विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ १, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

काबुलको मस्जिदमा आक्रमण हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा २१ जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन।

घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २१ जनाको मृत्यु भएको कतारी टेलिभिजन च्यानल जनाएको छ ।

एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन । केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो ।

यसैबीच तालिबानले आक्रमणको निन्दा गरेको छ ।

अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट भनिने अफगानिस्तानमा तालिबानको सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका अफगानिस्तानबाट प्रसारण हुने टोलो न्युज समाचार च्यानलले जनाएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि अर्को आतङ्कवादी समूह इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।

अफगानिस्तानका स्थानीय समाचार संस्थाहरुका अनुसार तालिबानले हताहतीबारे कुनै वक्तव्य जारी गरेको छैन । विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिनेमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन् ।

अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको जनाइएको छ । प्रत्यक्षदर्शीहरुले सो आक्रमण आत्मघातीहरुले गराएका बताएका छन् ।

यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन् ।

न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ ।

थाइल्यान्डमा विस्फोट र आगलागी

दक्षिणी थाइल्यान्डमा कम्तीमा १७ स्थानमा विस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा ७ जना घाइते भएका छन् । मध्यरातमा भएका विस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन् ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूमा दशकौंदेखि विद्रोह जारी रहेको छ । हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् ।

विद्रोही र सरकारबीच सन् २०१३ मा सुरु भएको शान्ति वार्तामा बारम्बार अवरोध देखिएका छन् । यस वर्षको सुरुमा थाई सरकारले महामारीको कारण दुई वर्षको अन्तरालपछि मुख्य विद्रोही समूह, बारिसन रिभोलुसी नेसनलसँग पुनः वार्ता सुरु गरिरहेकै बेला आक्रमण भएको हो ।

चीनमा लोडसेडिङ

दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले लोडसेडिङको सामना गरेका छन् ।

गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोडसेडिङ सामना गर्न बाध्य भएका हुन् । हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ ।

यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न जलविद्युतमा धेरै निर्भर रहेको बताइन्छ। तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ ।

प्रान्तको उत्तरपूर्वी ५ दशमलब ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ ।

विद्युत अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनमा स्थापित कारखानाका काम रोकिएका छन् ।

मानिसबाट कुकुरमा मंकीपक्स सर्यो, सतर्क रहन विज्ञको सुझाव

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भने ।

मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रहसमेत गरेको छ ।

श्रीलंकाका पूर्वराष्ट्रपति स्वदेश फर्किने

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन् । अभूतपूर्व आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भागेका थिए ।

२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन् । गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुङ्गिएको थियो ।

सन् २००६ देखि २०१५ सम्म रुसका लागि श्रीलंकाका राजदूत रहेका वीरातुंगाले भने, ‘उनले मसँग फोनमा कुरा गरे, म तपाईँलाई भन्न सक्छु कि उनी अर्को हप्ता स्वदेश फर्किने छन् । ’

७३ वर्षीय गोटाबाय अगस्ट २४ मा फर्कन सक्ने तर, उनलाई पुनः निर्वाचित गर्न नहुने वीरातुंगाले बताए । ‘तर उसले अझै पनि देशको लागि केही सेवा गर्न सक्छ जुन उसले पहिले गरेका थिए’, वीरातुंगाले भने ।

राजापाक्षे हाल थाइल्याण्डको राजधानी बैंककको मुटुमा रहेको एउटा होटेलमा बसिरहेका छन् । सुरक्षाका कारण प्रहरीले उनलाई कोठाभित्रै बस्न सल्लाह दिएको छ । उनी ११ अगस्टमा सिंगापुरबाट थाइल्यान्ड गएका थिए ।

चीनमा बाढी

चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।

‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीव्र बढेको छ ।

सरकारी सञ्चार माध्यमले प्रकाशित गरेको एउटा भिडियोमा माटोले ढाकिएका सडक, ढलेका रूख, क्षतिग्रस्त घरहरू र बाढीमा हराइरहेका व्यक्तिको खोजीमा खटिएका उद्धारकर्मीलाई देख्न सकिन्छ ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढ्दै गएको बताउँदै आएका छन् ।

युक्रेनमा रुसी गोलबारीमा चार जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा रुसी गोलाबारीमा चार जनाको मृत्यु भएको छ । रुसी आक्रमणमा अरु २० जना घाइते भएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच युक्रेनको पश्चिमी शहर लभिभमा भेटवार्ता हुनु केही घण्टा अगाडी आक्रमण भएको थियो ।

खार्किभमै एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले फेबु्रअरीको अन्त्यदेखि लगातार गोलाबारी गर्दै आएको छ ।

रुसी सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले बताएका छन् ।

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् ।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए ।

न्युजिल्यान्डमा सुटकेसभित्र बालबालिकाको अवशेष फेला

न्युजिल्यान्डको साउथ अकल्याण्डस्थित एक भण्डारण एकाइमा पुराना सामानको लिलामीका लागि आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डिटेक्टिभ इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताए । न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक सङ्केतका आधारमा टोलीले ती मृत बालबालिकाको शव फेला पार्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्रै रहेको हुनसक्ने अनुमान गरिएको थियो ।

वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको टिप्पणी गरे ।

प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनको भनाइ छ । “तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,” उनले भने ।

“प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक सङ्केतहरू’ पछ्याइरहेको छ,” वाएलुआले भने । ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ ।

“म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा सङ्केतहरू प्राप्त गरिरहेका छौं,” उनले भने ।

घटनाबारे थप जानकारी दिँदै वायलुआले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेको बताएका छन् । यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएका कारण अनुसन्धान चुनौतीपूर्ण बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“हामी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन ।” उनले भने ।

उनले पत्रकारका धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै यसबाट अनुसन्धानमा अन्यथा हुनसक्ने बताएका छन् । मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उनले बताए ।

प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए । यद्यपि उनीहरु घटनामा संलग्न नरहेको प्रहरीले जनाएको छ ।

परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ ।

सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो ।

यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठूला धातुका ढोकाहरू बन्द गरिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल

भूमिगत विद्युतीकरणको काम तीन महिनालाई स्थगित

चितवन– चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका