए । दोस्रो प्रदेश सभा निर्वाचनमा उनी बीचमै राजीनामा दिएर स्थानीय तहमा उठे तर हार्न पुगे।
सूर्योदय नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उनी रणबहादुरसँगै हारे। ‘मतदातासँगै भिजेर काम गरेका मलाई चिन्नुहुन्छ भन्ने कुरामा ढुक्क छु। पार्टीले कुनै गलत काम गरेको छैन। जनताका हरेक समस्यालाई जरासम्म पुगेर साथ दिँदै आएकाले जितमा शंका छैन,’ घरदैलोबाटै खबरहबसँग कुरा गर्दै काजीमान भन्छन, ‘एमालेको संगठन राम्रो हुनाले हामीलाई फाइदै छ, तर मतदाताका घरघर पुग्नुपर्ने चुनौती । अहिले उनीहरूलाई भड्काउने प्रयत्न भइरहेका छन् । मेरो इमान र जनविश्वासलाई शिरोपर गर्दै हिँडेको छु। जित निश्चित छ, हार्ने कुनै सम्भावना छैन।’
तर इलाम क्षेत्र नम्बर १ मा महेश बस्नेतलाई टिकट नदिएको कुराले भने यहाँ केही समस्या हुन सक्छ । त्यसको असन्तुष्टिले इलाम १ मा एमाले दुई धारमा जाने आकलन पनि धेरैले गरेका छन्।

एमालेलाई जवाफ दिनै कठिन
यद्यपि, पटक पटक एमालेलाई हेरे पनि विकास निर्माण र स्थानीय उत्पादनको बजारीकरणमा काम नगरेको नारासहित कांग्रेस र अन्य नेताहरू गाउँ पसेका छन्।
यो बेला दुवै क्षेत्रमा सुहाङ नेम्बाङ र काजीमान कागतेलाई मतदातासँग फेस गर्न केही समस्या देखिएको छ । सामाजिक सञ्जालको प्रयोग गर्ने र इन्टरनेटको पहुँचमा रहने इलामका मतदाताले एमाले तत्कालीन सरकारमा भएको बेला जेन-जी आन्दोलन भएको भन्दै नौजवानले अकालमा ज्यान गुमाउनु परेकोमा खबरदारी गरिरहेका छन् ।
एमालेको संगठन राम्रो भए पनि अध्यक्ष ओलीको कार्यशैलीका कारण नौजवानले ज्यान गुमाउनु परेको दुखेसो स्थानीयले पोख्ने गरेको एमाले संगठित सदस्य तथा इलाम बजारका व्यवसायी रञ्जिता गौतम बताउँछिन्।
‘एमालेको संगठन राम्रो छ। एमालेबाट उम्मेदवार रहेका सुहाङ र काजीमानजी स्थानीयस्तरमा भिजेरै काम गरेका नेता हुन् । तर आन्दोलनलाई लिएर एमाले र नेतृत्वमाथि प्रश्न उठेपछि उहाँहरूलाई मतदाताले घेरेका छन् ’, गौतम भन्छिन, ‘यस प्रश्नको जवाफ दिनु परिरहेका कारण एमालेका उम्मेदवारहरूलाई इलाममा निकै सकस देखिन्छ।’
इलामकै मतदाता खेम हुमगाईं पनि एमाले सरकारमा भएको बेला युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाउनु परेकाले जनताको उत्साह नदेखिएको दाबी गर्छन्।
अहिलेसम्म जित्दै आएको एमालेको किल्लालाई भत्काउन यहाँका स्थानीयहरू एकजुट भए यो पटक पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने हुमागाईंको दाबी छ।
‘निर्वाचन आउन अझै एक महिना बाँकी छ। तर पनि तत्कालीन सरकारमा रहेका बेला एमाले अध्यक्ष ओलीका कारण जेन-जी आन्दोलन भयो । त्यो आन्दोलनमा नौजवानले ज्यान गुमाउनु परेको भाष्य इलाममा पनि देखिन्छ’, उनले भने ।
हुमागाईंका अनुसार यस पटक समानुपातिक मत नयाँलाई जाने देखिन्छ । ‘नयाँका प्रभावशाली उम्मेदवार नहुनाले प्रत्यक्षमा पुरानै आउने अवस्था छ। तर जुन पहिले एमालेप्रति यहाँका जनताको उत्साह थियो, त्यो देखिँदैन’, उनी भन्छन्, ‘त्यसकारण झिनो मतान्तरले यहाँ हारजित हुने अवस्था छ। क्षेत्र नं १ मा नेकपाका उम्मेदवार पनि बलिया छन्।’













प्रतिक्रिया