काठमाडौँ – महामारीको पछिल्लो दुई वर्षमा १० धनी व्यक्तिले आफ्नो सम्पत्ति दोब्बर पारेका छन् । अन्तर्राष्ट्रिय संस्था अक्फाम इन्टरनेशनलका अनुसार १० व्यक्तिको सम्पत्ति ७०० बिलियन डलरबाट १.५ ट्रिलियन डलर पुगेको छ । उनीहरुले प्रत्येक सेकेण्ड १५ हजार डलर वा १.३ बिलियन डलरको दरले सम्पत्ति दोब्बर पारेका हुन् ।
फोब्र्सका अनुसार, मार्च २०२० देखि यता यी दश अर्बपतिले आफ्नो सम्पत्ति ८२१ बिलियन डलर बढाएका छन् । यी दश धनी व्यक्ति एलोन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट र परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेई ब्रिन, मार्क जुकरबर्ग, स्टीब बाल्मर र वारेन बफेट भएको फोब्र्सले ३० नोभेम्बर २०२१ प्रकाशित गरेको रिपोर्टमा उल्लेख भएको छ ।
त्यस्तै, महामारीका कारण १६० मिलियन जनता अझै गरिबीमा धकेलिएका छन् । रिपोर्ट भन्छ, ‘अहिले उनीहरुसँग सबैभन्दा गरिब ३.१ बिलियन जनताको तुलनामा ६ गुणा बढी सम्पत्ति छ ।’
यी दशजना व्यापारीले आफ्नो ९९.९९९ प्रतिशत सम्पत्ति गुमाए भने पनि तिनीहरु अझै पनि पृथ्वीमा बसोबास गर्ने ९९ प्रतिशत मानिस भन्दा बढी धनी नै हुनेछन्, अक्सफाम इन्टरनेशनलका कार्यकारी निर्देशक गाब्रिएला बुचरले भनिन् ।
असमानताले दैनिक २१ हजारको मृत्यु
विश्व आर्थिक मञ्चको डाभोस एजेण्डा अगाडि अक्सफामद्वारा प्रकाशित नयाँ अध्ययन ‘इनइक्वालिटी किल्स्’ अनुसार असमानताका कारण विश्वमा प्रत्येक दिन कम्तिमा २१ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै प्रत्येक चार सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । यो रेकर्ड विश्वव्यापी रुपमा स्वास्थ्य सेवामा पहुँचको अभाव, लैङ्गिक हिंसा, भोकमरी तथा जलवायु प्रदूषणका कारण हुन्।
कोभिड–१९ सुरु भएदेखि अरबपतिको सम्पत्ति विगत १४ वर्षको तुलनामा धेरै बढेको छ । महामारी बढेपछि अरबपतिको सम्पति ५ ट्रिलियन डलर पुगेको छ ।
‘महामरीमा अरबपतिलाई संकट सिर्जना भएको थियो । केन्द्रीय बैंकले अर्थतन्त्रलाई बचाउनको लागि वित्तीय बजारमा ट्रिलियन डलर रोक्का गरे, तर पनि सेयर बजारमा आएको उछालको कारण उनीहरुको आम्दानी झन् बढेको थियो । कोरोना भाइरसका खोपले महामारी अन्त्य नगर्ने निश्चित नै छ । तर, पनि धनी सरकारले फार्मा अरबपति र एकाधिकारलाई अर्बौँ मानिसहरूलाई आपूर्ति बन्द गर्न अनुमति दिए’, बुचरले भनिन्, ‘यसकारण पनि विश्वमा गरिब माथिको असमानताको जोखिम बढ्दै गएको छ। त्यसको प्रक्षेपण भयानक छ । यसको नतिजाले विश्वमा थप अर्को जोखिम सिजर्ना गरेको छ ।’
चरम असमानता आर्थिक हिंसाको एक रूप हो, जहाँ नीतिहरू र राजनीतिक निर्णयहरू जसले विशेषाधिकार प्राप्त केही व्यक्तिहरूको सम्पत्ति र शक्तिलाई निरन्तरता दिन्छ, त्यसले विश्वमानै आम जनताको विशाल बहुमतलाई प्रत्यक्ष हानी गर्छ ।
लैङ्गिक रेखा र असमानता
‘महामारीप्रति विश्वको प्रतिक्रियाले यस आर्थिक हिंसालाई विशेष गरेर जातीय, सीमान्तकृत र लैङ्गिक रेखा पार गरेको छ’, बुचरले थपिन, ‘कोभिड १९ को जोखिम बढ्दै जाँदा यसले लैङ्गिक हिंसाको वृद्धिमा परिणत हुन्छ ।’
महामारीले लैङ्गिक समानतालाई ९९ वर्षबाट १३५ वर्ष पछाडि धकेलिदिएको छ । २०२० मा महिलाहरूले सामूहिक रूपमा ४८ सय बिलियन आम्दानी गुमाएका छन्, २०१९ को तुलनामा अहिले काममा १३ करोड कम महिला छन्। अफ्रिका र ल्याटिन अमेरिका र क्यारिबियन संयुक्त राष्ट्रका सबै १ अर्ब महिला र केटीसँग भन्दा २५२ पुरुषसँग बढी सम्पत्ति छ।
महामारीको जातीय असर
महामारीले जातीय समूहहरूलाई सबैभन्दा बढी असर गरेको छ। इङ्गल्याण्डमा महामारीको दोस्रो लहरको समयमा, गोरा ब्रिटिश जनसंख्याको तुलनामा बंगलादेशी मूलका मानिसहरूको कारोना भाइरस बाट मृत्यु हुने सम्भावना पाँच गुणा बढी थियो।
ब्राजिलका अश्वेत मानिसहरू गोरा मानिसहरूको तुलनामा कोभिड १९ बाट मर्ने सम्भावना १.५ गुणा बढी थियो। अमेरिकामा, ३.५ मिलियन अश्वेत अमेरिकी आज जीवित हुने थिए यदि तिनीहरूको जीवन गोरा मानिसहरूको जस्तै भएको भए – यो प्रत्यक्ष रूपमा ऐतिहासिक नस्लवाद र औपनिवेशिकतासँग जोडिएको छ।
देशहरू बीचको असमानता यो पुस्तामा पहिलो पटक बढ्ने अपेक्षा गरिएको छ। विकासोन्मुख देशहरू, धनी सरकारहरूको फार्मास्युटिकल कम्पनीहरूको एकाधिकारको संरक्षणका कारण पर्याप्त खोपहरूमा पहुँच अस्वीकार गरिएका छन् । ऋणको स्तर बढेकाले सामाजिक खर्च घटाउन बाध्य भएका छन् । अब मितव्ययिता उपायहरूको सम्भावनाको सामना गरिरहेका छन्। विकासोन्मुख देशहरूमा कोभिड–१९ बाट हुने मानिसहरूको अनुपात धनी देशहरूमा भन्दा झन्डै दोब्बर छ।
‘कोभिड १९ महामारीले लोभ, राजनीतिक र आर्थिक माध्यमबाट अवसर दुवै खुला रूपमा प्रकट गरेको छ, जसबाट चरम असमानता आर्थिक हिंसाको साधन बनेको छ’, बुचरले भनिन्।
महामारीसँग लड्न ठूलो लागत खर्च गरे पनि, विगत दुई वर्षमा धनी देशका सरकारहरूले धनीहरूको सम्पत्तिमा कर बढाउन असफल भएका छन् । खोप जस्ता सार्वजनिक वस्तुहरूको निजीकरण गर्न जारी राखेका छन्। तिनीहरूले कर्पोरेट एकाधिकारलाई यस्तो हदसम्म प्रोत्साहित गरेका छन् कि महामारीको अवधिमा मात्रै, बजार एकाग्रतामा वृद्धि १५ वर्ष (सन् २००० देखि २०१५) भन्दा पछिल्लो एक वर्षमा बढी भएको छ ।
असमानता जलवायु संकटको केन्द्रविन्दुमा पनि जान्छ, किनकि सबैभन्दा धनी १ प्रतिशतले विश्वको तल्लो ५० प्रतिशतभन्दा दोब्बर कार्बोनडाइअक्साइड उत्सर्जन गर्दछ । जसले २०२० र २०२१ मा जलवायु परिवर्तनलाई डढेलो, बाढी, आँधी, बालीको उब्जनीमा ह्रास ल्याएको छ । यो सँगै विश्वमा भोकमरी पनि बढेको छ ।
यस्तो गति र मापनमा असमानता संयोग नभई छनोटबाट भइरहेको बुचरको भनाइ छ । ‘हाम्रो आर्थिक संरचनाले हामी सबैलाई यस महामारीको विरूद्ध कम सुरक्षित बनाएको मात्र होइन, तिनीहरू सक्रिय रूपमा सक्षम बनाउँदैछन् जो पहिले नै अत्यन्त धनी र शक्तिशाली छन् तिनीहरूको आफ्नै नाफाको लागि यस संकटको शोषण गर्न तयार रहेको छन्’, उनले थपिन् ।
रिर्पोट अनुसार विश्वका दुई ठूला अर्थतन्त्रहरू- अमेरिका र चीनमा- धनीहरूलाई उच्च कर दरहरू पारित गरेर र एकाधिकारहरू विरुद्ध कारबाही गर्ने लगायत असमानता कम गर्ने नीतिहरू विचार गर्न थालेको कुरा महत्वपूण छ ।
योसँगै अक्सफामले सरकारहरूलाई केही सुझाव पनि दिएको छ ।
-स्थायी सम्पत्ति र पूँजीकर मार्फत् महामारी सुरु भएदेखि नै बनाइएको यो ठूलो नयाँ सम्पत्ति कर लगाएर अरबपतिहरूले कमाएको लाभलाई फिर्ता गर्नुपर्ने देखिन्छ ।
-यी करबाटबाट उठेको ट्रिलियन डलर सार्वभौमिक स्वास्थ्य सेवा र सामाजिक सुरक्षा, जलवायु परिवर्तन, र लैङ्गिक–आधारित हिंसा रोकथाम र कार्यक्रममा खर्च गर्न सकिनेछ ।
-महिला र जातीय भेदभाव गर्ने लैङ्गिक र जातिवादी कानुनहरूलाई सम्बोधन गर्नुपर्नेछ र हिंसा र भेदभावलाई उखेल्न नयाँ लैङ्गिक–समान कानुनहरू सिर्जना गर्नुपर्नेछ । समाजका सबै क्षेत्रले महिला, जातीय र अन्य उत्पीडित समूहलाई सबै निर्णय गर्ने ठाउँमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने नीति तुरुन्तै परिभाषित गर्नुपर्छ।
-मजदुरहरूको युनियन र हडताल गर्ने अधिकारलाई कमजोर बनाउने कानुन अन्त्य गरेर तिनीहरूको सुरक्षाको लागि बलियो कानुनी मापदण्डहरू निर्माण गनुपर्ने देखिन्छ ।
-धनी सरकारहरूले महामारीको अन्त्यमा थप देशहरूलाई सुरक्षित र प्रभावकारी खोपहरू उत्पादन गर्न अनुमति दिनको लागि कोभिड –१९ खोप प्रविधिमा बौद्धिक सम्पत्ति नियमहरू तुरुन्तै त्याग्नुपर्छ।
बुचरले अन्त्यमा भनिन्- ‘यो संसारमा पैसाको कुनै कमी छैन। यहाँ त केबल साहस र काम गर्ने इच्छा शक्तिको कमी छ। विश्वमा देशहरुले महामारीको रोकथाम र नियन्त्रण गर्न १६ ट्रिलियन डलर जारी गरिसकेको छ ।’
प्रतिक्रिया