काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
उनले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्दै नेतृत्व छाड्न अस्वीकार गरका छन्।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजय र गत वर्ष भदौ २३ र २४ का घटनाहरूको गम्भीर समीक्षा गर्दै अध्यक्ष ओलीले यसलाई निराशामा बदल्न नभई कठोर आत्मसमीक्षा, सङ्गठनात्मक पुनर्निर्माण र पुनर्जागरणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
प्रतिवेदनमा बाह्य घेराबन्दी, डिजिटल चरित्रहत्या र आन्तरिक कमजोरीका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले मुलुकमा देखिएको संवैधानिक सङ्कट, लोकतन्त्रमाथिको दीर्घकालीन प्रभाव तथा भूराजनीतिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
यसका साथै, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी निर्वाचनको तयारीलाई पार्टीको मुख्य कार्यभारका रूपमा अघि सार्दै एमाले फेरि जनताको विश्वास र कामको बलमा उठ्ने दृढ अङ्कलप व्यक्त गरिएको छ।
फागुन २१ को निर्वाचनमा पराजय र भदौका घटनाहरूको ओलीले बहुआयामिक समीक्षा गरेका छन् । अध्यक्ष ओलीले निर्वाचनको परिणाम र भदौ २३–२४ का घटनाहरूलाई सामान्य रूपमा लिन नहुने बताउँदै यसलाई बाह्य प्रहार, डिजिटल आक्रमण र आन्तरिक कमजोरीको संयुक्त परिणामका रूपमा व्याख्या गरेका छन्।
प्रतिवेदनमा आफूलाई नेतृत्व छाड्न दिइएको दबाब र त्यससम्बन्धी उठाइएका कुराहरूबारे ओली आक्रोशित छन्।
प्रतिवेदनको ‘९. के हो पुनर्गठन?’ भन्ने खण्डमा ओलीले यतिबेला केही व्यक्तिहरूले आफूलाई अध्यक्षबाट विस्थापित गर्ने मनशाय र प्रयासस्वरूप ‘बेमौसमी बाजा बजाइरहेको’ र त्यसका लागि ‘पुनर्गठन’को नारा उछालिरहेको उल्लेख गरेका छन्।
तर, पार्टीको इतिहासमा गरिएका वास्तविक पुनर्गठनहरू ( जस्तै: २०२१ साल, २०२७-२८ साल र २०७५ सालका बाध्यकारी परिस्थितिहरू) र अहिले चलाइएको हल्लाको कुनै औचित्य र मेल नखाने उनको तर्क छ।
उनले आफू पदको निजी प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, सङ्गठनात्मक स्थिरता र सुरक्षित राजनीतिक सङ्क्रमणका लागि उभिएको बताएका छन्।
गल्ती देखेर पनि नदेखेजस्तो गर्ने नेतृत्व कमजोर हुने तर गल्ती स्वीकार गरेर सुधार गर्ने नेतृत्वले मात्रै सङ्गठनलाई अगाडि लैजान सक्ने बताउँदै उनले आफू आत्मसमर्पणको होइन, आत्मसमीक्षाको भाषा बोल्ने उल्लेख गरेका छन्।
प्रतिवेदनको अर्को खण्डमा ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’ का बारेमा कुरा गर्दै अध्यक्ष ओलीले ‘हस्तान्तरण’ भनेको पद खाली गर्ने आकस्मिक र मनमौजी घटना नभई संस्थागत तयारीका साथ जिम्मेवारी, ज्ञान र अनुभवको योजनाबद्ध हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन्। उनले उमेरको अङ्गणित मात्रै योग्यता नहुने र संस्थागत तयारीबिनाको हस्तान्तरणले पार्टीमा रिक्तता पैदा गर्न सक्ने चेतावनी दिएका छन्।
युवाहरूको वास्तविक असन्तोष र राज्यका कमजोरीलाई स्वीकार गरिए पनि भीडको शक्ति प्रयोग गरेर संवैधानिक संरचनामाथि गरिएको हिंसात्मक आक्रमण तथा तोडफोडलाई वैध राजनीतिक माध्यम मान्न नसकिने निष्कर्ष उनले निकालेका छन्।
उनले राष्ट्रिय स्वाधीनता, सन्तुलित कूटनीति र भूराजनीतिक संवेदनशीलताबारे गम्भीर चासो राखेका छन्। विश्व राजनीति तीव्र परिवर्तन र तरल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएकोप्रति सचेत गराएका छन्।
राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता र सन्तुलित कूटनीतिक सम्बन्धलाई एमालेको मुख्य नीति बनाउनुपर्नेमा जोड दिँदै प्राकृतिक स्रोतमाथि नेपाली जनताको अक्षुण्ण सार्वभौम अधिकार रहेको स्पष्ट पारिएको छ।
पार्टी पुनर्निर्माणका लागि १५ प्रमुख कार्यभार र पुनर्जागरणको बाटोपार्टीलाई गतिशील बनाउन ‘सत्य जनतासम्म’, ‘जनहितकेन्द्रित प्रतिपक्ष’, ‘डिजिटल पुनर्निर्माण’, र ‘युवा नेतृत्वको वास्तविक निर्माण’ लगायतका १५ वटा प्रमुख संगठनात्मक कार्यभारहरू अघि सारिएका छन्।
नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणलाई संस्थागत परिपक्वताका रूपमा लिँदै पार्टीभित्र खुला संवाद र अनुशासनको सन्तुलन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न सबै पङ्क्तिलाई एकजुट हुन आह्वान गरिएको छ।
















प्रतिक्रिया