दिनभर आज कोशीको मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित, सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने नेता कोइरालाको भनाइ, ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन सर्वोच्चको आदेशलगायतका समाचारले प्रमुख स्थान पाए ।
कोशीको मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेशी आइतबार
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।
सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।
सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ ।
ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिनू : सर्वोच्च
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गरेको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको हो ।
यसअघि २०७९ साउन १९ गते सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी १७ जनालाई अन्तरिम आदेश जारी गरेको थियो ।
प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोले, धेरै प्रमाण आउन बाँकी छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
शुक्रबार कीर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् ।
ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे ।
सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्दा भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गरे ।
नेता डा कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने बताउँदै यस्ता उतार चढावलाई झेल्दै संसदीय परम्परा र संविधानमा भएका करारलाई टेकेर अगाडि बढ्दै जानुपर्नेमा जोड दिए । उनले कांग्रेस लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको बताए ।
ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको संलग्नता भए पनि कारवाही हुनुपर्छ : नेता आले
नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका हुन् ।
उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानबिन गरि दोषी भए कारवाही गर्नुपर्ने उनले बताए ।
हालसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न
मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।
ललिता निवास प्रकरणका दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको ध्यान ललिता निवास जग्गा प्रकरणमा केन्द्रित भएको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उनले प्रहरीले निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढाएको बताए ।
“हामीले प्रष्ट निर्देशन दिएका छौँ, कुनै राजनीतिक दबाब र प्रभावमा नपर्नु, राजनीतिक ‘कनेक्सन’का आधारमा के गर्ने भनेर नसोच्नू”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “कुनै प्रकारको चलखेलले भूमिका खेल्न नपाओस्, स्वतन्त्र स्वच्छ अनुसन्धान गर्नुस्, जो दोषी छ, दोषीलाई कानुनको दायरामा ल्याउनका लागि निर्भिकताका साथ अगाडि बढ्नूस् भन्ने प्रहरीलाई निर्देशन छ ।”
भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको उनले बताए । उनले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताए ।
सत्ता पक्षसँग वार्ता गर्न तयार छौँ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’ मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए ।
“सत्तापक्षले संसदमा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उनले भने ।
कांग्रेसको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भयो : डा. आरजु राणा देउवा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन् ।
कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”
डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनर्स्थापना र विसं २०६२÷६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताइन् ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरिन् ।
प्रतिक्रिया