काठमाडौं- नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गरेको आफ्नो पुरानो अभिव्यक्तिप्रति पश्चात्ताप गरेका छन्।
सोमबार ललितपुरको भनिमण्डलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै श्रेष्ठले समय बदलिएकाले आफूले विगतमा दिएको उक्त अभिव्यक्तिको सान्दर्भिकता समाप्त भएको बताएका हुन्।
‘केपी ओली इज केपी ओली, फुटबलको पेले जस्तै भनेको हुँ। हाम्रा श्रद्धेय अध्यक्षलाई कठालो समातेर सडकमा पछार्ने सपना नदेखे हुन्छ, यो दुनियाँमा कोही माइकालाल जन्मेको छैन भन्ने मान्छे मै हुँ,’ उनले भने।
तत्कालीन समयमा पूर्वजलस्रोत मन्त्री पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पछार्ने सार्वजनिक अभिव्यक्ति दिएपछि आफूले त्यसको जवाफमा ओलीलाई पेलेको संज्ञा दिएको श्रेष्ठले बताए।
‘तर २०७८ साल भदौदेखि, २०७८ साल भदौ २३–२४ पछि र अहिले आउँदा त्यो मेरो भनाइको सान्दर्भिकता सकियो,’ उनले भने।
श्रेष्ठले २०७८ सालमा शिक्षामन्त्री रहेका बेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको प्रशंसा गर्दै ‘केपी ओलीलाई हटाउने कोही माइकालाल छ ?’ भन्दै ओलीलाई फुटबलका पेलेसँग तुलना गरेका थिए। उनले त्यसबेला ‘केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो’ भनेका थिए।
ओलीसँग बैठकमै भनाभन
कुनै समय ओलीका कट्टर समर्थकका रूपमा चिनिएका श्रेष्ठ पछिल्लो समय ओलीसँग असन्तुष्ट नेताको कित्तामा देखिएका छन्। एमालेको ११औँ महाधिवेशनमा उनले ओली समूह छाडेर ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका थिए। तर उनी सचिवमा निर्वाचित हुन सकेनन्। उनी केन्द्रीय सदस्य भने निर्वाचित भएका थिए।
सोमबारको केन्द्रीय कमिटी बैठकमा पनि श्रेष्ठले पार्टी नेतृत्व र ओलीको कार्यशैलीप्रति आलोचनात्मक धारणा राखेका थिए। आफ्नो भनाइ राखिरहेका बेला अध्यक्ष ओलीले उनलाई ‘तपाईंको समय सकियो, बस्नुस्’ भनेपछि श्रेष्ठले आपत्ति जनाएका थिए।
ओलीको निर्देशनपछि पनि श्रेष्ठले आफ्नो भनाइ जारी राखे। त्यसपछि स्वयंसेवकहरूले उनलाई बस्न आग्रह गर्दा उनले उनीहरूप्रति पनि आक्रोश व्यक्त गरेका थिए।
‘मलाई बस् भन्ने तिमीहरू को हौ ? बैठकमा पनि हामी बोल्न नपाउने, हाम्रा कुरा राख्न नपाउने ?’ भन्दै श्रेष्ठले आपत्ति जनाएका थिए।













प्रतिक्रिया