काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने निर्णय भइसकेको छ। यसअघि २०८१ असार १७ गतेदेखि कांग्रेससँग केन्द्रीय गठबन्धनमा रहेको एमालेले प्रदेशमा नेकपासँग अंगालो हालेको हो । तर एमाले नेकपासँग मिलेर जाँदा भागमा पाउने तीनवटै प्रदेशका वर्तमान मुख्यमन्त्री फेर्ने तयारी गरेको छ।
कोशीमा ओलीकै गृहजिल्ला झापाका पार्टी सचिव हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा छन्। तर ओलीले उनको विकल्पमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी गरेका छन्। एमाले सांसद मेन्याङ्बोसँग ओलीले आइतबार बिहान छलफल गरेका थिए।
ओलीसँगको छलफलपछि उत्साहित तिलकुमार आफूले मुख्यमन्त्रीको जिम्मेवारी आउने विषयमा ढुक्क रहेको खबरहबसँग बताउँछन्। तर हिक्मतकुमारले मुख्यमन्त्री नछोड्ने अडान ओलीसमक्ष राखेकाले समस्या भएको छ। हिक्मत आफू मुख्यमन्त्रीबाट हट्नुपर्ने एमाले सचिवालयबाट निर्णय हुनुपर्ने पक्षमा छन् ।
बागमतीमा पनि किचलो
एमालेले बागमतीमा पनि मुख्यमन्त्री पाउने भएको छ। मुख्यमन्त्री पाउने भएपछि यहाँ तीन जना दाबेदार देखिएका छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेशमा सत्ता बाँडफाँट हुँदा बागमती प्रदेश पनि एमालेको भागमा परेको हो।
सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएसँगै एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, किरण थापा मगर र पूर्वमन्त्रीसमेत रहेका केशवप्रसाद पोखरेलले मुख्यमन्त्रीमा आकांक्षा गरेका छन्। तीनै नेताहरू मुख्यमन्त्रीका लागि ओली र उनीनिकट नेताहरूसँग छलफलमा छन्।
विगतमा कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्र बानियाँको कार्यकाल सकिएपछि दलका नेता जगन्नाथ मुख्यमन्त्री बन्ने सर्त थियो। त्यसैकारण उनी मुख्यमन्त्री पाउनुपर्ने पक्षमा छन्। तर संसदीय दलको नेता नै फेरेर मगर वा थपलियालाई अगाडि सार्ने तयारी ओलीले थालेको जानकारी आएपछि समस्या उत्पन्न भएको छ।
मुख्यमन्त्रीको विषयमा केन्द्रीय नेतृत्वले निर्णय गरिनसकेको एमालेका नेताहरू बताउँछन्। ओलीनिकट ती नेताहरू छलफल चलिरहेको दाबी गर्छन्। शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीचको सहमतिअनुसार एमालेले कोशी, लुम्बिनी र बागमतीको नेतृत्व गर्ने भएको छ।
थपलिया भने नेतृत्वले न्यायोचित ढंगले आफूलाई जिम्मेवारी दिनेमा ढुक्क रहेको बताउँछन्। ‘यसअघिको सहमतिअनुसार नै मेरो भागमा पर्ने थियो। म ढुक्क छु, उहाँहरूले जिम्मेवारी दिनुहुन्छ,’ उनले भने, ‘साथीहरूले इच्छा राख्न पाउनुहुन्छ। उहाँहरूप्रति सम्मान छ। तर यसपटक मलाई अवसर दिनुहुनेमा विश्वस्त छु।’
लुम्बिनीमा पनि उस्तै
लुम्बिनीमा अहिले एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन्। केन्द्रीय नेतृत्वले उनको पनि विकल्प खोज्ने तयारी गरेको छ।
उनको साटो अहिले लुम्बिनीको मुख्यमन्त्रीमा दुई जनाको नाम आएको छ। पूर्वमुख्यमन्त्री लीला गिरी र यसअघि भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालकोबारे केन्द्रमात्व छलफल चलिरहेको छ।
यी सबै नेताहरूले काठमाडौंमा अध्यक्ष ओलीनिकट नेताहरूसँग आफू मुख्यमन्त्री बन्नुपर्ने माग उठाइरहेका छन्। स्रोतका अनुसार वर्तमान मुख्यमन्त्रीले समेत ओलीलाई भेटेर विभिन्न कारण देखाउँदै विकल्प नखोज्न आग्रह गरेका छन्। तर पूर्वमुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री ढकालले पनि दाबी प्रस्तुत गरिरहेका छन्।
