उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ? « Khabarhub

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?



काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म कूटनीति क्षेत्रका व्यक्ति र केही औपचारिक भेटघाटमा मात्रै सीमित रहेका थिए । तर, अघिल्लो साताबाट भने प्रधानमन्त्री शाहले औद्योगिक व्यावसायिक क्षेत्रका प्रतिनिधिसँगको भेटघाटलाई निकै तीव्रता दिएका छन् ।

असारको २४ गतेबाट निजी क्षेत्रसँग भेटघाट सुरु गरेका उनले बिहीबारसम्म विभिन्न ८ वटा क्षेत्रका नेतृत्व तथा प्रतिनिधिहरूसँग भेटघाट गरे । 

असार २४ गते प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका नेतृत्व र प्रतिनिधिलाई बोलाएर लगानीको वातावरण र व्यवसायको अवस्थाको बारेमा छलफल गरेका थिए । त्यस्तै, उनले २५ गते निर्माण व्यवसायी, २६ गते उर्जा उत्पादक, ३० गते विश्वविद्यालयका उपकुलपति, ३१ गते होटल संघ र असार ३२ गते महिला उद्यमीसँग छलफल गरे । 

असारको अन्तिम साता सुरु गरेको छलफललाई निरन्तरता दिँदै प्रधानमन्त्री बालेनले साउन १ गते जुत्ता उत्पादक, ४ गते पुँजी बजार र बिमा सरोकारवाला र साउन ६ गते नेपाल हस्तकला महासंघका नेतृत्व तथा प्रतिनिधिसँग छलफल गरे । त्यस्तै, उनले बिहीबार आज अर्गानिक संघका पदाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको भेटघाटमा सबै क्षेत्र आशातित

प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग भेटघाट गर्दा भेटमा सहभागी सम्बन्धित क्षेत्रका सबै व्यक्तिले सकारात्मक प्रतिक्रिया दिएका छन् । भेटघाटपछि सबैजसो प्रतिनिधिले आफ्ना विषय प्रधानमन्त्रीले राम्रोसँग सुनेको र समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिक्रिया दिए ।

वर्तमान सरकार बनिसकेपछि केही ठूला व्यवसायी र उद्योगीमाथि सरकारले सम्पत्ति शुद्धीकरण, कर छली लगायतका विषयमा अनुसन्धान भइरहेको छ । जुन विषयले निजी क्षेत्र नै तरंगित भएको छ । सोही बेलामा प्रधानमन्त्री निजी क्षेत्रसँग छलफल गर्दा उद्योगी व्यवसायी सकारात्मक भएका छन् ।

उद्योग वाणिज्य महासंघ, चेम्बर र परिसंघका पदाधिकारी र प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले के कारणले गर्दा निजी क्षेत्रको मनोबल खस्केको छ र यी कुराहरूलाई कसरी समाधान गर्ने भनेर व्यापक छलफल भएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले बताएका थिए । 

‘निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो, अहिलेसम्म जे जस्तो भयो अन्तरक्रियालाई पनि निरन्तरता दिने र निजी क्षेत्रले चाहेका सुझावहरू टु दि प्वाइन्ट ल्याइदिएमा त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भनेर उहाँले निजी क्षेत्रको मनोबल बढाउन सकिन्छ भनेर धेरै उत्साही बनाउनुभएको छ’, अग्रवालले भनेका छन् ।

वर्तमान सरकार बनेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै ४ सय अंकले घट्न पुगेको थियो । यतिमात्रै नभएर पछिल्लो दिनमा पुँजीबजारका केही लगानीकर्ता नेपाल धितोपत्र बोर्डको कार्यालय नै घेर्न पुगेका थिए । तर, सोही बीचमा प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर छलफल गर्न लागेपछि भने त्यसको सकारात्मक प्रभाव नेप्सेमा देखिएको छ ।

पुँजीबजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले प्रधानमन्त्रीसँग पुँजीबजारको क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको बताएका छन् । पुँजीबजारको क्षेत्रमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले गर्नुपर्ने कामको बारेमा छलफल भएको बताए । 

छलफलमा प्रधानमन्त्रीले पुँजीबजारको विकास र लगानीकर्ताको आत्मविश्वासका लागि प्रधानमन्त्री कार्यालयले पनि काम गरिरहेको र गर्ने विश्वास दिलाएका थिए ।

बुधबार प्रधानमन्त्रीसँग हस्तकला महासंघका पदाधिकारीले छलफल गर्दा हस्तकला विकास बोर्ड निर्माण गर्ने, नयाँ नीति तर्जुमा गर्ने, लगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि महांसंघका पदाधिकारीले आफूहरू निकै उत्साही भएको र मुलुक परिवर्तनतर्फ लागेको हो कि भन्ने आभास भएको प्रतिक्रिया महासंघका अध्यक्ष रविन्द्र शाक्यले दिए ।

त्यस्तै, तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले पनि प्रधानमन्त्रीले गरेको छलफल निकै सराहनीय काम भएको बताए । उनले प्रधानन्त्रीले सरकार मध्यस्थतामात्रै भएको र सो क्षेत्रमा चुनौती के छ भन्ने विषयमा बुँदागत रूपमा छलफल गरेको बताए । 

साथै, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्रीले सीमाबाट चोरी पैठारी भएर आउने समस्यालाई सम्बोधन गर्ने र अन्य समस्यालाई पनि सम्बोधन गर्ने बताएका थिए ।

तर, प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरूसँग गरेको श्रृंखलाबद्ध छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भने सहभागी गराएनन् । जसले प्रधानमन्त्रीको पहल कार्यान्वयनमा आशंका पनि पैदा गराएको छ ।

‘तेस्रो त्रैमासिकबाट नेपालको अर्थतन्त्र बुस्ट हुन्छ’

पछिल्लो समयमा प्रधानमन्त्रीले लिएको पहललाई लिएर आर्थिक क्षेत्रका विश्लेषक तथा अर्थविद् अनलराज भट्टराईले पनि आशालाग्दो भनेर टिप्पणी गरेका छन् । खबरहबसँग कुरा गर्दै भट्टराईले सरकार बनेको तीन महिनासम्म सरकार र निजी क्षेत्र भन्ने भिन्नै–भिन्नै जस्तो देखिएकोमा प्रधानमन्त्री गरेको संवाद सुरुवात निकै सकारात्मक भएको बताए ।

‘पछिल्लो तीन महिना सिँहदरबार र व्यापार व्यवसाय अलग–अलग हिसाबले हिँडेको जस्तो देखिन्थ्यो, प्रधानमन्त्रीले तीन महिनामा आफूले पनि धेरै विषय बुझ्नुभयो होला, त्यसको लागि पनि समय लाग्छ’, उनले भने, ‘त्यसपछि जसरी अहिले उहाँले भेटिरहनुभएको छ, सरकारले १६० भन्दा धेरै कानुन परिवर्तन गर्छौं भनेको छ, त्यो सन्दर्भमा पनि उहाँले यसरी छलफल गरेको निकै राम्रो हो, अब मिटिङहरू अझ बढी बढाउँदै लैजानुपर्छ ।’

अर्थविद् भट्टराईले अझ प्रधानमन्त्रीले विशेष क्षेत्रगत आधारमा प्रधानमन्त्रीले गरेको भेटघाट थप महत्वपूर्ण र अर्थपूर्ण देखिएको बताए । 

‘यो सूचना संकलन पनि हुन्छ, जुन निकै सकारात्मक काम हुन्छ, अर्को चाहिँ नीति निर्माण गर्न सहजीकरण पनि हुन्छ, बीचमा यस्तो भेटघाट भएन भन्दापनि अब सुरुवात भएकोमा निकै राम्रो मान्नुपर्ने हुन्छ’, उनले भने ।

‘देशमा पैसा पनि प्रशस्त छ, मुद्रा स्फिति पनि छ, तर, लगानीको वातावरण बन्न सकेको छैन’, उनले भने, ‘मलाई के लाग्छ भने अब तेस्रो त्रैमासिक अवधिबाट नेपालको अर्थतन्त्रले राम्रो गति लिन्छ, अब तीन महिना नियामकीय सुधारमा लाग्ला, अर्को त्रैमासिक अवधिमा दशैं तिहार सुरु हुन्छ, त्यसपछि हाम्रो अर्थतन्त्रले राम्रो गति लिन्छ ।’

अबका दिनमा भने सरकारले ढिलो नगरी काम गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ४ : ४८ बजे

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी