काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहत वितरणको काम जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा ११ हजार ३७९ जनाको उद्धार गरिएको र ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सम्पर्कविहीनको संख्या निरन्तर घटबढ भइरहेको उनले बताएका छन् ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेको प्रधानमन्त्री शाहको भनाइ छ ।
प्रधानमन्त्री शाहले विपद्को समयमा प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत पर्वाह नगरी खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गरेका छन्।
उनले संघीय सरकारलाई प्रदेश तथा स्थानीय सरकारले दिएको सहयोग तथा मित्रराष्ट्र, स्वदेशी–विदेशी संघसंस्था र सञ्चारमाध्यमबाट प्राप्त सहयोगप्रति समेत आभार व्यक्त गरेका छन् ।

३ हजार ६९६ प्रभावितसम्म राहत
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरणलाई पनि प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन् ।
काठमाडौंलगायत देशका विभिन्न स्थानबाट संकलन गरिएको राहत सामग्री सुरक्षाकर्मीले हवाई तथा सडकमार्गमार्फत रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा पुर्याइरहेका छन् ।
प्रधानमन्त्रीका अनुसार प्रभावित तीन जिल्लाका चारवटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको छ ।
भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको उनले बताएका छन् ।
राहत कोषमा ५ अर्ब ८७ करोडभन्दा बढी
प्रधानमन्त्री शाहका अनुसार प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले जानकारी दिएका छन् ।
आर्थिक सहयोगका लागि विभिन्न देश तथा संघसंस्थाले प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्रीको भनाइ छ ।
त्रिशूलीपारिको सडक सञ्चालनमा
बाढीका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ ।
यससँगै प्रभावित क्षेत्रमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा पुल भत्किएकाले आवागमन प्रभावित भएको भन्दै सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको प्रधानमन्त्रीले बताएका छन् ।

सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटरको एउटा बेलिब्रिज रहेको छ । देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको जनाइएको छ ।
भारत सरकारले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको तथा थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताएका छन्। चीन सरकारले पनि ३० वटा बेलिब्रिज उपलब्ध गराउने तयारी गरेको उनले जानकारी दिएका छन् ।
रसुवामा ३० प्रतिशत, नुवाकोटमा ८५ प्रतिशत विद्युत् पुनःस्थापित
बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको काम पनि भइरहेको छ।
प्रधानमन्त्रीका अनुसार रसुवाका कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर ५ र ६ का केही क्षेत्र तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ।
जिल्लाका बाँकी क्षेत्रमा वैकल्पिक विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
नुवाकोटमा भने ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको र बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् पुर्याउने गरी काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
धादिङमा पनि ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। बाँकी क्षेत्रमा आगामी दुई दिनभित्र विद्युत् सेवा सञ्चालन गर्ने गरी काम भइरहेको जनाइएको छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा बीटीएस र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।
जलविद्युत् आयोजनामा पनि उद्धार जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजनामा कार्यरत केही जनशक्ति सम्पर्कविहीन भएको आशंका गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ।
रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। उक्त आयोजनाको सुरुङमा नेपाली र चिनियाँ उद्धार टोलीले खोजी गरे पनि मानिस नभेटिएपछि टोली फर्किएको जनाइएको छ।

लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगै भारतीय उद्धार टोली र नेपाली सहयोगीले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जना तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको प्रधानमन्त्रीले बताएका छन्। माथिल्लो त्रिशूली–१ को सुरुङमा भने खोजी जारी छ।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ९० जनाको टोली खोज तथा उद्धारमा परिचालित छ।
माथिल्लो त्रिशूली–३ बी आयोजना क्षेत्रबाट दुई जनाको उद्धार गरिएको छ। त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना, सौर्य आयोजनाबाट चार जना र देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार गरिएको छ।
९३९ जनाको शव फेला
बाढीका कारण मृत्यु भएका तथा पहिचान हुन नसकेका व्यक्तिको शव वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ।
पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने काम भइरहेको उनले बताएका छन्। पहिचान गर्न नसकिने शवबाट डीएनए लगायत भविष्यमा पहिचान गर्न आवश्यक प्रमाण सुरक्षित राखिने जनाइएको छ।
पुनःस्थापनाको तयारी
सरकारले खोज तथा उद्धारसँगै बाढी प्रभावित नागरिकको पुनःस्थापनाका लागि समेत तयारी अघि बढाएको प्रधानमन्त्री शाहले बताएका छन्।
स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको छ।
प्रधानमन्त्री शाहले हजारौँ नागरिकले घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएको उल्लेख गर्दै उनीहरूलाई सामान्य जनजीवनमा फर्काउने गरी पुनःस्थापनाको काम अघि बढाइने बताएका छन्।
उनका अनुसार प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत भइरहेको छ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीलाई हिमालय क्षेत्रमा आएको ठूलो विपद्का रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बढ्दो जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता समेत औँल्याएका छन्।












प्रतिक्रिया