निरन्तर लोकतन्त्रको उपहास | Khabarhub Khabarhub

निरन्तर लोकतन्त्रको उपहास



काठमाडौँ – आम जनमत र निर्वाचनले लोकतन्त्र फस्टाउने हो। हाम्रो देशमा राणा शासनमा लोकतन्त्र भएन भनियो, पंचायती व्यवस्थामा पनि धेरै नेपालीले शाहदत प्राप्त गरे। लोकतन्त्रबाट देशको समृद्धि खोजियो र आर्थिक विकास, जनताको जीवनस्तर उकास्ने प्रयास भयो।

देशबासीका नाममा रोजीरोटीको समस्या नहोस्, मौलिक हकको उन्नत प्रयोग गर्न पाइयोस्, मानव अधिकार कतै कहीँबाट उलंघननहोस् भन्ने उद्देश्यले जनताले तातो गोली खाए। कैयन सहिद भए र ज्यूँदा सहिद पनि धेरै रहे। तर देशमा संविधान सभाबाट संविधान जारी भएर दोस्रोपल्ट आम निर्वाचन सकिँदा पनि हाम्रो लोकतन्त्र हिजोको कुरुप प्रणालीभन्दा अघि बढ्न भने सकेको देखिएन। नदेशमा समृद्धि र रोजगारी न देशमा मानव अधिकार, न आर्थिक विकास, बरु आम जनता प्रचलित शासन शैली देखेर अवाक् भएका छन्। त्यसको पछिल्लो उदाहरण समृद्धिको खाका तयार गर्दै देशबासीलाई सेवा प्रवाह गर्न अघि बढ्नु पर्ने सरकार आफू सत्ता टिकाउन अनेकौँ रणनीति तयार गर्दै रहेको, निर्वाचन भइसकेको परिणाम समेत आइसकेको जनमतको कदर नगरी अदालतमा भएका मुद्दालाई प्रभाव पार्ने गरी राणा शासन शैलिको अध्यादेश जारी गर्ने तरखरमा रहेको छ।

सिधा चुनावमा हेमिन नसक्ने तर राष्टिय आवश्यता महसुस गरिएका व्यक्तिको नीतिनिर्माण तहको पहुँच होस् भन्ने मनसायमा स्थापित गरिएको समानुपातिक प्रणालीको गलत प्रयोग गरिँदैछ। छुट्टै दल भएका निर्वाचनमा आइसकेका दल प्रमुखलाई नै समानुपातिकमा छिराइने प्रथा सुरु भएको छ। आम निर्वाचनको घोषणा भइसकेर राजीनामा दिनु नपर्ने सरकार, आम निर्वाचनमा हार खाएका सदस्यले नैतिकताको आधारमा राजीनामा नदिने सदस्य बोकेर सरकार सन्चालित भएको देखियो।

चुनावमा हारेका पात्र गृहमन्त्री भइरहँदा उनकै बाहुलीबाट तयार भएको मुद्दा फिर्ता लिने सम्बन्धी कानुन संशोधन गर्न अध्यादेशको तयारी हुन्छ। उनकै परिवारका सदस्यले समानुपातिकको सदस्यता पाउने मात्रै होइन प्रधानमन्त्री पत्नीले पनि खस आर्यका लागि तोकिएको समावेशी कोटाबाट सदस्यताको स्वीकार हुन्छ।

राजनीतिका चर्चित खेलाडी पुर्खाको विरासत बोकेका विमलेन्द्र निधि पिछडिएको मधेशी कोटाबाट समानुपातिक सांसद बन्छन्। खस आर्यको पीछडिएको कोटाबाट अघि नै मन्त्री भइसकेका प्रकाशशरण महत सांसद बन्छन्, अर्काको भाग खोसेर आफू पदमा पुग्न लालयित हाम्रा देशका नेताबाट सन्चालित लोकतन्त्रको यो भद्दा मजाक सायद अरु देशमा देखिन्न।

