काठमाडौं – नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको यात्रा समाप्त भएको हो ।
पाकिस्तानले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७।३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा एक जना खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । ५० बलको सामना गरेका उनी अन्तिम विकेटका रूपमा आउट भए । बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । नेपालका ६ जना ब्याटर शून्य रनमै आउट भए ।
पाकिस्तानका मोहम्मद हस्नेन र सुफ्या मोकिमले समान ३ विकेट लिए । इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । पाकिस्तानका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलको सामना गरेका थिए । यस्तै हसन नवाजले २८, अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन जोडे ।
नेपालका लागि रासिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चिएर ५ विकेट लिए । यो उनको लिस्ट ए करियरको पहिलो पाँच विकेट प्रदर्शन हो । लिस्ट ए क्रिकेटमा डेब्यू गरेका अभिशेष गौतमले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने यूएईलाई पराजित गर्दै पुनरागमन गरेको थियो । तर अन्तिम खेलमा पाकिस्तानसँगको कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ‘ए’ उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । नेपाल भने एक जित र दुई हारसहित समूह चरणबाटै प्रतियोगिताको यात्रा टुंग्याउन बाध्य भएको छ ।














प्रतिक्रिया