ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो « Khabarhub

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएका पर्वतारोहीको खोजी तथा उद्धार अभियान जारी छ। शुक्रबारसम्म घटनास्थलबाट चारजनाको शव भेटिएको छ। तीमध्ये दुई जनाको परिचय खुलेको छ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अध्यक्ष मेजर जनरल इरफान अरशदका अनुसार मृतकमध्ये पहिचान भएकामा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ रहेका छन्। बाँकी दुईवटा शवको पहिचान नखुलाइएको पाकिस्तानको चर्चित अनलाइन डनले उल्लेख गरेको छ।

एसीपीका अनुसार हिमपहिरोमा परेको टोलीमा १० जना पर्वतारोही रहेका थिए। टोलीमा नेपालका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा, पाकिस्तानका सोहेल साखी, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस सहभागी थिए।

हिमपहिरो बिहीबार दिउँसो आएको थियो। त्यसयता निर्मल पुर्जासहित बाँकी आरोहीहरूको खोजी भइरहेको छ। यता नेपालस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेल (खडक राज) ले शुक्रबार चारवटा शव भेटिएको पुष्टि गरिसकेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे आफू नियमित रूपमा जानकारी लिइरहेको बताएका छन्। हालसम्म चार शव फेला परे पनि उनीहरूको राष्ट्रियता पुष्टि हुन बाँकी रहेको जानकारी उनले यसअघि नै दिएका थिए।

हेलिकोप्टरसहित उद्धार अभियान

एसीपीले पाकिस्तान सेनाका दुई उद्धार हेलिकोप्टर, विशेष तालिमप्राप्त उद्धारकर्मी तथा आवश्यक उपकरण परिचालन गरिएको जनाएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन एसीपी नेतृत्वले पाकिस्तान सरकार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ।

एसीपीका महासचिव अयाज शिग्रीका अनुसार हिमपहिरो आउनुअघि विभिन्न आरोहण टोलीले संयुक्त रूपमा शिखरतर्फ प्रस्थान गरेका थिए। बेपत्ता केही आरोहीबाट प्राप्त जीपीएस संकेतका आधारमा हिमपहिरोले टोलीलाई करिब एक हजार मिटर तलसम्म बगाएको अनुमान गरिएको छ।

उनले स्थानीय उच्च हिमाली भरियाहरू पनि हिमपहिरोबाट प्रभावित भएको आशंका व्यक्त गरेका छन्।

उद्धार तीव्र बनाउन निर्देशन

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेनले सम्बन्धित सबै सरकारी निकायलाई उच्च सतर्कतामा रहन र पाकिस्तान सेनासँग समन्वय गरेर खोजी तथा उद्धार अभियान तीव्र बनाउन निर्देशन दिएका छन्।

त्यस्तै, गिलगिट–बाल्टिस्तानका पर्यटन, खेलकुद तथा संस्कृति मन्त्री नैकनाम करिमले प्रदेश सरकारले बेपत्ता पर्वतारोहीलाई सकुशल उद्धार गर्न सबै सम्भव स्रोतसाधन परिचालन गरिरहेको बताएका छन्।

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा

४३ वर्षीय निर्मल पुर्जा बेलायतको ब्रिगेड अफ गोर्खाज र त्यसपछि रोयल मरीनको स्पेसल बोट स्क्वाड्रनमा सेवा गरेपछि पूर्णकालीन पर्वतारोहणमा लागेका थिए।

उनले सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। त्यसपछि सन् २०२१ मा नौ अन्य नेपाली आरोहीसँग मिलेर केटुको पहिलो सफल शीतकालीन आरोहण पनि गरेका थिए।

बेपत्ता पाकिस्तानी पर्वतारोही सोहेल साखी यसै वर्ष नेपालमा कञ्चनजंघाको सफल आरोहण गरेका थिए। उनले यसअघि केटु, नाङ्गा पर्वत, ग्यासरब्रुम–१ र ग्यासरब्रुम–२ समेत अक्सिजनबिना आरोहण गरी पाकिस्तानका उत्कृष्ट उच्च हिमाली आरोहीमध्ये आफ्नो पहिचान बनाएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : ५८ बजे

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका