बुटबल– बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिरोले छियाछिया पारेको छ ।
दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिरोहरुले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ । विशाल पहिरोको मुन्तिर देखिने बुटवल बजार निरीह छ । यस वर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ ।
यो विशाल पहिरो एकैचोटी गल्र्यामगुर्लुम गएन । गत वर्षदेखि नै स–साना पहिरोहरु जान थालेको र यसपालि सामान्य वर्षा हुँदा पनि हिलो र लेदो झर्न थालेकाले पहिरोमुनिको बस्ती सचेत भएर बसेको थियो । जसका कारण कुनै मानवीय क्षति हुन भने पाएन ।
यो भीमकाय पहिरोको मुन्तिर अवस्थित सहरको भविष्य के होला ? के साँच्चै अहिलेको अवस्थामा देखिएको चुरेको पहिरो वर्षातहरुमा थामिएला ? यी विषयमा अहिले बुटवल क्षेत्रमा छलफल हुन थालेका छन् । विकासोन्मुख सहरमा देखिएको यो जोखिमले स्थानीयवासीमा चिन्ता जगाइदिएको छ ।
“समयमै चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो भने बुटवलको उत्तरी क्षेत्र पहिरोमा मिसिन सक्छ”, चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम भन्छन्न्छ, “अब पनि ढिलाइ भयो भने ठूलो क्षति हुने खतरा छ, यसमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ ।”
अघिल्लो वर्षात्मा सङ्केत देखिएको थियो
बुटवल क्षेत्रमा चुरेको पहिरो अहिले मात्रै आएको होइन । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर क्षेत्रमा विसं २०३३ बाटै पहिरो देखिन थालेको थियो । विसं २०५५ मा वडा नं ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरो आयो ।
त्यसले लामो समयसम्म ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो । सरकारले सामान्य तटबन्धलगायतका काम गरे पनि भरपर्दो व्यवस्था गरेन । त्यतिबेला स्थानीयवासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरणसमेत गरियो । पछि विस्तारै पहिरो थामियो र हरियाली भयो ।
विसं २०५५ देखि २०७१ सम्म आइपुग्दा पहिरो गएको स्थानमा फेरि रुख बिरुवा हुर्किएपछि पहिरो गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो । पहिरो रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले । घरजग्गा किनबेच हुन थाल्यो । स्थानीयवासीले मात्र होइन, स्थानीय सरकारले समेत पहिरो बिर्सियो ।
अघिल्लो वर्ष साउन २८ गते बुटवल र पाल्पाको तिनाउ गाउँपालिका र बुटवल आसपासमा भीषण वर्षा भयो । करिब पाँच घण्टा लामो उक्त वर्षाले तिनाउ गाउँपालिकाको दोभानलगायतका क्षेत्रमा क्षति पुर्यायो । केही घर पनि पुरिए । रातिको समयमा भएको भारी वर्षाले तिनाउ नदीमा पनि भयङ्कर बाढी आयो । रातभर भएको भारी वर्षापछि बिहान उठ्दा बुटवलमाथिका चुरे पहाडमा साना–साना पहिरोका थुप्रै दृश्यहरु देखिए ।
स्थानीय केही मिडियाले चुरेमा आएका स–साना पहिरोले जोखिम निम्त्याएको समाचार पनि लेखे । केही अगुवाहरुले जोखिम हुनसक्ने ठानेर आवाज उठाएका पनि थिए । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका केही घरमा चुरेबाट बग्ने साना खोलाले ल्याएको गेग्रेटो नै पस्यो तर जिम्मेवार निकायले ध्यान पुर्याउन सकेन ।
यस वर्ष पनि चुरेमा पहिरो खसिरह्यो । लामो र भारी वर्षा अनुभव गरे पनि चुरेमा गएको पहिरो बुटवलवासीले थाहै पाएनन् । एकैचोटी पहिरो गएन । रुख बिरुवा र हरियालीका कारण भित्रभित्रै पहिरो जाँदा पनि तलबाट देखिएन । गत भदौ १३ र १४ गते भएको भारी वर्षासँगै लेदो र हिलो बगेर घरहरु पुरिँदा पनि माथि जङ्गलमा पहिरो देखिएको थिएन । यसलाई पनि बुटवलवासीले सामान्यरूपमा लिए ।