छुट्टै दलका प्रमुख परिवारदलबाट एमालेले एकनाथ ढकाललाई समानुपातिकमा प्रवेश गराउँछ भने अन्यान्य सबैजसो दलले आ–आफ्नो स्वार्थ बोकेकै कारण देशमा भएको राजनैतिक परिवेशलाई हलुको ढंगले हेरिएको स्पष्ट हुन्छ। वंशानुगत, पारिवारिक र केवल स्वार्थले प्रेरित भएर गरिएको अभ्यासले लोकतन्त्र कुनै हालतमा फस्टाउँदैन। त्यसको गलत अभ्यास त प्रजातन्त्रको पुनर्बहाली र संसारको उत्कृष्ट भनिएको नेपालको संविधान २०४७ अनुसार पनि पंचायती व्यवस्थाका धु्कधुकी सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दलाई दलहरुले पटक पटक देशको प्रधानमन्त्री बनाउनुले पहिले नै पुष्टि गरेको थियो।

अझ भन्नुपर्दा ४६ सालको जन आन्दोलनलाई प्रतिकार गर्दै पञ्चायतको अन्तिम धुकधुकीसम्म प्रतिरक्षा गर्ने र देशको गृह प्रशासन सम्हाल्ने कमल थापालाई संघीय प्रणाली गणतन्त्रका उपप्रधान मन्त्रीको पद दिलाएर विश्व बजारमा संविधान सभाले बनाएको भनिएको धर्म निरपेक्ष संविधानलाई उत्तम भन्न लगाइएको थियो। ती अहिले जनअनुमोदित नहुँदा आफ्नो दलको चिह्न परवर्तन गर्र्दै गणतन्त्रका सम्बाहक भनिएका चतुर खेलाडी एमाले सूर्य पद चिह्न लिँदै चुनावमा हौसिन प्रेरित गरियो। गणतन्त्रका यी अभ्यास प्रायशः अध्यादेशी शैलीका छन्।

दल फुटाउन अध्यादेशको प्रयोग, सधैं आवश्यक नागरिकता वितरणमा अध्यादेशको प्रयोग, ढुंगा माटो निर्यात गर्न अध्यादेशको प्रयोग मात्रै गरिएन, देशमा एकै वर्षमा सार्वभौम भनिएको प्रतिनिधिसभाको दुईपल्ट घाँटी निमोठ्ने काम पनि यही लोकतन्त्रमा भएको हो।

पछिल्लोपल्ट लोकतन्त्रको उपहार भनिएको राज्यका ३ अंगको स्वतन्त्र प्रणाली भनिँदै गर्दा पासै नहुने प्रधान न्यायाधीशको महाअभियोग मात्र लगाइएन लोकतन्त्रको उपहास हुने गरी कार्यपालिकाको एकछत्र शैली सुरक्षा निकायको प्रयोग गरेर प्रधान न्यायाधीशलाई झण्डै एक वर्ष कामै गर्न दिइएन। जुन देशका सर्वोच्च अदालतका प्रमुख नै मुद्दा खेप्छन् त्यही देशमा अदालतमा विचाराधीन भएका मुद्दालाई प्रभाव पर्ने गरी, अध्यादेश ल्याइन्छ, कानुन नै संशोधन गरिन्छ। ताजा जनादेश आइसकेको सन्दर्भमा शीघ्र संसद आह्वान गरी मन्त्रिपरिषद देशले धान्न सक्ने सानो आकारको बनाई लोकतन्त्रको आदर्श संसारलाई देखाउनु पर्नेमा सत्ता स्वार्थ, आपैmँलाई टिकाइ राख्न, आफूलाई निर्वाचनमा अपुग सांसद पूर्ति गरी आयु लम्ब्याउने नियतबाट जेलमा बसेर मुद्दा खेपिरहेका व्यक्तिलाई सरकारमा ल्याउन सकिने अध्यादेश तयार पारेर राष्टृप्रमुख सामु पेश गर्ने वातावरण तयार भइरहँदा सचेत जन समूहबाट चौतर्फी आलोचना भइरहेको देखिन्छ।

