गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्याउन नसकेर बारीमै कुहिने समस्या भोग्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाएका छन् ।
मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा कृषि उपजको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका थिए ।
स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज समयमै बजार पुर्याउन कठिन हुने गरेको छ । जसका कारण उत्पादनले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री नभई बारीमै कुहिएर जाने गरेको छ ।
किसानले गरेको मेहनतअनुसार आम्दानी लिन नसकेको भन्दै स्थानीयले पुल निर्माणलाई प्राथमिकतामा राख्न गृहमन्त्रीसँग आग्रह गरेका थिए । पुलको अभावले कृषि उपजको बजारीकरणसँगै स्थानीयको दैनिक आवागमनमा समेत समस्या हुँदै आएको उनीहरूको भनाइ छ ।
स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले पुल निर्माणसँगै स्थानीयले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे।
पक्की पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । यसले कृषि उत्पादनको बजारीकरण र किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।














प्रतिक्रिया