बालेन्द्रको विरोधमा कालो ब्यानर ! | Khabarhub Khabarhub

बालेन्द्रको विरोधमा कालो ब्यानर !

महानगरभित्र विरोध, बाहिर वाहीवाही


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानीको चर्चित बजार हो– काठमाडौंको न्युरोड । देशमा कुनै पनि नयाँ सामान भित्रिएको छ भने सर्वप्रथम न्युरोडमा पाउन सकिन्छ । तपाईको मोबाइल वा कम्प्युटर बिग्रियो भने सहजै बन्ने ठाउँ न्युरोड नै हो ।

यही न्युरोडमा छ– चर्चित भूगोलपार्क । भूगोलपार्कमा कुनै समय पत्रपत्रिका पढ्ने र वौद्धिक विमर्श गर्नेहरुको भीड लाग्थ्यो । अहिले भूगोलपार्क लगभग सुनसानजस्तै छ ।पार्कको पिपलबोट नजिकै एउटा कालो ब्यानर टाँगिएको छ, काठमाडौंका मेयर बालेन्द्र शाहको विरोधमा ।

विभिन्न क्षेत्रका ‘सामाजिक एवं व्यापारिक संस्थाहरु’ का नाममा टाँगिएको ब्यानरमा ५ वटा नाराहरु लेखिएका छन्–

एक– निःशुल्क पार्किङको व्यवस्था गर । दुई– निरंकुश तानाशाही मेयर बालेन मूर्दाबाद । तीन– व्यापार र व्यापारीको विस्थापन गर्ने कार्य बन्द गर । चार–परम्पारगत पुरानो व्यापारिक क्षेत्रको संरक्षण गर । र, पाँच– स्थानीयबासीहरुको अधिकार र सुविधाको पार्किङको ग्यारेन्टी गर ।

न्युरोड क्षेत्र व्यवापरिक रुपमा जति गुल्जार छ, त्यसैको प्रभावस्वरुप पार्किङको समस्या पनि उत्तिकै हुने गरेको छ ।

केही हप्ता अगाडिसम्म न्युरोड मोटरसाइकल र गाडीको भिडका कारण सधैं भद्रगोल देखिने गरेको थियो । ‘भद्रगोलकै बीचमा गोल गर्ने’ भनेजस्तै यो भिडभाडले व्यापारीहरुलाई भने लाभ भइरहेको थियो । ग्राहकहरु बढिरहेका थिए । तर, मेयर बालेन्द्र शाहले न्युरोडमा सवारी साधन पार्किङ गर्न नपाइने र हिँडेर जानुपर्ने नयाँ नियम ल्याएपछि स्थानीय व्यापारीहरुले पाँचवटा नारासहितको कालो ब्यानर टाँगेका हुन् ।

स्थानीय व्यापारीहरुको काठमाडौं महानगरपालिकासँग मागहरु मात्रै राखेनन्, मेयर बालेनलाई ‘निरंकुश र तानाशाही’ भएको आरोप लगाउँदै ‘मूर्दावाद’सम्म भन्न भ्याए । शायद यो उनीहरुको महानगरप्रतिको आक्रोशको दृष्टान्त हो ।

काठमाडौं महानगरपालिकाले न्युरोडमा हुँदै आएको पार्किङलाई निर्माणधीन धरहराको अण्डरग्राउण्ड एरियामा सारेको छ । त्यहाँबाट ग्राहकहरुले न्युरोडमा हिँडेरै सामान किन्न जानुपर्ने भएको छ ।

न्युरोडका एकजना मोबाइल पसलेले खबरहबसँग भने,‘ यहाँबाट पार्किङ हटेपछि हाम्रो व्यापार घटेको छ । अहिलेको जमानामा मानिसहरु यति लामो दुरीसम्म कहाँ हिँडेर आउँछ्न ? जहाँ सहज छ, उतै जान्छन् ।’

त्यसो त काठमाडौं महानगरपालिकाले न्युरोडमा सामान किनबेच गर्न जानेहरुका लागि धरहरा मुनि मात्र होइन, पुरानो बसपार्कमा समेत गाडी राखेर हिँड्न भनेको छ । न्युरोडमा राखिएको सुचनामा भनिएको छ,‘पार्किङ पुरानो बसपार्क स्थित काठमाडौं भ्युटावरमा उपलब्ध छ ।’

न्युरोडको ट्राफिक व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले ल्याएको नयाँ नीति (धरहरा र पुरानो बसपार्क) सही छ कि गलत ? व्यापारीहरुले मेयर बालेन्द्रप्रति गरेको गुनासो जायज छ कि नाजायज ? यसबारे उचित निकास निकाल्ने जिम्मा महानगर र स्थानीय व्यवसायीहरुकै हो ।

महानगरले ट्राफिक व्यवस्थापन सहज होस् भन्न खोजेको देखिन्छ भने स्थानीय व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय सुक्ने हो कि भनेर चिन्ता प्रकट गरेको देखिन्छ ।

फुटपाथको सफाइ

बालेन्द्र शाहले काठमाडौं महानगरको नेतृत्व सम्हालेपछि उनको पहिलो ध्यान ‘सडक पेटी कब्जा गरेर व्यापार गरिरहेका’ फुटपाथ व्यवसायीहरुमाथि पर्‍यो ।

महानगरले बलपूर्वक हटाइएका फुटपाथ व्यवसायीहरु प्रायः काठमाडौंका मतदाता नभएर बाहिरी जिल्लाबाट गरिखान काठमाडौं छिरेका गरीब तथा मध्यम वर्गका मानिस थिए । उनीहरुले केही समय बालेन्द्र शाहविरुद्ध सडक आन्दोलन पनि गरे । महानगरपालिका घेराउ लगायतका कार्यक्रमहरु पनि गरे । तर, महानगरले उनीहरुलाई हटाएरै छाड्यो ।

सडकबाट खेदिएका कतिपय फुटपाथ व्यवसायीहरु सटर भाडामा लिएर चल्न थाले । कतिपयले साँझ ललितपुृरतिर सडकमा पसल थापे भने केहीले गौशाला लगायतका रिङरोड एरियामा साँझतिर झाकलझुकल सामान बेचेर गुजारा गरिरहेका छन् । ललितपुर महानगरले भने साँझ एकाध घण्टा फुटपाथमा सामान बेच्न दिने गरेको छ ।

सटर व्यवसायीको पालो

काठमाडौंका सडकबाट फुटपाथ व्यवसायीहरु हटाइँदा सटरभित्र व्यवसाय गर्ने व्यापारीहरु या त खुशी थिए, या आफ्नो पसल राम्रोसँग चल्ने ठानेर मौन थिए ।

तर, जब महानगरले दरबारमार्ग र न्युरोडमा ट्राफिक व्यवस्थापनको नीति ल्यायो, यसले सटरभित्रका व्यवसायीहरु पनि बालेन्द्रसँग रिसाए र मूर्दाबाद भन्न थाले । यो समूहमा डेरावालमात्रै छैनन्, महानगरका मतदाताहरु पनि छन् ।

त्यसो त बालेन्द्र शाहले गत वर्ष नै सडक मिचेर संरचना बनाउने काठमाडौंका घरबेटीहरुमाथि पनि कारवाही चलाए । व्यापारिक प्रयोजनका लागि बनाएको बेसमेन्ट पार्किङ भाडामा लगाउने अनि पार्किङ चाहिँ सडकमा गर्ने काठमाडौंका घरबेटीहरुको धन्दामाथि बालेन्द्रले डोजर चलाइदिए ।

बानेश्वरको अल्फाबेटा लगायत धेरै ठाउँमा डोजर चल्यो । बानेश्वर चोकमा ‘पुतली पाखो’ निकालेर भाडामा लगाएका पसल रहेका ठाउँमा अहिले पैदलयात्रीहरु हिँड्न थालेका छन् । धेरै ठाउँमा अण्डरग्राउण्ड पसलहरु बन्द भएर बेसमेन्ट पार्किङमा फेरिएका छन् । बालेन्द्रले थालेको यो अभियानको पनि कतिपयले विरोध गरे, तर धेरैले समर्थन गरे ।

टुकुचा उत्खननमा भने बालेन्द्र शाह ‘सुपर फेल’ भए ।

सुकुम्वासीको विरोध

काठमाडौंका मेयर बालेन्द्र शाहलाई ‘मूर्दावाद’ भन्नेहरुमा न्युरोडका व्यापारी मात्रै छैनन्, वागमती किनारको जमिन ओगटेर बसेका सुकुम्बासीहरु पनि छन् । महानगरले सुकुम्बासी बस्ती हटाउन डोजर लिएर जाँदा भिडन्तका घटना पनि भइसकेका छन् । यही विषयलाई लिएर काठमाडौंका मेयर शाहले संघीय सरकारसँग आक्रोश पनि पोख्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले चाहेमा यो समस्या पाँच मिनेटमा समाधान हुने शाहको दाबी छ ।

सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरेर स्थानानन्तरण गर्ने कि डोजर लगाएर हटाउने भन्नेमा बालेन्द्र र महानगरबीच मतभेद रहँदै आएको छ ।

काठमाडौंका जति पनि सुकुम्बासीहरु छन्, तीमध्ये कतिपय स्थानीय मतदाताहरु हुन् भने कतिपयचाहिँ बाहिरी जिल्लाका मतदाता हुन् । उनीहरुको विरोधले आगामी दिनमा बालेन्द्रको मतलाई कति घाटा हुन्छ, त्यो कसैले विश्लेषण गरेको छैन । त्यसो त स्वतन्त्र मेयर बालेन्द्र आगामी दिनमा चुनाव लड्छन् लड्दैनन्, त्यो उनैलाई मात्र थाहा छ ।

भित्र विरोध, बाहिर वाहीवाही

भनिन्छ, हिमाल टाढाबाट हेर्दा राम्रो देखिन्छ । नजिकपर्दा हिमाल कष्टकर हुन्छ । यस्तै, काठमाडौं महानगरभित्र बालेन्द्रलाई निरंकुश र तानाशाही भनेर आरोप लगाइरहँदा बाहिरी जिल्लामा भने बालेन्द्र शाहप्रति युवाहरुको आकर्षण र ‘क्रेज’ बढ्दै गएको देखिन्छ । रवि लामिछाने वा अन्य व्यक्तिहरु भन्दा बालेन्द्रको लोकप्रियता बाहिरी जिल्लामा बढेको छ ।

काठमाडौं महानगरको सञ्चालनमा पनि बालेन्द्र ‘स्मार्ट’ नै देखिएका छन् । स्वतन्त्र र एक्लो भएता पनि उनले कांग्रेस–एमालेका बहुमत जनप्रतिनिधिलाई आफ्नो प्रभाव र दबावभित्र राख्न अहिलेसम्म सफल भएको देखिन्छ ।

बालेन्द्रले ०८४ सालमा पार्टी खोले भने राम्रो मत ल्याउने दाबी कतिपयको छ । रवि लामिछानेको भने पछिल्लो समयमा ‘क्रेज’ घट्न थालेको बाहिरी जिल्लामा चर्चा सुनिन्छ ।
महानगर बाहिर बालेन्द्रको जति नै चर्चा भए पनि महानगरभित्र चाहिँ उनीविरुद्ध कालो ब्यानर टाँगिनु पक्कै पनि सुखद पक्ष होइन । किनभने, बालेन्द्र महानगरवासीका मेयर हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : २८ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको