एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब १० करोड अमेरिकी डलर बराबरका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको निर्णय गरिएको हो । यसको सम्पूर्ण खर्च युरोपेली साझेदार राष्ट्र र क्यानडाले बेहोर्नेछन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग प्याट्रियट क्षेप्यास्त्रको आपूर्ति छिटो गर्न पटक–पटक आग्रह गर्दै आउनुभएको थियो । पछिल्ला महिनामा क्षेप्यास्त्र आपूर्तिमा ढिलाइ भएको युक्रेनले जनाएको थियो ।
रुसका घातक ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिन्छ । रुसको निरन्तर हवाई आक्रमणको सामना गरिरहेको युक्रेनका लागि यसको आपूर्ति महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच पछिल्लो समय तनाव बढिरहेका बेला क्षेप्यास्त्र बिक्रीको निर्णय आएको हो । केही दिनअघि ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने प्रयासका लागि युक्रेनमा नयाँ नेतृत्व आवश्यक रहेको टिप्पणी गर्नुभएको थियो ।
शुक्रबार जारी अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो खरिदका लागि क्यानडा, जर्मनी र नर्वेबाट प्राप्त सहयोग तथा युरोपेली सङ्घको ‘युक्रेन सपोर्ट लोन’ अन्तर्गतको राष्ट्रिय कोष प्रयोग गरिनेछ ।
यस बिक्रीको मुख्य ठेकेदार अमेरिकी कम्पनी लकहिड मार्टिन रहनेछ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीमा अमेरिकी सरकारको कुनै पनि आर्थिक लगानी नहुने स्पष्ट पारेको छ ।














प्रतिक्रिया