घर वरिपरि हिलो बग्दा पनि ज्योतिनगर क्षेत्रका बासिन्दा घर छाडेर भागेनन् । थोरै घरपरिवारमात्रै लेदो बग्न थालेपछि डरले घर छाडेका थिए । अधिकांशले जोखिम मोलेरै बसे । साना–साना पहिरो खसेर मात्र हिलो बगेको महसुस गरियो । तर जब भारी वर्षा थामियो दुई दिनपछि मात्रै बजारमाथिको पहाडको दृश्य देखेर बुटवलवासी झसङ्ग भए । त्यतिबेलासम्म भारी वर्षा बन्द भइसकेको थियो ।
अहिले वर्षा बन्द भए पनि पहिरो ठूलो भएकाले फेरि ढुङ्गामाटो खस्न सक्ने जोखिम भने कायमै छ । जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र अहिले पनि जोखिममा छ ।
“भर्खरै खस्छ कि जस्तो गरी ढुङ्गाहरु बसेकाले अझै ढुक्क हुनसकेका छैनौँ, घर वरिपरि ढुङ्गा, माटोसहितको पहिरोले लथालिङ्ग अवस्था छ, भएको सम्पत्ति यही घर हो, एक महिना त डेरा भाडामा लिएर बस्यौँ तर आफ्नो घरजस्तो नहुने भएपछि फेरि यहीँ फर्कियौँ”, पहिरो प्रभावित तुलसा सुवेदी गुनासो गर्छिन् ।
भदौ १३ गते रातभर पानी पर्यो । १४ गते बिहान एकाएक माटोको लेदोसहितको भेल आउन थालेपछि बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन निकै आत्तिनुभयो तर पहिरो घरभित्रै पस्ला भन्ने हेक्का उनलाई थिएन ।
सुरुमा सानो भेल बगे पनि विस्तारै ठूला ढुङ्गासहितको पहिरो आउन थालेपछि पुनसहित उनका छिमेकीहरु हल्लाखल्ला गर्न थाले । बिहान ९ बजेपछि चुरे पहाडबाट ठूला–ठूला ढुङ्गासहित पहिरो आयो । पुनसहित उहाँका छिमेकी हतार–हतार गरी बालबालिका लिएर बुटवल बहुमुखी क्याम्पसमा पुगे ।
त्यतिबेलासम्म ज्योतिनगरका एक दर्जन बढी परिवार क्याम्पसको प्राङ्गणमा आएर बसेका थिए ।
भदौ १४ गते गएको पहिरोले ज्योतिनगर मिलनपथ निवासी सीता मल्लको दुईतले घरको पहिलो तला पूरै पुरिएको छ । पहिरोका कारण घरमा बस्ने स्थिति नभएपछि एक महिना भाडामा बसेकी सीताले अहिले रु ५० हजार खर्च गरी घरभित्रको माटो सोहोर्ने र पहिरोले भत्काएको घर अगाडिको पर्खाल लगाउने काम गर्दै छन् ।
“स्थानीय सरकारले भाडामा बसेको रकम दिने भने पनि अहिलेसम्म दिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट भने राहतस्वरुप प्रतिपरिवार रु १५ हजार पाएका छौँ”, मल्ल भन्छिन्, “हामीलाई राहत होइन, पहिरो नियन्त्रण भए पुग्छ ।”
विसं २०५५ को पहिरोसमेत बेहोरेकी मल्लसहित त्यहाँका स्थानीयवासीलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो । तर मल्ल त्यहाँ बसिनन् । “तामनगरमा पनि खोलाकै किनारमा हामीलाई १० धुर जग्गा दिइएको थियो तर, यहाँ घर बनाएर बसिसकेकाले छोड्न मन लागेन”, उनले भनिन् । सरकारले यहाँबाट बस्ती स्थानान्तरण गर्नुभन्दा पहिरो नियन्त्रणका लागि योजना बनाउनुपर्ने उनको भनाइ छ ।
पहिरोका कारण बुटवलको शिरमा रहेको सिद्धबाबा क्षेत्र पनि उत्तिकै जोखिममा छ । पानीका मूलसँगै बेलाबेलामा पहिरो जाने र ढुङ्गा खस्ने हुँदा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ । वर्षा हुनेबित्तिकै पहिरो जाने भएकाले यो क्षेत्रमा पर्ने बुटवल–पाल्पा सडक अवरुद्ध हुने गर्छ । यसको व्यवस्थापनका लागि सरकारले सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ ।
किन गयो बुटवल क्षेत्रको चुरेमा पहिरो ?
