बालुवाटार पुगेर उपसभामुख तुम्बाहाङ्फेले फेरि भनिन् : राजीनामा दिन्न ! | Khabarhub Khabarhub

बालुवाटार पुगेर उपसभामुख तुम्बाहाङ्फेले फेरि भनिन् : राजीनामा दिन्न !


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा नदिने अडान लिएकी छिन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपाका महासचिव विष्णु पौडेलसहितलाई भेट गर्न आइतवार विहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् ।

शनिवार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग गर्ने निर्णय गरेको थियो ।

सचिवालयले गरेको निर्णय पछि खबरहबसँगको कुराकानीमा उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा नदिने बताएकी थिइन् ।

पार्टीले निर्णय गरेपनि राजीनामा नदिने बताएसँगै उपसभामुख तुम्बाहाङ्फेलाई विहान बालुवाटार बोलाएर प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहितका नेताले सम्झाएका हुन् ।

‘सभामुख चयनका लागि तपाईंले राजीनामा दिएर निकास निकाल्ने बातावण बनाउनु पर्‍यो’ भन्दै नेताहरुले आग्रह गरेको बालुवाटार निकट श्रोतले खबरहबलाई जानकारी दियो ।

तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूले राजनीनामा नदिने नेताहरुलाई जबाफ फर्काइन् ।

‘राजनीनामा दिनुपर्नाको कारण पहिला स्पष्ट हुनुपर्‍यो र सभामुखमा को चयन हुँदैछ भन्ने जानकारी पाउनु पर्‍यो । अन्यथा मैले राजीनामा दिने कुरा आउँदेन । जे गर्नुपर्ने हो गर्नुहोस्’ उपसभामुख तुम्बाहाङ्फेले बालुवाटारमा दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो,‘उहाँले यसो भनेपछि कुरा मिलेन । उहाँ जानुभयो ।’

राष्ट्रपतिको साथ

नेकपामा सभामुखका लागि विशेष गरि सुवास नेम्वाङ र अग्नी सापकोटाको चर्चा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेम्वाङ र प्रचण्ड सापकोटालाई सभामुख बनाउने अडानमा रहेका छन् । त्यसका लागि उपसभामुख तुम्वाङ्फेले राजीनामा दिनु पर्ने छ ।

संविधानमा सभामुख र उपसभामुख फरक फरक दलको र दुई मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था रहेको छ । जसका कारण सभामुख आफूले राख्नका लागि नेकपाले उपसभामुखबाट राजीनामा दिनुपर्ने बाध्यता रहेको छ ।

तर उपसभामुख तुम्बाहाङ्फे आफै सभामुखको दाबेदारी प्रस्तुत गर्दै आएकी छिन् । त्यसका लागि उनले केही दिन अघि पार्टी अध्यक्षद्वयलाई योग्यताको सूचीनै पेश गरेको बालुवाटार श्रोतको भनाइ छ ।

नेम्वाङ र सापकोटालाई दुई पार्टी अध्यक्षको समर्थन रहेको बेलामा उनले किन पार्टीको निर्णयलाई अस्वीकार गरिन् भन्ने प्रश्न नेकपा नेता कार्यकर्तामा रहेको छ । तर, नेकपाका एक नेताले उपसभामुख तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सद्भाव रहेको बताए ।

‘शीतलनिवासबाट सद्भाव पाएका कारण उहाँले राजीनामा गर्न नखोज्नु भएको होला !’ ति नेताले खबरहबसँगको कुराकानीमा भने ।

विकल्प ?

उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरे के हुन्छ भन्ने प्रश्न आम रुपमा देखिएको छ ।

सभामुख चयनमा देखिएको समस्याका कारण आजका लागि बोलाइएको संसद बैठक समेत स्थगित भएको छ । अब बैठक आगामी ६ गते बस्नेछ ।  त्यसअघि नै सभामुखबारे टुंगो लाग्ने बालुवाटार श्रोतको भनाइ छ ।

अब उपसभामुखबाट राजीनामा गराएर उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउने, समानुपातिक सांसद भएका कारण सांसदबाट हटाउन नेकपाले निर्वाचन आयोगलाई पत्र पठाउने वा महाअभियोग लगाएर हटाउने विकल्प नेकपासँग रहेको छ । तर अवस्था त्यति जटिल अवस्थासम्म नपुगेको नेकपाका एक जना सचिवालय सदस्यले बताए ।

‘उपसभामुख भएका कारण सभामुखमा दावी स्वभाविक नै हो उहाँको लागि तर पार्टीले गरेको निर्णय उहाँले नमान्ने र ढिपी गर्नुहुन्छ जस्तो लागेको छैन’ उनले भने ।

यसैबीच नेकपाका नेता विष्णु रिजालले समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै फिर्ता बोलाउन सक्ने बताए ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले पार्टीले निर्णय गरेपछि उहाँले राजीनामा दिने विश्वास व्यक्त गरेका छन् ।

स्टाटसमा उनले लेखेका छन्,‘पार्टीले निर्णय नगरुन्जेल यस विषयमा केही लेखिएनरबोलिएन । हिजो पार्टीले नै निर्णय गरिसकेको छ । धेरै हल्ला किन गर्नु ? नेकपा एमाले बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाम्फेलाई नेकपाले उपसभामुखबाट फिर्ता बेलाउने निर्णय गरिसकेको छ र सायद आज लिखित निर्देशन दिन्छ र उहॉले राजीनामा दिनुहुन्छ । किन्तु, परन्तु, भन्ने कुरै भएन । समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ, बॉकी त कुरै भएन ।’

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : ११ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र