काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम), सल्यान, दैलेख, झापा र मकवानपुरमा भएका छवटा दुर्घटनामा आठ जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–२ सेतोपुलस्थित हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो ट्रकले मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ भलवाडीका ४० वर्षीय पोषकान्त पोखरेल घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटे खोलास्थित सडकबाट जिप करिब १५० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउनी रोकायको मृत्यु भएको हो ।
सल्यानकै बागचौर नगरपालिका–११ गरा क्षेत्रमा खलंगा–बालुवा सडकखण्डमा डबल क्याब बोलेरो सडकबाट करिब १०० मिटर तल खस्दा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको छ । घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ समला टोल नजिकै बोलेरो पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बेलपाटा निवासी २९ वर्षीय जुने विक घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
झापाको कमल गाउँपालिका–५ साबित्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–८ का २८ वर्षीय सागर तिम्सिनाको मृत्यु भएको छ । घाइते भएका उनको कनकाई नगर अस्पताल सुरुङ्गामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–५ तिनतले फार्स्याटारमा ट्रक दुर्घटना हुँदा चालक सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४० वर्षीय रमेश कुमार रायमाझीको घटनास्थलमै मृत्यु भएको छ ।
सबै दुर्घटना शुक्रबार भएका हुन् ।














प्रतिक्रिया