बाबरको उत्कृष्ट कमब्याकसँगै फाइनलमा पाकिस्तान | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

बाबरको उत्कृष्ट कमब्याकसँगै फाइनलमा पाकिस्तान

दोस्रो सेमिफाइनलबाट भारतको पर्खाइमा विश्वभरका क्रिकेटप्रेमी !


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान शानदार प्रदर्शनका साथ फाइनलमा पुगेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४६ रन बनाए । १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छदै ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर तथा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट प्रदर्शन गरे । दुवैले अर्धशतक पूरा गर्दा बाबरले ५३ र रिजवानले ५७ रन बनाए ।

अब पाकिस्तानले उपाधिका लागि इंग्ल्याण्ड र भारतबीचको विजेतासँग खेल्नेछ । पाकिस्तान फाइनल पुगेपछि दोस्रो सेमिफाइनलबाट भारत नै उपाधि भिडन्त गर्न आउनुपर्ने क्रिकेट प्रसशंकको चाहना छ । किनकी भारत र पाकिस्तानबीचको खेलले विश्वकै ध्यान तान्ने गरेको छ ।

सुरुका दुई खेल हारेर त्यसपछिका लगातार खेल जित्दै भाग्यको समेत साथ पाएको पाकिस्तान फाइनल पुग्नुलाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्याण्ड सेमिफाइनलमा कमजोर प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

बाबरको कमब्याक

अष्ट्रलिया विश्वकपमा यदि कोही सबैभन्दा कमजोर कप्तान मानिएका थिए भने त्यो नाम बाबर अजाम थियो । समूह चरणका सुरुका तीन खेलमा बाबरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । ओपनरका रुपमा आउने उनले लगातार खराब प्रदर्शन गरे ।

जसकारण पाकिस्तान सुरुमै विश्वकपबाट बाहिरिने टिम हुन्छ भन्नेमा शंका थिएन । भारतपछि जिम्बाबेसँग पनि हारेपछि पाकिस्तान सबैभन्दा पहिले घर फर्किने टिकट काट्ने टिम भनेर बाबर अजामको आलोचना हुने गरेको थियो ।

त्यति मात्रै होइन, बाबरको कप्तानीमाथि प्रश्न उठाउँदै जिम्बाबेसँगको १ रनको हार स्वीकार्य नभएको प्रतिक्रिया आउन थालेको थियो । तर दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानी टिमको उम्दा प्रदर्शन फर्कियो । यो जितले पाकिस्तानको आलोचना गर्नेलाई जवाफ मात्रै दिएन, सेमिफाइनल पुग्ने सम्भावनासमेत जिवित राखिदियो ।

अन्तिम खेलमा सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको दक्षिण अफ्रिका नेदरल्याण्डस्सँग स्तब्ध भएपछि बंगलादेशलाई हराउँदै पाकिस्तान भारतसँगै अन्तिम चारमा पुग्यो । यतिबेला पनि बाबर अजामको ब्याटिङको फर्मलाई लिएर प्रश्न उठेको थियो ।

समूह चरणका ५ खेलमा बाबरले केवल ३९ रन जोडेका थिए । यो आफैँमा ठूलो खराब नतिजा थियो । तर सेमिफाइनलमा बाबर अजामले पहिले फिल्डिङ गरेर न्युजिल्याण्डलाई १५२ रनमै रोक्न सफल भए । उनले बलरहरुलाई जसरी प्रयोग गरे, त्यो अद्भुत थियो ।

ब्याटिङ गर्दा बाबर ओपनरमै आए । मोहम्मद रिजवानसँगै ओपनिङ गरेका बाबरले ५३ रन बनाए । जारी विश्वकपमा पहिलो अर्धशतक बनाएका बाबरले गर्दा पाकिस्तान सहजै फाइनल पुग्ने अवस्था बन्यो । ५७ रन बनाएका रिजवान प्लेयर अफ द म्याच चुनिए ।

बाबरसँगै पाकिस्तानका तीव्र गतिका बलर सहिन शाह अफ्रिदी पनि फर्ममा फर्किएका छन् । उनले आजको खेलमा दुई विकेट लिए । ओपनर फिन एलेनलाई ४ रनमा आउट गरेका शहिनले कप्तान केन विलियम्सनलाई ४६ रनमा बोल्ड गरेका थिए । शहिनकै बलिङले गर्दा न्युजिल्याण्ड ठूलो योगफल बनाउन चुकेको थियो ।

बाबरको कमब्याकसँगै अब पाकिस्तान फाइनल जित्ने सक्षम टिमका रुपमा देखिएको छ । कप्तान नै फर्ममा फर्किएपछि मेलवर्नमा भारत वा इंग्ल्याण्डलाई हराउँदै पाकिस्तानले उपाधि जित्ने सम्भावना नकार्न सकिन्न ।

फाइनलको प्रतिक्षामा भारत

सिड्नीमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल पुगेपछि पाकिस्तानी पूर्व तीव्र गतिका बलर शोयब अख्तरले ट्वीट गर्दै भनेका छन्, ‘भारत भोलिको दोस्रो सेमिफाइनलका लागि शुभकामना । हामी तिमीलाई मेलवर्न क्रिकेट रंगशालामा पर्खिरहेका हुनेछौँ ।’

अख्तर तीनै क्रिकेटर हुन्, जसले बाबरको कप्तानीमा प्रश्न उठाउँदै उनले राजीनामा दिनुपर्ने भनेका थिए । सुरुका दुई खेल हार्नुमा बाबर जिम्मेवार रहेको उनको तर्क थियो । तर अहिले अवस्था फेरिएको छ । बाबरको कमब्याक प्रदर्शन र चनाखो कप्तानीमा पाकिस्तान विश्वकप क्रिकेटको फाइनल पुगेको छ ।

३० वर्षपछि अष्ट्रेलियामा विश्वकप क्रिकेटको फाइनल खेलिरहेको छ । ३० वर्षअघि अर्थात सन् १९९२ मा इमरान खानको कप्तानीमा पाकिस्तानले विश्वकप जितेको थियो ।

सेमिफाइनल जित्दै फाइनल पुगेपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विश्वकप विजेता कप्तान खानले बाबर अजाम नेतृत्वको पाकिस्तानी टिमलाई बधाई र फाइनल जितका लागि शुभकामना दिएका छन् ।

अब फाइनलमा भारतको प्रतिक्षा छ । दोस्रो सेमिफाइनलमा भारतले बिहीबार इंग्ल्याण्डसँग खेल्दैछ । इंग्ल्याण्डसँगको सेमिफाइनल जिते भारतले उद्घाटन खेलजस्तै पाकिस्तानसँगको फाइनल रोमाञ्चक बनाउनेछ । उद्घाटन खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५५ बजे

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष