पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’ « Khabarhub

पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी प्रभावकारी बनाउन पत्रकार अनु आचार्यले सरकारसँग हारगुहार गरेकी छिन्।

उनले टिमुरेदेखि घट्टेखोला हुँदै रसुवागढीसम्मको सडक आसपासका जंगल, खोल्सा तथा कुनाकाप्चामा समेत खोजी गर्न आग्रह गरेकी हुन्।

आचार्यले सामाजिक सञ्जालमार्फत टिमुरेदेखि माथि घट्टेखोला हुँदै रसुवागढीसम्मको क्षेत्रमा केही मानिस अड्किएको हुनसक्ने जानकारी आएको भन्दै हेलिकप्टरबाट उद्धारकर्मी परिचालन गरी ड्रोनमार्फत सम्भावित स्थानको खोजी गर्न सम्बन्धित निकायसँग पटकपटक आग्रह गरेको बताएकी छिन्।

तर, सम्बन्धित निकायबाट ‘सबैतिर टोली खटिएका छन्, काम भइरहेको छ, त्यही क्षेत्रमा पुग्न सकिएन’ भन्ने जवाफ आउने गरेको उनको भनाइ छ। उनले आफ्नो भाइ मात्रै नभई उक्त क्षेत्रमा अन्य व्यक्ति पनि अचेत अवस्थामा फसेका हुनसक्ने भन्दै खोजीमा ढिलाइ नगर्न आग्रह गरेकी छिन्।

आचार्यका अनुसार टिमुरेमाथि घट्टेखोला र रसुवागढी क्षेत्रमा रहेका कतिपय मानिस अझै सम्पर्कमा छैनन् । आफन्तहरूले उक्त क्षेत्रको अवस्थाबारे समेत पर्याप्त जानकारी पाउन नसकेको उनले बताएकी छिन्।

‘त्यता भएका एक जना पनि सम्पर्कमा छैनन् भन्ने आएको छ। केही भिडियोहरू हेर्दा कहालीलाग्दो छ,’ उनले भनेकी छिन्, ‘आफन्तहरूको आशा न हो, कतै जीवितै भेट्न सकिन्छ कि !’

आचार्यले बाढीबाट ज्यान जोगाउन केही मानिस माथिल्लो जंगलतर्फ भागेको र कोही अचेत अवस्थामा रहेको सूचना आएको समेत बताएकी छिन्। यस्तो सूचना पाएपछि सम्बन्धित निकायलाई जानकारी गराउँदा प्रमाण मागिने गरेको उनको गुनासो छ।

‘एउटा मान्छे यस्तो ठाउँमा छ रे भनेर जानकारी आयो, लौ न हजुर के गर्ने भन्दा भ्रामक हल्ला फैलायो भनेर कसरी भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरेकी छिन् ।

प्राकृतिक विपत्तिको समयमा आफूहरू भ्रामक सूचना फैलाउने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सम्भावित जोखिममा रहेका मानिसको जीवन बचाउन प्राप्त सूचनाको तत्काल स्थलगत प्रमाणीकरण गर्नुपर्ने बताएकी छिन्।

पत्रकार अनु आचार्यका बेपत्ता भाइ

सम्बन्धित निकायलाई एकपटक घट्टेखोला, रसुवागढी आसपासका जंगल, खोल्सा र कठिन भूभागमा ड्रोन तथा अन्य प्रविधिको प्रयोग गरेर व्यवस्थित खोजी गर्न उनको आग्रह छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेन्सन गर्दै आचार्यले आफ्नो भाइ रसुवाको घट्टेखोला क्षेत्रमा सडकबाट करिब डेढ किलोमिटर माथिको जंगल तथा खोल्सामा अचेत अवस्थामा रहेको जानकारी आएको बताएकी छिन्। उनको आग्रह छ, ‘कृपया सम्बन्धित निकायले मेरो भाइको उद्धारका लागि पहल गरिदिनुहोस् ।’

आचार्यले अझै पनि आफ्नो भाइ जीवितै फर्किने आशा रहेको बताउँदै सम्भावित स्थानमा खोजी तीव्र पार्न सरकारसँग आग्रह गरेकी छिन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ९ : १८ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको