काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन् ।
प्रधानमन्त्री ओलीले आज अदालत पुगेर लिखित जवाफ दिएका हुन् । लिखित जवाफ बुझाएर केहीबेर सर्वोच्चको निर्माणाधीन भवनको निरीक्षण गरी उनी फर्किएका छन् ।
ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।
हेरौँ भिडियो
गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।
रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर अपमानजनक अभिव्यक्ति दिएका थिए ।
सोही मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया