तनाव व्यवस्थापन गर्ने ओशो महोत्सव भोलि टुँडिखेलमा « Khabarhub

तनाव व्यवस्थापन गर्ने ओशो महोत्सव भोलि टुँडिखेलमा


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू ।

समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् ।

नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन् । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन् । देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन । यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ ।

यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ । योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन् ।

नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकाङ्क्षा बढ्दो देखिन्छ । तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन् । मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन् ।

यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ । शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ ।

सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको जानकारी दिए ।

उनले भने, “अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा अध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो ।”

यसै वर्षको अर्थात् विसं २०७९ को वैशाख १ गते पनि टुँडिखेलमा नै कम्तीमा १० हजार जना मानिस जम्मा गर्ने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा १२ हजार जनाको सहभागिता रहेको र त्यहाँ आएका कतिपय व्यक्ति पछि ओशो तपोवनमा पनि आइरहेकाले यस वर्ष कम्तीमा पनि ५० हजार जना मानिस जम्मा गर्ने महोत्सवको लक्ष्य रहेको उनले बताए ।

प्रमुख संयोजक भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ गतेलाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायसम्म पनि पहल गरिएकाले सो दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने जानकारी दिए ।

उनले भने, “भारतका प्रधानमान्त्री नरेन्द्र मोदीले विश्व योग दिवस भनेर प्रस्ताव गर्नुभयो तर नेपालजस्तो देवभूमि, तपोभूमि, ध्यानभूमिले किन ध्यान दिवसको प्रस्ताव नगर्ने भन्ने हामीले सोच्यौँ र यो प्रस्ताव गरेका हौँ । ध्यान अध्यात्मिक चिन्तन पनि भएको र वैशाख १ गते आफैँमा नयाँ वर्षको पहिलो सङ्क्रान्तिको दिन तिथि, मिति आदि हेर्न पनि नपर्ने भएकाले यसै दिनलाई प्रस्ताव गरेका हौँ ।”

यो दिवसको घोषणा गर्न सकियो भने यसले हाम्रो नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्भिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उनले बताए ।

शुक्रबार बिहान ९ बजेदेखि १२ घन्टासम्म सञ्चालन हुने यस महोत्सवमा ध्यान, योगका साथै विशिष्ठ राष्ट्रिय कलाकारद्वारा गीत सङ्गीत र नृत्य, वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुति एवं नाटक प्रदर्शन पनि आयोजना गरिएको छ । महोत्सवमा योगको संयोजन पतञ्जलीले गर्ने भएको छ । यस महोत्सवमा खाना महोत्सव र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ ।

ध्यानले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । कुनै एक जना व्यक्तिले ध्यान गर्दा उसबाट कैयौँ टाढासम्म सकारात्मक ऊर्जाको प्रवाह हुने भएकाले भोलि शुक्रबार खुलामञ्चमा ५० हजार जनाले ध्यान गर्दा यसबाट नेपाली समाजमा सकारात्मक सञ्चार प्रवाहका लागि ठूलो योगदान पुग्ने उनले बताए ।

अहिले नेपालमा पनि डिप्रेसन भएका मानिसको सङ्ख्या बढेको देखिएको र तनाव व्यवस्थापन गरी शान्तिपूर्ण र सुखी जीवनयापनका लागि ओशो तपोवनमा समाजका विभिन्न पेसा र व्यवसायका वरिष्ठ व्यक्तित्वदेखि युवाहरू आउने गरेका उनले सुनाए ।

गैरआवासी नेपाली सङ्घका पूर्वअध्यक्ष भट्ट केही वर्षदेखि ओशो अभियानमा छन् । यस अभियानका आफ्ना अनुभव सुनाउँदै उनी सुझाउँछन्, “मानसिक स्वास्थ्यको वर्तमान अवस्थाको निदानका लागि ध्यान र योग जत्तिको प्रभावकारी ‘थेरापी’ अरु केही नरहेको विभिन्न प्रयोग एवं अनुसन्धानबाट प्रमाणित नै भइसकेको छ । त्यसैले अब हामीले पनि नेपाली समाजमा अध्यात्मिक चिन्तनको विकास गरी सबै मानिसलाई ध्यान र योगका लागि प्रेरित गर्नुपर्छ र नेपाली समाजबाट नैराश्यता र नकारात्मक सोचलाई विस्थापित गरी सकारात्मक ऊर्जा प्रवाहमा लाग्नुपर्छ ।”

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ११ : २५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।