काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ ।
नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ ।
नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिनालगायत वस्तुको निर्यात वृद्धि गर्न सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
कुल २०० भन्दाबढी कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका क्रेताहरूलाई आमन्त्रण गरिसकिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
मेलाको मुख्य आकर्षणमा नेपालमा निर्मित हस्तकलाका उत्पादन, वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारीसाधनको छुट्टै पेभिलियन रहनेछ । द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने मेला करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुग्ने महासङ्घको विश्वास छ ।














प्रतिक्रिया