दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज दिनभर मिटरब्याज समस्या समाधानका लागि आयोग गठन गरिने, उपनिर्वाचनका लागि रास्वापाका उम्मेदवार सार्वजनिक, भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन, रसुवागढी नाका पुनः सञ्चालनमा, आजदेखि पदयात्रामा जाने पर्यटकले पथ प्रदर्शक लैजानुपर्नेलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

मिटरब्याज समस्या समाधानका लागि आयोग गठन गरिने

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह मन्त्रालयमा आज सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त आयोग गठन गर्नेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा सो सहमति भएको हो ।

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुश्चक्रमा फसाइ विभिन्न ढङ्गले शोषण समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको छ ।

साथै मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी वा गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिनेछ । जसमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधि समेत रहने छन् । जिल्लास्तरीय समन्वय समिति गठन गर्न सरकार समक्ष सिफारिस गरिनेछ । उक्त समितिले पीडितबाट उजुरी तथा गुनासो सङ्कलन तथा प्रमाण जुटाउन सहयोग गर्नेछ भने निःशुल्क कानूनी सहायता तथा सचेतनाका लागि सहजीकरण गर्नेछ ।

अनुचित लेनदेनसम्बन्धी कामलाई कसुर कायम गर्ने गरी अघि बढाइएको कानून संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउन सरकारलाई अनुरोध गर्ने समेत सहमति भएको छ । आयोग गठनको निर्णयसँगै पीडितले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा उल्लेख भएका सिफारिसको शीघ्र एवम् प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सहसचिव प्रदीपकुमार कोइराला, उपसचिवहरु जङ्गबहादुर डाँगी, उमाकान्त अधिकारी तथा दिलकुमार तामाङ र प्रहरी उपरिक्षक दिनेशराज मैनालीले हस्ताक्षर गरेका छन् । साथै सङ्घर्ष समितिकातर्फबाट मनोज पासमान, श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदीलाल पासमानले हस्ताक्षर गरेका छन् ।

आज बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘र्‍यापिड एक्सन फोर्स’ को शैलीमा मिटरब्याजी पीडकमाथि कारवाही गर्ने बताएका थिए । पीडितसँगको भेटमा प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका थिए ।

सो अवसरमा उनले पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिएका थिए ।

उपनिर्वाचनका लागि रास्वापाका उम्मेदवार सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गरिएको हो ।

यसअनुसार रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई चितवन २, स्वर्णिम वाग्लेलाई तनहुँ १ र रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने भएको छ ।

पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।

‘हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ’ उनले भने ।

त्यस्तै, बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एकै ठाउँमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउँदै अहिलेको भागबण्डा र लुछाचुँडीलाई तोड्नुपर्ने बताएका हुन् ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफूले पाएको र आफू पार्टीमा आएको खरेलको भनाइ छ । उनले आफू चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।

त्यसैगरी, पार्टीका तर्फबाट तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा वाग्लेले आफूले कदाचित चुनाव हारेपनि रास्वपा नछाड्ने बताएका हुन् ।

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्न । मेरो पछाडि फर्किने बानी छैन । गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने ।

यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन

नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालयको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा गठन गरेको समितिमा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि सदस्य छन् ।

रावलसँग वार्ता गरी पार्टीमा जिम्मेवारी दिने सचिवालय बैठकको निर्णय छ । रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले संवाद गर्न समिति बनाइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बारा–२ मा भने स्थानीय राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आइतबारसम्म उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको गुरुङले जानकारी दिए ।

बैठकले मिटरब्याजी पीडितको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रचलित कानून बिपरित मिटरब्याज उठाउनेलाई कानूनी कारवाही गर्न पनि बैठकले माग गरेको गुरुङले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले अप्रिल २२ मा पार्टी स्थापनाको ७५ वर्ष पुग्न लागेको अवसरमा वर्षैभरि कार्यक्रम गर्नका लागि सचिवालय सदस्यहरुसँग आवश्यक सुझाव लिने र सुझावका आधारमा केन्द्रीय कार्यालयले वार्षिक कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

रसुवागढी नाका पुनः सञ्चालनमा

कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ । नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्किएका थिए ।

कोरोना सङ्क्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए । आगाम मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले बताए । नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार सङ्घका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए । रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरूङतर्फ पठाइएको छ । मालसामान आयातका लागि आजै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