यसले ताजा जनादेशको अपमान गरेको छ, लोकतान्त्रिक मूल्य र मान्यतामा प्रहार भएको छ, राजनीतिमा परिवार हावीभएको प्रसंग समानुपातिक प्रणलीले स्पष्ट गरेको छ। दलीय प्रणालीको घोर अपमान त चुनावमा नै देखिएको हो, आफ्ना दलका कार्यकर्तालाई अर्को दलको चुनाव चिह्नमा मत हाल्न भनियो। सिधै अन्य दलका प्रमुखलाई भित्र्याएर चुनाव प्रसारमा जाने काम भयो। जनताले यो अप्राकृतिक गठबन्धनलाई रुचाएनन् र कतिको धरौटी नै जफत भयो। कोही त राष्टिृय दल पनि बन्न सकेनन्। त्यतिले नपुगेर काठमाडौँ जस्तो सचेत मतदाता बस्ने ठाउँबाट धेरै स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरे। जसले जिते गठजोडबाट ती आफै सन्तोष नभएको अवस्था छ।

लोकतन्त्रमा एकपछि अर्को प्रहार हुन गएको छ, कैलाली घटनाको सत्य तथ्य छानबिन गरी प्रतिबेदन दिन गठित गिरिशचन्द्रलालको आयोगले चौध महिना लगाएर अध्ययन गरेर शेरबहादुर देउवालाई दिएको प्रतिवेदन, प्रतिवेदन बुझेको पाँच वर्षपछि उनै प्रधानमन्त्री, निर्वाचन पराजित गृहमन्त्रीको मन्त्रालयमा थन्कने त्यो प्रतिवेदन सार्वजनिक नहुँदै तिनै गृह मन्त्रीले तयार पारेको अध्यादेश उनै प्रधानमन्त्रीले स्वीकार गर्दे तिनैलाई कारागारबाट छुटाई सरकारमा अंकगणित पुर्याउने ? यो धोकोले लोकतन्त्रको थप उपहास भएको।

यसअघि अध्यादेशको बाढी ल्याएको भन्दै एमाले ओलीको सर्वत्र आलोचना गरियो। तर अहिले नेपाली कांग्रेस जसले युग इतिहास बोकेको लोकतन्त्रको एकमात्र पहरेदार, मानवअधिकारवादी, सुशासनको हिमायती भनिरहँदा कार्यकर्ता किन मौन बस्छन्। यसले दलका संस्थापक बीपी, गणेशमान, कृष्णप्रसादको आत्माले के भन्छ ? के ३२ वर्षपछि मेलम्चीको सर्वत केही दिनका लागि चुहियो भन्दैमा भट्राईको गुणगान मात्र गरेर पुग्छ ? दलको आदर्श र निष्ठालाई समाप्त पार्ने गरी व्यक्तिगत स्वार्थमा सत्ता चलाउन, अप्राकृतिक गठबन्धन टिकाइराख्नु हो कंग्रेसको आदर्श ? काठमाडौँमा बालेनको विजय चितवनमा रवि, जुम्लामा ज्ञानेन्द्र पश्चिममा हमाल, ज्ञवालीहरुको उपस्थिति अनि पूर्वका हर्कको उपस्थितिबाटै लोकतन्त्रका सम्बाहक भनिएकाहरुलाई चेत खुल्नु पर्ने होइन र ? जनताका सारा मुद्दा ओझेलमा छन्, देश आर्थिक विषम परिवेश र विदेशी ऋणमा डुबेको छ, व्यापारघाटा चुलिएको र मतदाता जति विदेशिएका, भएका मतदाता पनि आधाआधी मत हाल्नै नगएको परिवेशलाई दलहरुले किन मनन नगरेका ? आम जनताको खुसीमा दलका नेताहरु खुसी हुनुको साटो समानुपातिकबाट आएका पन्चायतका हस्ती पशुपति शमशेर राणाबाट प्रत्यक्ष निर्वाचित सांसदहरुको शपथ हुनु पर्ने अवस्थाले लोकतन्त्रलाई के सन्देश दिन्छ ? देशको मौलिक पद चिह्नमा फर्कनु पर्ने संकेत हो कि होइन यो ?