ढकालले दुवै नेताहरू यसअघि नै मुख्यमन्त्री भइसकेकाले यसपटक आफूलाई अवसर दिनुपर्ने भन्ने रहेको छ। ओलीले ढकाल र गिरीमध्ये एकलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।
टुंगो भएको छैन : ओली सचिवालय
एमाले अध्यक्ष ओलीको सचिवालय सदस्य निरु पाल कस-कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय भइनसकेको बताउँछिन्। केन्द्रको निर्णयअनुसार प्रदेशमा सहकार्य हुने विषय टुंगो लागे पनि कसलाई पठाउने भन्ने छलफल जारी रहेको उनको भनाइ छ।
‘कसलाई पठाउने भन्ने विषयमा निर्णय भइसकेको छैन। छलफल जारी छ,’ पालले भनिन्, ‘नेतृत्वहरूबीच गम्भीर छलफल र बहस हुन्छ।’
स्रोतका अनुसार ओलीको रोजाइमा कोशीमा तिलकुमार र बागमतीमा जगन्नाथ छन्। लुम्बिनीमा अझै निर्णयमा पुगिसकेका छैनन्। लुम्बिनीबारे नेताहरूबीच मतभेद रहेकाले अझै अलमलको अवस्था छ।
एमाले नेता प्रदीप ज्ञवाली पनि नेतृत्वको विषयमा कुनै टुंगो नलागेकाले अहिले मुख्यमन्त्री परिवर्तन हुन्छन् भन्ने जानकारी मात्रै भएको बताउँछन्। ‘मुख्यमन्त्री परिवर्तन हुन पनि सक्छ, तर सबै कुरा टुंगो लागेको छैन,’ ज्ञवालीले खबरहबसँग भने, ‘अबको एक साताभित्रमा टुंगो लाग्ला।’
सचिवालयका धेरै जना नेताहरू भने तीन प्रदेशको नेतृत्वको विषयमा सचिवालयमा छलफल हुनुपर्ने पक्षमा छन्। ‘पार्टी सचिवालयमा यसबारे छलफल भएको छैन। नेतृत्वले मात्रै चाहेर प्रदेश सरकार गठन हुँदा समस्या उत्पन्न हुन सक्छ,’ पार्टीका एकजना उपाध्यक्षले भने, ‘पार्टीभन्दा नेतृत्व हावी हुने कारण हामी यो अवस्थामा खुम्चिएका हौँ। नेतृत्वले कार्यशैली सुधारोस्।’
यो साताभित्रै ओली र प्रचण्डले प्रदेश सरकार गठन गरिसक्ने तयारी गरे पनि मधेस र गण्डकीको हकमा भने सम्भावना नरहेको देखिन्छ। मधेसमा मधेसी दललाई नेतृत्व दिने विषयमा लगभग ओली र प्रचण्ड तयार रहँदा गण्डकीमा नेकपाले नेतृत्व पाउनुपर्ने आवाज उठेको छ। यी दुवै प्रदेशमा अन्य दलहरूसँग छलफल गरेर टुंग्याउने सहमति भएको ओलीको सचिवालय बताउँछ।
नेकपा पनि छलफलमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिममा संसदीय दलका नेता खगराज भट्टलाई अगाडि सार्ने तयारी गरेको प्रचण्डको सचिवालय बताउँछ। प्रचण्डले आफूले पाएका कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्रीबारे छलफल गरिरहेका छन्।
यसअघि यहाँ कांग्रेसबाट कमलबहादुर शाही मुख्यमन्त्री थिए। पूर्वसभापति शेरबहादुर देउवानिकट रहेका उनी पदबाट राजीनामा दिने तयारीमा छन्। सुदूरपश्चिममा कांग्रेस–एमाले विवादका कारण बजेट पारित हुन सकेको छैन। त्यसकारण खगराजलाई अगाडि सार्ने सहमति जुटिसकेको छ।
कर्णालीमा मङ्गलबहादुर शाही मुख्यमन्त्री बन्ने लगभग निश्चित छ । त्यहाँ यसअघि एमालेबाट यामलाल कँडेल मुख्यमन्त्री थिए। उनले शनिबार पदबाट राजीनामा दिइसकेका छन्। उनीविरुद्ध नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएपछि शनिबार राजीनामा दिएका थिए।
नेकपाले नेतृत्व दिने विषयमा पार्टीभित्र कुनै पनि विवाद नरहेको प्रष्टीकरण प्रचण्डको सचिवालयले दिएको छ। तर माधव नेपाल पक्ष भने मौन छ। सुदूरपश्चिम र कर्णालीमध्ये एउटामा पनि माधव नेपाल पक्षले मुख्यमन्त्री नपाएको भन्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेश शाही असन्तुष्ट छन्।












प्रतिक्रिया