केरूङका लागि आठ सय ८७ ट्रक पालैपालो पठाइने भएको छ । कोरोना सङ्क्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो । नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाललाई खेलकुदको हब बनाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’ का रूपमा विकास गर्न सकिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्त्व मैले यस क्षेत्रलाई दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै महत्त्व दिएको हुँ ।’

प्रधानमन्त्री दाहालले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल एकाइ र खेल मैदान बनाउनुपर्नेमा जोड दिँदै खेल पूर्वाधारको निर्माणबाट मात्रै तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने बताए । ‘पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीको वृत्ति विकासमा ध्यान दिनसकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ’, उनले भने ।

कार्यक्रममा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिएका थिए ।

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेअनुसार छिटोभन्दा छिटो सङ्घीय ऐनलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताए । सङ्घीय निजामतीलगायत ऐन छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने उनको भनाइ थियो ।

आजदेखि पदयात्रामा जाने पर्यटकले पथ प्रदर्शक लैजानुपर्ने

पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्ससम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याएको छ ।

बोर्डमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टिम्ससम्बन्धी मापदण्डको शुभारम्भ गरे । उक्त मापदण्ड आजदेखि लागू भएसँगै अब पदयात्री पर्यटकले अनिवार्यरूपमा पथ प्रदर्शक लैजानुपर्ने छ ।

पर्यटनमन्त्री किराँतीले टिम्ससम्बन्धी मापदण्डले नेपालको पर्यटनलाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले विदेशी पर्यटकलाई नेपालमा पदयात्रा सुरक्षित बनाउनुका साथै पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्थाले सहयोग पुग्ने उल्लेख गरे ।

पर्यटनमन्त्री किराँतीले सम्पदा क्षेत्रको संरक्षण र सरसफाइका लागि सबैको सक्रिय सहभागिता चाहिने उल्लेख गरे । उनले सरसफाइ अभियानलाई व्यापक बनाएर लैजानुपर्ने खाँचो औँल्याए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले टिम्ससम्बन्धी नयाँ नियमले पदयात्रालाई सुरक्षित बनाउने बताए । उनले आजदेखि पदयात्रामा जाने व्यक्तिले अनिवार्यरूपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू भएको उल्लेख गरे ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानका अध्यक्ष निलहरि बाँस्तोलाले लामो समयदेखि व्यवसायीले उठाउँदै आएको विषयलाई बोर्डले कार्यान्वयनमा ल्याएको भन्दै यसबाट पदयात्रा सुरक्षित हुनका साथै रोजगारीसमेत सिर्जना हुने विश्वास व्यक्त गरे ।

नेपालमा पदयात्रालाई सुरक्षित बनाउन एवं पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न व्यवस्था गरिएको टिम्सलाई प्रभावकारी सञ्चालन र थप व्यवस्थिन गर्न बोर्डले मापदण्ड बनाएको हो ।

मापदण्डअनुसार टिम्स लागू हुने क्षेत्रमा पदयात्रामा जान चाहने पदयात्रीले कम्पनीमार्फत अनिवार्यरूपमा पदयात्रा पथ प्रदर्शक लैजानुपर्ने व्यवस्था गरिएको छ । हिमाल आरोहणको अनुमति लिई हिमाल आरोहणमा जाने आरोहीले टिम्स अनुमतिपत्र लिनुपर्दैन तर, आरोहण अनुमतिपत्र आरोहीले साथैमा लैजानुपर्छ ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ र टिम्स सञ्चालन निर्देशिका, २०६४ अनुसार सार्क राष्ट्रका पदयात्रीका लागि टिम्स अनुमति शुल्क प्रतिपदयात्री रु एक हजार, अन्य राष्ट्रका पदयात्रीका लागि प्रतिपदयात्री रु दुई हजार लाग्छ । पदयात्राको उद्देश्यले टिम्स लागू हुने क्षेत्रमा पदयात्रामा जाने कूटनीतिक नियोग एवं कूटनीतिक क्षेत्रका पदाधिकारी, विकास साझेदार संस्था, दातृ निकायका पदाधिकारीलाई प्रतिपदयात्री रु पाँच सय टिम्स शुल्क लाग्छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ५९ बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा