काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो । गगन थापा नयाँ सभापति बने । ५६ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको मागबमोजिम आयोजित विशेष महाधिवेशनबाट चुनिएको कांग्रेसको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले पनि मान्यता दियो । यस गतिविधिबाट असन्तुष्ट तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला खेमाले भने गगन थापा नेतृत्वको नेतृत्वलाई अवैधानिक भन्दै अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा अदालतमा विचाराधीन छ ।
अदालतले चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने यो समूहको अपेक्षा देखिन्छ । यद्यपि त्यसो नभएको खण्डमा पनि उनीहरुले पार्टी टुक्र्याउने मनशाय भने राखेका छैनन् ।
‘अदालतमा विचाराधीन मुद्दामा फैसला जे आउँछ हामी त्यसमा विश्वास गछौँ । फैसला नआउँदासम्म भने चौधौँ महाधिवेशनलाई वैधानिक मानेर जाने हो,’ नाम खुलाउन नचाहेका एक चौधौँ महाधिवेशनका केन्द्रीय सदस्यले खबरहबसँग भने ।
सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित सबै सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका छन् । मंगलबार भने चौधौँ नियमित महाधिवेशन पक्षधरले कार्यसमिति बैठक तथा जिल्ला सभापतिसँग छलफल गरेको छ ।
‘निर्वाचन बिथोलिएको दोष आउँछ भनेर मात्रै हामी शान्त बसेका थियौँ । विशेषबाट आएको नेतृत्वलाई हामीले स्विकारेका छैनौँ । त्यसैले, निर्वाचनपछि सक्रिय रुपमा पूर्वतय गरिएका कार्यक्रम गरेका हौँ,’ ती नेताले भने ।
‘हामीले २० गतेसम्म लगातार बैठकका कार्यक्रम राखेका छौँ,’ उनले थपे, ‘जसमा पहिलो बैठकमा मंगलबार जिल्ला सभापतिहरूको भेला हुनेछ ।’
यो बैठकले निर्वाचन समीक्षा, पन्ध्रौ नियमित महाधिवेशन तयारी, परिवर्तित अवस्था र आगामी कार्ययोजना बारे छलफल तथा निर्णय गर्ने उनले सुनाए । ‘बैठकले निर्वाचन समीक्षा, पन्ध्रौँ नियमित महाधिवेशनको तयारीबारे विशेष छलफल गर्छ । बैशाखमा गर्ने भनेर तोकिएकै मितिमा गर्न सकिन्छ सकिँदैन भन्ने पनि बृहत छलफल हुन्छ । अनि हालको परिवर्तित अवस्था र आगामी कार्ययोजना बारे छलफल तथा निर्णय गर्नेछ । तर यो पार्टीको एजेण्डा भन्दा पनि सामान्य गफगाफबाट तय भएको कुरा हो,’ उनले भने ।
कार्यवाहक सभापति खड्काले गत कार्तिक १७ गते बैशाख २५ देखि २८ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने मिति तय गरेका थिए । त्यतिबेला गगन–विश्व समूहले निर्वाचनअघिनै महाधिवेशन गर्नुपर्नेमा दबाब बढाइरहेको थियो । उनीहरुको माग बेवास्ता गर्दै निर्वाचनमा असर पर्ने कारण देखाएर सभापति देउवाले उक्त मिति तोकेपछि कांग्रेस दुई धारमा बाँडिएको हो ।
‘सभापति देउवा सिंगापुरमा नै हुनुहुन्छ उहाँका बारेमा ठ्याक्कै सूचना अझै आएको छैन । आरजुजीको घुँडाको अप्रेशन भएको खबर पाएका छौँ,’ उनले जानकारी दिए ।
यतिबेला दुबै पक्षले समानान्तर गतिविधि चलाइरहेका छन् । गगन थापा नेतृत्वको कांग्रेसले निर्वाचन समीक्षा गर्दै पन्ध्रौँ महाधिवेशन मिति भदौका लागि तय गरिसकेको छ । कांग्रेसमा रस्साकस्सी चलिरहेका बेला पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे । थापा पक्षले भने सरकारलाई अनुसन्धानमा सघाउने भन्दै विरोधका कुनै कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।
आधिकारिकता विवादलाई थाँती राख्दै कांग्रेस चुनावमा होमिएको थियो । तर, पार्टी सभापति थापासहित सबै पदाधिकारी फराकिलो मतान्तरले पराजित भएपछि निर्वतमान सभापति देउवा पक्षले समानान्तर गतिविधि बढाएको हो ।
देउवाको गतिविधि निस्तेज पार्न थापा पक्षले १८ गते अर्थात् बुधबार दिउँसो १ बजे अनुशासन समितिको बैठक बोलाएको छ । यस अघिनै खड्काले यस्ता गतिविधि बढाएमा क्रियाशील सदस्य समेत नरहनेगरी कारबाही गरिने बताइएको थियो ।
तर पनि खड्का समूहले आफ्ना कार्यक्रम निरन्तर गरिरहने ती सदस्यले बताए । ‘जिल्ला सभापति भेलामा प्रदेश कार्यसमिति सभापतिलाई पनि बोलाइएको छ । उहाँहरुसँग पनि छलफल हुनेछ,’ उनले भने ।
विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् ।
तर, निर्वाचन पश्चात भने उनीहरुमध्ये थापा, यादव र बानियाँ कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा देखिएका थिए । त्यसपछिका बैठकमा उनीहरु निरन्तर सहभागी रहेका छन् ।
‘विशेष अधिवेशन हामी सबैले स्वीकार्दै उल्लासका साथ निर्वाचनमा गएका हौँ । यद्यपी त्यसमा भएका तमाम प्राविधिक कारणले नतिजा राम्रो आएन । अब भने भदौमा तोकिएको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्छ,’ सानेपा बैठकमा सहभागी बानियाँले भने ।
सभापति थापाले समन्वयात्मक भूमिका खेलेर अधिवेशनका लागि बाहिर रहेको पक्षलाई पनि सबै एक बनाएर लैजाने उनले आशा व्यक्त गरे । ‘विशेषबाट आएको सभापति र नियमित महाधिवेशनबाट आएको म पनि प्रदेश सभापति । हामी उहाँ मातहत निर्वाचनमा गयौँ । अकल्पनीय परिणाम आयो । कांग्रेस दोस्रो पार्टी बन्यो’ बागमती प्रदेश सभापति बानियाँले थपे, ‘निर्वाचनमा एकढिक्का भएर गएको कांग्रेस अहिले अदालतमा पनि छ । त्यसलाई विन–विन अवस्थामा लगेर मुद्दा निकालेर आम नेपाली काँग्रेस एकढिक्का भएर साझा रुपमा पन्ध्रौँ महाधिवेसनको लागि जुट्नुपर्छ ।’
जनताको अभिमतलार्य स्वीकारेर निर्वाचन अघि जसरी एक भएको थियो त्यस्तै हुनुपर्ने उनको भनाइ छ । संवादमार्फत कांग्रेस अझै फराकिलो भएर अघि बढ्न सभापति थापाले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
















प्रतिक्रिया