काठमाडौँ– जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजालले आउँदो गाईजात्राको सामग्री तयारीमा जुटेका छन् । साता यता आफ्नो गाईजात्राको रेकर्डिङमा व्यस्त जोगिन्दरले छायांकन समेत थालेका छन् । उनले शनिबार पार्टी प्यालेससँगै विभिन्न स्थानमा गाईजात्राको सामग्री छायांकन गरिरहेका छन् । ‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालीन उर्जा मन्त्री प्रकाश शरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रुपमा स्थापित नै भएका थिए ।
त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन् । पान पसलेको रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो । पछिल्लो समय ‘जोगिन्दर मुखियाजी’ कार्यक्रम ल्याइरहेका उनले गाईजात्रामा जोगिन्दर बनेर नै दर्शक समक्ष प्रस्तुत हुनेछन् । २०५९ सालमा पहिलोपटक गाईजात्राको क्यासेट निकालेका जोगिन्दरले त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् ।
‘हाम्रो कर्म नै यहीँ हो । हास्यकलाकारहरूका लागि गाईजात्रा उत्सव हो । महान पर्व हो । त्यसैले यसलाई लक्षित गर्दै कर्म गर्न छोड्दिन’ उनले भने । पछिल्लो समय गाईजात्रा लक्षित सामग्रीहरू निकै कम आउने गरेका छन् । तर , जोगिन्दर यसलाई निरन्तरता दिनेमा अगाडि छन् । ‘यसपटक भिडियो सामाग्रीसँगै मोफसलमा स्टेज शोहरु पनि छन् । दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न विभिन्न स्थानमा समेत आउँदैछौँ’ उनले भने । उनलाई केही स्थानमा पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनी क्यारेक्टरले पाएको मायाले खुसी हुन्छन् ।
प्रतिक्रिया