सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत « Khabarhub

सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

याङ्गुन- म्यान्माको सैन्य नेतृत्वले सबै कैदीहरूको सजाय छ भागको-एक भाग घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुकीको नजरबन्द अवधि पनि छोटिन सक्ने सङ्केत देखिएको छ । बिहीबार घोषणा गरिएको यो सामूहिक सजाय कटौतीले देशको राजनीतिक अवस्थामाथि नयाँ बहस सिर्जना गरेको छ ।

राष्ट्रपति बनेका सैन्य प्रमुख मिन आङ ह्लाइङको कार्यालयले सार्वजनिक बिदाको अवसरमा कैदीहरूको बाँकी सजाय एक–छैटौँले घटाइने जनाएको हो । यद्यपि उक्त निर्णयमा कुनै पनि कैदीको नाम सार्वजनिक गरिएको छैन । तर नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) निकट एक स्रोतका अनुसार ८० वर्षीया सुकीले पनि यस कटौतीबाट लाभ पाउने बताइएको छ ।

सन् २०२१ को सैन्य ‘कू’ पछि नजरबन्दमा राखिएकी सुकीको वास्तविक बाँकी सजाय कति छ भन्ने अझै स्पष्ट छैन । एनएलडीका एक वरिष्ठ सदस्यले सुरक्षाका कारण नाम नखुलाउने सर्तमा सुकीको सजाय घटे पनि कति समय घट्यो भन्ने यकिन नभएको बताए । सैन्य नेतृत्वले पाँच वर्षअघि सुकीको निर्वाचित सरकार हटाउँदै सत्ता कब्जा गरेको थियो ।

त्यसपछि उनीमाथि विभिन्न आरोप लगाउँदै बन्द अदालतमार्फत मुद्दा चलाइएको थियो । भ्रष्टाचारदेखि कोभिड–१९ नियम उल्लङ्घनसम्मका अभियोगमा उहाँलाई तीन दशकभन्दा बढी कैद सजाय सुनाइएको थियो । पछि सन् २०२३ मा केही मुद्दामा आममाफी दिइएपछि उनको सजाय २७ वर्षमा झरेको थियो । पछिल्ला निर्णयहरूले भने उक्त सजाय क्रमशः घट्दै गएको सङ्केत दिएका छन् ।

यसअघि पनि मिन आङ ह्लाइङले यस्तै प्रकारको सामूहिक सजाय कटौतीको आदेश जारी गरेका थिए, जसले सुकीको सजाय थप घटाएको थियो । उक्त निर्णयसँगै सुकीका नजिकका सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि माफी दिइएको थियो । यसले सुकीको नजरबन्द अवस्था पनि क्रमशः खुकुलो हुन सक्ने अनुमानलाई बल दिएको छ । तर म्यान्माको न्याय प्रणाली अपारदर्शी रहेकाले सुकीले हालसम्म कति सजाय भुक्तान गरिसकेकी छिन् र अब कति समय घट्नेछ भन्ने विषय अझै अन्योलमै छ । राजनीतिक विश्लेषकहरूले यस अवस्थालाई सैन्य नेतृत्वको रणनीतिक कदमका रूपमा हेरिरहेका छन् ।

लोकन्त्रसम्बन्धी निगरानी संस्थाहरूले भने यस्ता कदमलाई वास्तविक सुधारभन्दा पनि सरकारको छवि सुधार्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् । उनीहरूका अनुसार सैन्य शासनले अन्तर्राष्ट्रिय दबाब कम गर्न यस्ता प्रतीकात्मक निर्णयहरू गरिरहेको छ । सुकी म्यान्माभित्र अझै पनि लोकप्रिय राजनीतिक व्यक्तित्वका रूपमा रहेकी छिन् ।

तर उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै परिवारले चिन्ता व्यक्त गर्दै आएको छ । उनलाई लामो समयदेखि बाह्य सम्पर्कबाट लगभग अलग राखिएको छ । यसबीच, म्यान्माको राजनीतिक सङ्क्रमण अझै अन्योलपूर्ण अवस्थामा छ, जहाँ सैन्य नेतृत्वका निर्णयहरूले सीमित सुधारको सङ्केत दिए पनि पूर्ण लोकतान्त्रिक पुनःस्थापनाको सम्भावना भने अस्पष्ट देखिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ५ : ५० बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना