काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत १९ गते दिउँसो बस्ने गरी बोलाएको छ।
संसद् सचिवालयसँगको परामर्शपछि मन्त्रिपरिषद्ले चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक राख्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
संसद् सचिवालय र राष्ट्रपति पौडेलबीच पनि यसबारे परामर्श भएको थियो। सरकारको सिफारिससँगै अब राष्ट्रपति कार्यालयबाट संसद् आह्वानको सूचना आउनेछ ।
सरकारको निर्णयपछि राष्ट्रपति पौडेलले बैठक आह्वान गरेको पत्र पठाएलगत्तै सर्वदलीय बैठक डाक्ने तयारी सचिवालयले गरेको छ। राष्ट्रपति कार्यालयको पत्रको आएपछि संसद्का सबै ६ दलको बैठक राखिनेछ।
प्रतिनिधि सभाको पहिलो बैठक यस पटक बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छैन ।
‘अस्ति सांसदहरूलाई सपथ खुवाएकै ठाउँ बहुउद्देश्यीय हलमा यो पटकको बैठक सुचारु गर्ने प्रयत्न गरेका छौँ’, संसद सचिवालयका ती कर्मचारीले भने, ‘बानेश्वरको हल ध्वस्त भएर समस्या भएको छ । त्यसकारण नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमै तयारी गरिरहेका छौँ । त्यसको डेकोरेशनको काम अन्तिम चरणमा पुगेको छ ।’
यता प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि बहुउद्देश्य हलको निरीक्षण गरेर संसद् बैठक गर्दा उपयुक्त हुने जानकारी गराएको थियो । बहुउद्देश्यीय हलमा संसद् बैठक गर्न संसद् सचिवालय तयार छ ।
संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सकिएको ३० दिनभित्र संसद्को पहिलो बैठक बोलाउनुपर्छ । राष्ट्रपतिले संसद्को पहिलो बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
कार्यव्यवस्था परामर्श समिति गठन नभएकाले संसद् सचिवालयले सबै दलहरूलाई प्रतिनिधित्व हुने गरी सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ।
संसद् बोलाउनुअघि सचिवालयले सर्वदलीय बैठक बोलाएर कार्यसूची र एजेन्डा तयार गर्नेछ। संसद् सचिवालय स्रोतले भन्यो, ‘पहिलो बैठकमा जाने एजेन्डाहरूबारे सर्वदलीय बैठक बसालेर एजेण्डा तयार गर्छौं’, सचिवालय स्रोतले भन्यो, ‘कार्यव्यवस्था परामर्श समिति गठन नभइसकेकाले सर्वदलीय बैठक सचिवालयले नै बोलाउँछ। पत्रको तयारीमा छौं हाम्रो तर्फबाट गरिनुपर्ने काम लगभग टुङ्गिएको छ।’

सभामुख र उपसभामुख चयन तयारी
प्रतिनिधिसभाको पहिलो बैठकमै सभामुख र उपसभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ।
त्यो बैठकबाटै सभामुख र उपसभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी पार्टीले गरिरहेको शीर्ष तहले जानकारी दिएको छ।
‘पहिलो बैठकबाटै सभामुख र सभामुख चयन प्रक्रियाको एजेन्डा अगाडि बढाइन्छ’, पार्टी स्रोतले भन्यो,‘त्यही बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौं।’
संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र चयन गर्नुपर्ने प्रावधान छ ।
सभामुख र उपसभामुख चयन भइनसकेकाले संसदको जेष्ठ सदस्यले प्रतिनिधिसभाको बैठकलाई सञ्चालन गर्नुपर्ने हुन्छ ।
यसपटकको प्रतिनिधि सभाको बैठक जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सञ्चालन गर्दैछन् । २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जेष्ठ सदस्य पशुपति शमशेर जबराले पहिलो बैठक सञ्चालन गरेका थिए।
सभामुखका लागि सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डोलप्रसाद अर्याल (डीपी)को नाम अगाडि आएको छ। यस्तै प्रमुख सचेतकका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अगाडि सार्ने अवस्था छ।
प्रतिपक्षी दल नेकपा एमाले, नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीले संसदीय दलको नेता चयन गरेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाएको छ ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । दलगत सहमति जुटाउँदा सभामुख र उपसभामुख फरक पार्टीको राखिँदै आएको अभ्यास भने देखिन्छ । यसपटक रास्वपाले पनि सभामुख र उपसभामुख प्रतिपक्षी दललाई दिने गरि छलफल सुरु गरेको छ । तर यसबारे पार्टीका नेताहरू छलफलमै रहेकाले यसै भन्न सकिने अवस्था नरहेको बताउँछन्।













प्रतिक्रिया