चुरमा पहिरो जानुको खास कारण विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् तर मौसममा आएको परिवर्तन, मानवीय अतिक्रमण, सडकलगायतका पूर्वाधारका नाममा भएका चुरे क्षेत्रको विनास र विसं २०७२ मा आएको भूकम्पलाई नै कारण मानिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय एकाइ कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेत बताउँछन् ।
अघिल्लो र यस वर्ष छोटो समय तर भारी वर्षा चुरे क्षेत्रमा भयो । हुन त बुटवल क्षेत्र तुलनात्मकरूपमा धेरै पानी पर्ने क्षेत्र हो । दक्षिणतिरबाट जलवाष्प बोकेर आएको बादल वसन्तपुर र नुवाकोटका अग्ला डाँडामा ठोक्किँदा यहाँ पानी परिरहन्छ ।
पछिल्ला केही वर्षहरुमा धेरै पानी परेको महसुस नभए पनि यो क्षेत्र भौगोलिक हिसाबले बढी पानी पर्ने क्षेत्रको रुपमा लिइन्छ । मनसुन सक्रिय भएको बेला यहाँ ठूलो र धेरै पानी पर्ने सम्भावना सधैँ रहन्छ । हिउँद वा प्रिमनसुनका बेला पनि अरु ठाउँको तुलनामा यहाँ पानी परिरहन्छ । ज्योतिनगरमाथिको चुरेमा छवटा पानीका मुहानसमेत छन् ।
बुटवल क्षेत्रको चुरेमा पहिरो गएपछि विज्ञहरुको टोलीले एक महिनाअघि यहाँ स्थलगत अध्ययनसमेत गरेको छ । भूगर्भविद् डा रञ्जन दाहालसहितको टोलीले अध्ययन गरेर सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।
विज्ञहरुका अनुसार बस्ती बिकास वा विभिन्न नाममा चुरे अतिक्रमण हुने भएकाले पहिरोको जोखिम रहन्छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्काय भूगोल विभागका सहायक प्राध्यापक डा देवी पौडेल भन्छन्, “चुरेमा जङ्गल भरिएको हुनुपर्छ, उत्खनन भएको हुनुहुँदैन । निरन्तर वृक्षरोपण गर्नुपर्छ ।”
चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमका अनुसार विसं २०५५ को पहिरोपछि जाइका समूहले सो क्षेत्रमा सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर, त्यो काम अझै भएको छैन ।
चुरेको पहिरो व्यवस्थापनका लागि गत वर्ष विष्णु पौडेल अर्थमन्त्री भएका समयमा रु चार करोड ११ लाख बजेट विनियोजन गरिएको थियो । यो बजेटको आधा रकम गत वर्ष नै खर्च गरिए पनि बाँकी दुई करोड यो वर्ष मात्रै हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् ।
त्यसो त उपमहानगरपालिकाले पहिरो गएपछि त्यसको नियन्त्रण तथा माटो सोर्ने काममा मात्रै करिब रु ८० लाख खर्च भएको जनाएको छ । तर, पहिरो नियन्त्रणकै लागि ठोस काम अझै हुन बाँकी छ ।
चुरेमा गएको पहिरो नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले भने कुनै योजना बनाएको छैन । नयाँ सरकार गठनपछि भागबण्डामै अलमलिएको प्रदेश सरकारका मन्त्रालयहरु अझै लयमा फर्किन सकेका छैनन् ।
अधिकांश मन्त्रालय टुक्रिएपछि जिम्मेवारी बाँडफाँटसमेत हुन नसक्दा मन्त्रालयका कामले गति लिनसकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाटै भयानक पहिरोको दृश्य देखिँदासमेत ठोस योजना बन्न सकेको छैन ।
प्रतिक्रिया