चोलेन्द्र शमशेरलाई प्रधान न्यायाधीश बनाउने दलको कोटा हो कि होइन ? हो भने यति ठूलो बेइज्जत र देशको स्वतन्त्र न्यायपालकाको के अर्थ हुन्छ ? स्वतन्त्र विधायिकाको के अर्थ रहन्छ ? जब कि त्यहीँका महासचिव अदालतमा मुद्दाघा खेप्छन्, उनको पत्रलाई ठाडै अस्वीकार गरिन्छ, के उनी नेताले भनेका चिठीमा मात्र सही गर्ने व्यक्ति मात्र हुन्, त्यत्रो निकायमा कानुनका कति मानिस छन्, नहेरी पत्रमा दस्तखत गरे ? लोकतन्त्रमा स्वतन्त्र विधायिका, स्वतन्त्र न्यायपालिका भन्ने आदर्श अब कहाँ बाँकी रह्यो त। कर्मकाण्डी शैलीमा संसद आह्वान गर्ने कानुन भने अध्यादेशबाट आउने हो भने श्री ३ राणाहरुको शासन उत्तम रहेछ किन नभन्ने ? कम से कम तिनका पालामा यति धेरै देश चुस्ने संयन्त्रहरु त थिएनन्, राजाका पालामा यति धेरै संयन्त्र हुँदा हुन् भने के कुन खर्चले देश चल्थ्यो होला।

अहिलेकालाई जस्तो भूतपूर्वहरुले पनि यति ठूलो संख्यामा सुरक्षा, यति धेरै राज्यको ढुकुटी दोहन, यति धेरै उपचार खर्च, सर्प पाल्न समेत करोडौँ रकम र मरणोपरान्त नेताका नाममा राखिने राज्यकोषको रकमले के संकेत गरेको छ ? जुन देशमा एक लिटर पेट्रोलको मूल्य जम्मा जम्मी ८९ हुन्छ तर बिक्री मूल्य भने १८१ हुन्छ । अनि संसारकै पानीको धनी भएको देशमा १२२ वर्षको अन्तरालमा जम्माजम्मी सरकारी निकायले उत्पादन गर्ने बिजुली २ हजार २ सय मेगावाट मात्रै हुन्छ, स्वदेशमै २ हजार ३ सय मेगावाटको माग छ, अनि त्यही देशमा बिजुलीको मूल्य हेर्दा कोठामा बत्तीसम्म पूरै बाल्न नसक्ने उपभोक्ता छन्। चूह्लो प्रयोग भनी मूल्य घटाइँदैन र भारतलाई नपुगेर बंगलादेशलाई बिक्री गर्न खोजिन्छ, बिजुली उपयोग नभएर खेर गयो भनिन्छ ।

गतवर्षसम्म नजिक भारतबाट आयात गरिएको अवस्थालाई नजरअन्दाज गरिन्छ, त्यो देशको नीति निर्मातालाई के भन्ने ? यहाँ मानव अधिकारको ठूलो कुरा गरिन्छ, भ्रष्टाचार नियन्त्रणको पनि। तर कैलाली घटनामा १८ महिने अबोध दूधे बालकको गोली लागेर मृत्यु हुने घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक हुनुको साटो त्यतै त्यतै देखिने पात्रहरुको मुद्दा फिर्ता लिने गरी अध्यादेश आउन खोज्छ भने हाम्रो लोकतन्त्र, यसको सुन्दरपक्ष भनिएको निर्वाचन अनि जनमतको के अर्थ रहन्छ त ?

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : ०२ बजे

तनहुँमा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षमा आले

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूह निकट विद्यार्थीहरूले तनहुँमा नेपाल

‘साना जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्छ’

काठमाडौं– सांसदहरूले साना जलविद्युत आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्नेमा

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा

औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको

जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल