काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. लालपुर्जा वितरणको काम तत्काल रोक्न निर्देशन
निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य तत्काल स्थगित गर्न आग्रह गरिएको बताए।
२. जबराले आज पनि बयान दिँदै
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ। बयानका लागि समितिको बैठक अहिले बस्दै छ। बैठकमा जबरासँग पूरक प्रश्न सोधिनेछ। समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ। बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए। समितिले आजै बयान सक्ने र प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।
३. प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक पनि आजै बस्नेछ। दिउँसो एक बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
४. काठमाडौँका डेंगु संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगुका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन्। महानगरबासीलाई महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। मेयर शाहले डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताए। साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल–टोल वा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।
५. फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न भट्टराइको माग
नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन साहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न आग्रह गरेका गरेका छन्। सामाजिक सञ्जालमार्फत मेयर साहले चलाएको अभियानको प्रशंसा र समर्थन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न आग्रह गरेका छन्।
६. नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम दिने
नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम अर्थात् (इलेक्ट्रोनिक सिमकार्ड) वितरण गर्ने भएको छ। हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ। टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराउने छ। ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो।
७. पोखरा आर्ट क्याम्प आजदेखि सुरु
चार देशका कलाकारहरूको सहभागितामा पोखरामा आजबाट बृहत् आर्ट क्याम्प आयोजना हुने भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै एक सय कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ। ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने आयोजकले जनाएको छ।
८. केहि दिन भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले न्यून चापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले अझै केही दिन देशभर पानी पर्ने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले यसको प्रभाव गए रातिदेखि नै देखिएको र केही दिनसम्म कायम रहने जनाएको हो। महाशाखाका मौसमविद् हिरा भट्टराईले हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम र तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने बताइन्।
९.रुससँग ‘ठूलो शक्ति’ जस्तै काम गर्न चिन इच्छुक
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो। भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। युक्रेनमा भएको आक्रमणपछि यी दुईबीचको यो पहिलो भेट हो। पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् भने जिनपिङले चीन रुससँग ‘ठूलो शक्ति’ जस्तै काम गर्न इच्छुक रहेको बताएका छन्।
१०. नवौं राष्ट्रिय खेलकुदमा उपाधिका लागि आर्मी र पुलिस भिड्दै
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र पुलिसबीचको खेल दिउँसो १ : १५ बाट सुरु हुनेछ। आर्मी र सुदूरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो।
प्रतिक्रिया